१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

झिमरुक फाँटमा रोपाइँ सुरु

गिरुप्रसाद भण्डारी

प्यूठान — सुक्खाले निराश यहाँका किसान बिहीबार पानी परेपछि खुसी भएका छन् । खेतीपाती लगाउन सुरु गरेका छन् । मकै छर्न र रोपाइँ गर्न अहिले भ्याइनभ्याइ छ । पानी पर्न ढिलो भएपछि चिन्तित किसान अहिले धान र मकै छर्न व्यस्त देखिएका छन् ।

झिमरुक फाँटमा रोपाइँ सुरु

जिल्लाको लेकाली भेगमा चैतमा मकै लगाउने गरिन्छ । पानी नपरेकाले मकै छर्न पाएका थिएनन् । चैते धान खडेरीले सुक्न थालेको थियो । पानी परेपछि राहत मिलेको छ । मकै ढिलो लगाउँदा उत्पादन कम हुने भएकाले किसान आत्तिएका थिए । जिल्लाभर १२ हजार ५८ हेक्टर क्षेत्रफलमा मकै बाली लगाइन्छ ।


पानी परेपछि किसानलाई रोपाइँ गर्न सजिलो भएको छ । जिल्लाको मुख्य धान उत्पादनको केन्द्र झिमरुक फाँटमा रोपाइँ सुरु भएको छ । पानी परेकाले नहर चलाउन सजिलो भएर रोपाइँ गर्न सहज भएको प्यूठान नगरपालिका–१०, सारीबाङका किसान हेमराज पराजुलीले बताए । ‘लामो खडेरीले झिमरुक सुक्नै लागेको थियो,’ उनले भने, ‘पानी परेर धेरै राहत भएको छ ।’


रोपाइँ गरेका र रोपाइँ गर्ने तयारीमा रहेका किसानलाई बिहीबार परेको पानीले धेरै राहत मिलेको कार्कीले बताए । ‘आलोपालो गरेर रोपाइँ गर्ने गरेका छौं,’ उनले भने, ‘दुई/चार दिनमै प्यूठान नगरपालिका–७, टिकुरी पुन्यखोला क्षेत्रको झिमरुक फाँटमा रोपाइँ सकिन्छ ।’ अहिले झिमरुक फाँट क्षेत्रमा रोपाइँ गर्न आएका किसानका कारण मेला लागेझैं भएको बताए ।


पानी परेपछि रोपाइँ सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यक्रमका प्रमुख भास्कर पौडेलले बताए । उनले परियोजना लागू भएको क्षेत्रमा ११ जातका धानको मूल बीउ लिएर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको बताए ।


माटो सुधारका लागि कृषि चुन, रोग नियन्त्रणका लागि जिंक सल्फेटसमेत किसानलाई अनुदानमा वितरण गरिएको पौडेलले बताए । ‘यसपालि १५ देखि २० प्रतिशत धान उत्पादन बढाउने गरी तयारी गरेका छौं,’ उनले भने, ‘किसानलाई खेती गर्न सहजताका लागि कृषि औजारसमेत वितरण गरिएको छ ।’


यसपालि साना ठूला गरी ४० वटा ट्र्याक्टर सहकारी मार्फत वितरण गरिएकाले किसानलाई रोपाइँ गर्न सहज भएको उनले बताए । परियोजनाले साना सिंचाइ आयोजना पनि निर्माण गरेको छ । परियोजना लागू भएको क्षेत्र प्यूठान नगरपालिका, ऐरावती, माण्डवी, झिमरुक र मल्लरानी गाउँपालिकाका २ हजार ४ सय ७४ हेक्टर धान रोप्ने क्षेत्रफलमध्ये २० प्रतिशतमा रोपाइँ भएको पौडेलले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?