रमणीय ‘खलेसबाङ’ ओझेलमा

गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्लामा थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थान छन् । तीमध्ये एक हो, नौबहिनी गाउँपालिका–१ स्थित खलेसबाङ क्षेत्र । नौबहिनी–६, बाहानेबाट तीन दिनको पदयात्रापछि जिल्लाकै अग्लो पहाड कोठीभीर छिचोल्न सकिन्छ ।

प्यूठानको नौबहिनी गाउँपालिका–१, स्याउलीबाङको खलेसबाङ क्षेत्रमा रहेको नौबहिनी झरना ।  तस्बिर : गिरुप्रसाद/कान्तिपुर 

यात्राका त्रममा ऐतिहासिक ठूलोगाउँ, नौबहिनी मन्दिर, नौबहिनी झरना, नौबहिनी गुफा, टारीबेंसी खेत, गुप्ती छहरा, कुखुराको खोलेस आकारमा रहेको खलेसबाङ उपत्यका, विभिन्न रंगका पहाड, लालीगुराँस, बाख्रा, भेडी गोठाला, सुन्दर झरना अवलोकन गर्न सकिन्छ । तिनले लोभ्याउने गर्छन् ।

परापूर्वकालमा नौबहिनी देवी यही क्षेत्रमा बसोबास गरेको मान्यता अनुसार स्थानीयले पूजा गर्ने धार्मिक स्थल धेरै छन् । नौबहिनीले खेतीपाती गर्ने स्थान मानेर स्थानीयले खलेसबाङमा गोरुले जोत्दैनन् । खनेरै आलु लगाउने चलन छ । सामान्य खनजोतमा लगाएको आलु लहलह फैलिएका छन् । देवीको शक्तिले यहाँ आलु राम्रो फल्ने मान्यता छ ।

झिमरुक नदीको जलाधार क्षेत्र लुङखोलाको मुहानमा पहाडको भित्रभित्रै बग्ने पानीको मधुर आवाजले वातावरण उल्लासमय बनिदिन्छ । ढुंगामा बनेका मूर्ति धेरै स्थानमा देख्न सकिन्छ । स्थानीयले तिनै मूर्तिमा पूजा गर्छन् ।

कोठीभीरमा अन्न भण्डारण भर्ने धन्सार आकारका नौवटा पहाडका चुचुरा छन् । त्यसमा नौबहिनी देवीले खलेसबाङमा खेती गरेर अन्न भण्डार गर्ने किंवदन्ती छ । अनगिन्ती हेर्न र अवलोकन गर्नलायक पर्यटकीय गन्तव्य यस क्षेत्रमा छन् । पर्यटनको प्रचुर सम्भावना भएर पनि जति प्रचार–प्रसार र प्रवर्द्धन हुनुपर्ने हो, हुन सकेको छैन । ओझेलमा छ ।

गाउँपालिकाको नामसमेत नौबहिनीबाटै रहेको छ । खलेसबाङ क्षेत्रको प्रचार–प्रसार प्रवर्द्धन गर्न सकेमा आन्तरिक र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । स्याउलीबाङको ठूलोगाउँमा रहेको ठूलो ढुंगाको बनावट अनौठो छ । नौबहिनी देवीहरूले स्याउला र त्यही ढुंगो रुकुमको हुकाम मैकोटबाट आएका बुढामगरहरूलाई दिएको र स्याउला जहाँ पुग्दा सुक्छ, त्यही ढुंगाले छोपेर बस्नु भनेकाले स्याउलीबाङमा बस्ती बसेको मान्यता छ ।

यसैअनुसार स्याउलीबाङको नामकरण गरिएको भनिन्छ । यहाँ धेरै बुढा मगरहरूको बसोबास रहेको छ । माथिबाट सीधा बगेर झरेको पानी एकै ठाउँमा नौवटा झरना बनेर झरिरहेको दृश्य हेरिरहूँजस्तो लाग्छ । दायाँ/बायाँ घना जंगलको बीचमा कलकल बग्ने झरनामा नियमितजस्तो पर्ने इन्द्रेणीको दृश्य झनै मनमोहक देखिन्छ । नौबहिनीहरू बसोबास गर्ने नौवटा गुफा छन् ।नुहाउने नौवटै पानीका प्राकृतिक धारा छन् ।

समुद्र सतहबाट ३ हजार ६ सय ५९ मिटरको उचाइमा रहेको कोठीभीरबाट बागलुङको ढोरपाटन क्षेत्र, धौलागिरि, नीलगिरि, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण हिमाल, वरिपरि रहेको हरियो जंगलले यो क्षेत्रको सुन्दरता अझै बढाएको छ । यस क्षेत्रमा डाँफे, मुनाल, कालिजलगायतका चराचुरुंगी पनि सजिलै देख्न पाइन्छ ।

स्याउलीबाङ गाउँको उत्तरतर्फ पर्ने खलेसबाङ क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय तथा कोठीभीर विकास केन्द्र नेपालका अध्यक्ष पूर्ण बुढामगरले बताए । उनले यसको प्रचारमा स्थानीय युवा लागिपरे पनि अझै पर्याप्त नभएको बताए ।

