कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली पढ्न सिक्दै बालबालिका

अमृता अनमोल

बुटवल — नवीन औद्योगिक कद्दरबहादुर रीता माविकी कक्षा ३ की विद्यार्थी मोनिका थापा बल्ल नेपाली भाषा सिक्दै छिन् । काटेका र जोडिएका अक्षर बिस्तारै चिन्न र उच्चारण गर्न सक्छिन् । यसअघि नेपाली पढ्न निकै गाह्रो लाग्थ्यो ।

पढ्न थाल्यो आधाजसो बिराउँथिन् । ‘अहिले म्यामले सजिलो गरी सिकाउनुहुन्छ,’ उनले भनिन्, ‘राम्रोसँग पढे चकलेट पनि दिनुहुन्छ ।’


आधारभूत तहका विद्यार्थीले अक्षर चिन्ने, यति, गति र लय मिलाएर शब्द, वाक्य, परिच्छेद पढ्न सक्नुपर्छ । पढेका कुरा बुझ्ने र बुझेका कुरालाई मौखिक वा लिखित रूपमा अभिव्यक्त गर्ने सीप हुनुपर्छ । यही सीप बढाउन विद्यालयमा ‘नेपाली पढ’ अभियान थालिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।


‘कक्षा १ देखि ३ सम्मको छुट्टै पाठ्यक्रम र पाठ्यपुस्तक छ । सिक्ने र सिकाउने शैली फरक छ,’ उनले भने, ‘विद्यार्थीहरू रमाईरमाई नेपाली पढ्न थालेका छन् ।’ विद्यालयमा मासिक रूपमा पढाइ प्रतियोगिता हुन्छ । छिटो र शुद्ध पढ्नेले पुरस्कार पाउँछ । यसले विद्यार्थीलाई थप हौसला जागेको उनले बताए ।


विज्ञका अनुसार सामान्यतया कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीले एक मिनेटमा ६० वटा शब्द शुद्धसँग पढ्नुपर्छ । तर, धेरै विद्यार्थीले यो सीप हासिल गरेका छैनन् । धेरै विद्यार्थी नेपाली विषयमै कमजोर छन् । प्रारम्भिक कक्षामा कमजोर हुँदा उनीहरूको माथिल्लो तहसम्मको पढाइ प्रभावित बनेको छ ।


यो समस्या रोक्न गत शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु भएको हो । पठन सीप कार्यक्रम सुरु भएपछि मोनिकाजस्ता धेरै विद्यार्थी अहिले खरर नेपाली पढ्न सक्ने भएका छन् । जिल्लामा मदरसा, गुरुकुलसहितका ४ सय ७५ सामुदायिक विद्यालय छन् । जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख दीपेन्द्र ढकालले ती सबैमा नेपाली भाषाको पठन सीप सिकाउन थालेको बताए ।


ढकालका अनुसार विद्यार्थीलाई कसरी पढाउने यसबारे विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकलाई छुट्टाछुट्टै तालिम दिइएको छ । शिक्षकले कक्षाकोठामा पढ्नका लागि रमाइलो वातावरण सिर्जना गर्छन् । कक्षाकोठामा लेख्ने मात्र होइन, पढ्ने समय छुट्याउँछन् । साना विद्यार्थीका लागि छुट्टै शैक्षिक कुनो बनाइदिएका छन् ।


बुझेर पढ्ने र पढेको बुझ्ने गराउन शिक्षकलाई दैनिक पाठ्यक्रम बनाएरै दिएका छन् । शिक्षकले उक्त योजना कार्यान्वयन गरे/नगरेको हेर्न प्रधानाध्यापकलाई प्रतिबद्ध बनाइएको छ । अभिभावकलाई सामुदायिक पुस्तकालय र स्थानीय पढाइ क्लबमा लैजान उत्प्रेरणा दिने गरिएको छ । ‘पढ्न नजानेकै अभिभावक पनि कम्तीमा १० मिनट छोराछोरीसँगै बसेर पढेको सुन्ने नियम बनाएका छौं,’ कालिका माविका प्रधानाध्यापक घनश्याम पाठकले भने, ‘यसले बालबालिकाको पढ्ने रुचि र बाआमाको पढाउने रुचि पनि बढेको छ ।’


पठन सीप बढाउनुपर्ने तहमै विद्यार्थी कमजोर भएपछि नेपाल सरकारले सन् २०१४ मा प्रारम्भिक पढाइ कक्षा मूल्यांकन गरेको थियो । मूल्यांकन प्रतिवेदनअनुसार कक्षा २ मा पढ्ने ३७ प्रतिशत र कक्षा ३ का १९ प्रतिशत विद्यार्थीले अशुद्ध पढेका थिए । पठन सीप बढाउनुपर्ने तहमै विद्यार्थी कमजोर भएपछि सरकारले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु गरेको हो ।

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?