१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दाइजो नल्याएको निहुँमा हत्या गरेको आरोप

नेपालगन्ज — दाइजो नदिएको निहुँमा छोरीको हत्या गरिएको भन्दै परिवारले न्यायको माग गरेका छन् । मागेजति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको परिवारको दाबी छ ।

गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको हत्या भएको माइती पक्षले दाबी गरेका हुन् ।


नीराका पिता राधेश्याम कुर्मीले नेपालगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरी विवाहपछि नीराका पति राममनोहरले दाइजो नदिएको भन्दै पटक–पटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको बताए ।


‘दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटक–पटक कुटपिट गर्दै आएको छोरीले हामीलाई बताउँदै आएकी थिइन्,’ उनले भने, ‘कुटपिटकै क्रममा मरणासन्न भएपछि माघ १ गते भेरी अस्पतालमा भर्ना गरेर उपचार गराएका थियौं ।’ बारम्बार कुटपिट हुन थालेपछि न्याय माग्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएपछि आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेर नीरालाई घर लगेका थिए ।


तर, जेठ २ गते दिउँसो नीरा झुन्डिएको अवस्थामा फेला परेपछि माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गरेको हो । ‘आत्महत्या होइन, यो हत्या हो,’ कर्मीले दाबी गरे, ‘घर परिवार नै मिलेर हत्या गरेका हुन् ।’

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?