‘खलेसबाङ क्षेत्रमा रहेका नौबहिनी देवीका अंगका आकार र झरनामा बसेर घण्टौं हेर्दा पनि आँखा नअघाउने खालका छन्,’ खलेसबाङ क्षेत्रमा भर्खरै भ्रमण गरेर फर्केका नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महावीर रानाले भने, ‘नौबहिनी देवीका अंगका आकृति, झरनाको कलकल, चराको चिरबिर आवाज र त्यहाँबाट देखिने सुन्दर हिमालको दृश्य साँच्चिकै अद्भुत छन् ।’

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

खेर जान्छ लेकाली आलु

'लेकको आलु मिठो भनेर के गर्नु ? ८/१० रुपैयाँ प्रतिकिलो पनि बिक्दैन’
गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउँलीबाङका दुर्गाबहादुर घर्ती प्रत्येक वर्ष एक सय क्विन्टल आलु उत्पादन गर्छन् । खलेसबाङ उपत्यकास्थित बारीमा उत्पादन हुने आलु बेचेर अहिलेसम्म आम्दानी गरेका छैनन् । प्रत्येक वर्ष असार–साउनमा आलु खन्छन् । बजार पुर्‍याउन नसक्दा कुहिएर त्यसै खेर जान्छ ।

‘यस वर्ष बारीको पाटाभरि आलु छ,’ उनले भने, ‘खन्ने समय हुन थाल्यो । बजार अभाव विगतको जस्तै हो ।’ खलेसबाङमा मोटर बाटो पुगेको छैन । मान्छेलाई ढुवानी गराउँदा महँगो पर्छ । त्यसैले अहिलेसम्म आम्दानी गर्न नसकेको घर्ती बताउँछन् । ‘८/१० रुपैयाँ प्रतिकिलो पनि बिक्दैन,’ उनले भने, ‘लेकको आलु मिठो भनेर के गर्नु ।’

घर्ती मात्र होइन उत्तरी प्यूठानको दुर्गम खलेसबाङमा आलुखेती गर्ने ८० भन्दा धेरै किसानको यहीँ अवस्था छ । किसानले आलु बेचेर नुन तेलको जोहोसमेत गर्न सकेका छैनन् । स्थानीयले उत्पादन गरेको आलु हरेक वर्ष खेर जाने गरेको वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले बताए । ‘खलेसबाङमा सबैले आलुखेती गर्छन्,’ उनले भने, ‘किसानले टनका टन आलु उत्पादन गर्छन् । कहिल्यै आम्दानी भएर सन्तुष्ट भने छैनन् ।’ उनले खलेसबाङलाई आलु जोन पकेट क्षेत्र घोषणा गरेर शीतभण्डार निर्माण गरी अफ सिजनमा बेच्न सके किसानलाई केही राहत हुने बताए ।

‘खलेसबाङसम्म सडक पुग्ने अवस्था छैन,’ उनले भने, ‘विकल्प भनेको भण्डारण गरेर अफ सिजनमा बजार पुर्‍याउने हो ।’ स्याउँलीबाङ ठूलोगाउँसम्म रजबारा हुँदै सडकको ट्र्याक खोलिएको छ । ठूलोगाउँसम्म आलुका बोरा पुर्‍याउन पनि समस्या हुने सेन ठकुरीले बताए ।

‘हिउँदमा ठूलोगाउँसम्म ट्याक्टर आउँछ,’ उनले भने, ‘एकपटकको भाडा ४० हजार रुपैयाँ तिर्नुपर्छ । किसानलाई फाइदै छैन ।’ प्रतिकिलो ४० रुपैयाँभन्दा बढी ढुवानी खर्च पर्छ । त्यसैले किसानले उत्पादन गरेको आलु खेर जाने गरेको ठकुरीले बताए । चिप्स बनाएर बेच्नका लागि स्थानीय किसानलाई तालिमको व्यवस्था मिलाउने तयारी गरेको सेन ठकुरीको भनाइ छ ।

पशुचौपाया पाल्न खलेसबाङ क्षेत्रमा गोठ बनाएर बस्ने र गोबर मल प्रयोग गरेर आलु उत्पादन गर्दै आएको स्थानीय चूडामणि घर्तीले बताए । गोबर मल प्रयोग गरेर आलु लगाउँदा उत्पादन बढ्ने गरेको उनले बताए । ‘खलेसबाङमा एक खेती आलु मात्र लगाउने चलन छ,’ घर्तीले भने, ‘बर्सेनि करोडौंको आलु कुहेर खेर जान्छ ।’ उनले खलेसबाङमा उत्पादन भएको आलु नौबहिनी ६ बाहानेमा मान्छेले बोकाएर पुर्‍याउँदा प्रतिकिलो एक सयभन्दा बढी मूल्य पर्न जाने बताए ।

‘उच्च पहाडी उपत्यका भएकाले खलेसबाङमा आलुबाहेक अरू उत्पादन हुँदैन,’ उनले भने, ‘त्यसैले सबैले बाध्यताले आलु लगाउँछौं ।’ चिसो हावापानीमा फलेको आलु धेरै मिठो हुने भन्दै उपभोक्ताले मन पराउने भए पनि मोटरबाटो नहुँदा बेच्न समस्या परेको घर्तीले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्