कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जनप्रतिनिधिका दम्पती सँगसँगै

समयमा घर नपुग्ने, फोन गर्दा मतलब नगर्ने र बालबालिकालाई समय नदिने गरेको जनप्रतिनिधिका पत्नीको गुनासो 
दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी विहान उठेदेखि राति अबेरसम्म घरबाहिरै हुन्छन् । राजनीतिमा लागेदेखि उनको जीवन यसैगरी चलेको छ । श्रीमती समारीलाई घरधन्दा ठिक्क हुन्छ । पढाइलेखाइ नभएको र सार्वजनिक भूमिका नभएकाले उनी सित्तीमित्ती घरबाट निस्कन पाउँदिनन् ।

जनप्रतिनिधिका दम्पती सँगसँगै

शुक्रबार भने श्रीमान्सँगै चिटिक्क परेर घोराही बजार निस्किन् । श्रीमान्सँगै एक कार्यक्रममा सहभागी भएर बोल्ने मौका पाइन् ।


उपमहानगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाले जनप्रतिनिधिका श्रीमान्–श्रीमतीको समविकास भए/नझएको हेर्न शुक्रबार संयुत्त अनुभव आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो । नगर प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्ष र कार्यपालिका सदस्यका जोडीलाई कार्यक्रममा बोलाइएको थियो ।


उनीहरूले आफ्नो वैवाहिक जीवनका सुखदुःख सबैसामु पोख्न पाए । प्रेम र विवाह गर्दाका रमाइला क्षण सुनाउँदा सबै उत्साहित देखिन्थे । कतिपयले पहिलोपटक सार्वजनिक कार्यक्रममा उभिएर बोल्ने अवसर पाएका थिए । तीमध्ये एक नगर प्रमुखकी श्रीमती समारी थिइन् । घरमा खेतीपाती र बालबच्चा स्याहार गरेर बस्ने समारी सार्वजनिक कार्यक्रममा बोल्नुपर्दा धक मानिरहेकी थिइन् । नमस्कार र परिचय गर्न श्रीमान्ले सिकाइरहेका थिए ।


‘सबै कुरा नभोगेर कसरी सिकिन्छ र ? उनी आजसम्म घरमै बसिन्, बाहिर निस्कने अवसर पाइनन् । अहिले बल्ल मान्छेको अगाडि आएर बोल्न पाएकी छिन्,’ प्रमुख चौधरीले भने, ‘अवसर नभएसम्म व्यक्तित्व विकास नहुने रहेछ । हामीले पनि यसमा ध्यान दिएनौं । आज कार्यक्रम आयोजना गरेपछि बुढाबुढीसँगै घरबाट निस्कन पायौं ।’ महिला–पुरुषको समान विकास हुन शिक्षा, चेतना र अवसर जरुरी रहेको उनले बताए ।


विवाह गर्दा नरुलाल ११ र समारी १२ बर्षका थिए । विवाहपछि श्रीमान्ले पढ्न पाए । श्रीमतीले पाइनन् । आफ्नो राजनीतिक सफलतामा श्रीमतीको ठूलो योगदान रहेको चौधरीले बताए । ‘हाम्रो धेरै काम घरमा हुन्छ । बाहिर निस्कनुपर्दैन,’ समारीले भनिन्, ‘श्रीमानो प्रगतीका लागि हामीले घर सम्हाल्नुपर्ने भयो ।’


घोराही–७, का वडा अध्यक्ष खोपीराम चौधरी पनि श्रीमती सबितालाई पहिलोपटक कार्यक्रममा लिएर आएका थिए । सबितालाई पनि परिचय दिन र आफ्नो कुरा राख्न समस्या भयो । श्रीमतीका बारेमा खोपीरामले बताइदिए । वडानं. १२ का अध्यक्ष राजेन्द्र बुढा र श्रीमती चिस्मा पनि सँगै कार्यक्रममा जाने अवसर पाएका थिएनन् । चिस्मालाई सँधै श्रीमान् काम काम भन्दै हिँडेको देखेर दिक्क लाग्थ्यो । कता हुनुहुन्छ भनेर फोन गर्दा पनि श्रीमान् झर्किन्थे । चिस्माले श्रीमानका सबै समस्या शुक्रबार पोख्न पाइन् ।


‘आफ्नो काम मात्रै भनेर हिँड्ने । हामीले सोधेको बेला उल्टै गाली गर्ने । हामी घरमा कुरेर बस्नुपर्ने,’ उनले भनिन्, ‘हामीले केही सिक्न पनि पाएका छैनौं । कार्यक्रममा गएर बोल्न पनि सकिँदैन ।’


अधिकांश जनप्रतिनिधिका श्रीमतीले श्रीमान् समयमा घर नपुग्ने, फोन गर्दा मतलब नगर्ने र घरमा बालबालिकालाई समय नदिने गरेको गुनासो गरेका थिए । ‘सबै काम आफै जिम्मा लिएर गर्न खोज्नुहुन्छ । घरको काममा समय हुँदैन,’ १४ नं. वडा अध्यक्ष शक्तिराम डाँगीकी श्रीमती रामकुमारीले भनिन्, ‘सँधै जनताको काम भन्दै हिँड्नुहुन्छ । घरमा समय नै दिनुहुन्न ।’


कतिपयले श्रीमान् श्रीमतीको नै व्यक्तित्व विकास हुन नसकेको बताएका थिए । कार्यपालिका सदस्य धनबहादुर कुसुण्डाले जंगलबाट गाउँ पसेको जाती भएकाले पढाइलेखाइ केही नभएको बताए । ‘हाम्रो अहिलेसम्म जग्गाजमिन, घरबास छैन । पढ्नेलेख्ने अवसर पाइएन । अहिले जनप्रतिनिधि भएर काम गर्दा धेरै कुरा अनुभवबाटै सिकिरहेका छौं,’ उनले भने,‘अवसर पाएपछि सिकिदै गइन्छ । हाम्रो पिछडीएको जाती भएकाले अरूभन्दा पछाडि नै छौं ।’ श्रीमती कमलाले पनि उस्तै गुनासो गरिन् । बोल्ने र घरबाट बाहिर निस्कने काम नहुँदा पछि परेको उनले बताइन् ।


राजनीति गर्दादेखि सँगै हिँडेका उपमहानगरकी उपप्रमुख सीता सिग्देल न्यौपाने र उनका श्रीमान् केशव न्यौपानेलाई सार्वजनिक कार्यक्रममा सँगै हिँड्न कुनै समस्या भएन । लामो समय राजनीतिमा सँगसँगै हिँडेकाले दुवैजनाको समाज विकास हुन पाएको न्यौपानेले बताइन् ।


‘हामीले जीवनको अधिकांश समय राजनीतिमा बितायौं । सँगै झोला बोकेर हिँड्यौं,’ उनले भनिन्, ‘त्यसकारण घरधन्दा भन्दा घरबाहिरकै बातावरणमा हामी बढी भुलेका छौं ।’ जिल्ला विकास समितिको जागिर छोडेर राजनीतिमा लागेकाले जागिर र घरायशी कामभन्दा राजनीति नै सँधै प्राथमिकतामा परेको केशवले बताए । ‘हामी पूर्णकालिन राजनीतिमा छौं,’ उनले भने,‘धेरैजसो कार्यक्रम र अभियानमा सँगै भयौं । विकास पनि समान तरिकाले भएको छ ।’


समाजमा महिला र पुरुषको समान विकासका कार्यक्रम थाल्नुअघि जनप्रतिनिधिलाई नै आफ्नो अबस्थाबारे महशुस गराउन यस्तो कार्यक्रम गरिएको उपमहानगरकी महिला तथा बालबालिका शाखा प्रमुख मोती विश्वकर्माले बताइन् । ‘जनप्रतिनिधिको घरबाट समान सहभागिता र विकासको सुरुवात गर्न सकेमा अरूका लागि उदाहरणीय काम हुन्छ,’ उनले भने, ‘श्रीमान् श्रीमती एकै ठाउँमा आएर आफ्ना समस्या राख्ने र समाधानका उपाय खोज्ने महत्वपूर्ण अवसरका रूपमा यो कार्यक्रमलाई लिइएको छ ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?