सुविधा माग्दै द्वन्द्वपीडित शिक्षक

काशीराम डाँगी

रोल्पा — तत्कालीन सशस्त्र द्वन्द्वका बेला विस्थापित शिक्षकहरूले सेवासुविधा दिलाउन सरकारसँग माग गरेका छन् । द्वन्द्वका बेला विस्थापित हुनु परेकाले सुविधाबाट बन्चित भएका पीडित शिक्षकहरूले एकजुट भई सेवा सुविधा माग गरेका हुन् । 

‘द्वन्द्वको प्रभावले विद्यालयमा बसेर पढाउने अवसर भएन । त्यसैले ज्यान जोगाउन कक्षा कोठाबाट भाग्नु पर्‍यो,’ थबाङस्थित वीर बलभद्र माध्यमिक विद्यालयका पूर्वशिक्षक ग्रीस पुनले भने, ‘शान्ति प्रक्रियापछि सुविधाको माग गरेका हौं । तर, अझै पाइएको छैन ।’ उनी द्वन्द्वपीडित शिक्षक समितिका संयोजकसमेत हुन् । द्वन्द्वका बेला विद्यालयमा पढाउँदै गरेका थुप्रै शिक्षक विस्थापित भएका थिए । विस्थापितमध्ये कतिपयले राज्यका सुरक्षाकर्मीका डरले विद्यालय छाडेका थिए भने कतिपयले तत्कालीन माओवादीका लडाकुको त्रासका कारण गाउँबाटै विस्थापित भएका थिए ।


शान्ति प्रक्रियापछि ती शिक्षकहरूले सुविधाको खोजी गर्न थालेका हुन् । तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीका कारण गाउँबाटै विस्थापित भएका पूर्वशिक्षक अमर महराले राज्यले आफ्नो दुखेसो बुझ्न नसकेको गुनासो गरे । ‘डरका कारण त्यतिबेला ज्यान जोगाउन विस्थापित हुनु पर्‍यो,’ उनले भने, शान्ति प्रक्रियापछि सेवा सुविधा माग्दा राज्यले सुन्दैन ।’


रोल्पाबाटै सुरु भएको तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको अवधिमा दर्जनौं शिक्षक विस्थापित हुनु परेको महराले बताए । तत्कालीन माओवादीको त्रासले सदरमुकाममा विस्थापित भएर ज्यान जोगाउनु परेको पाखापानीस्थित शिक्षक कमलप्रसाद हमालले सुनाए । तत्कालीन माओवादी र सरकारबीच ०६३ मा भएको शान्ति सम्झौताअघिसम्म विस्थापित भई दुःखका दिन सहनु परेको उनको धारणा छ । हाल उनी गाउँकै विद्यालयमा अध्यापन गर्छन् ।


उनका अनुसार द्वन्द्वका बेला राज्य र माओवादीबाट जिल्लाका १२ जना शिक्षक मारिएका थिए । शिक्षकलाई राज्य र माओवादी दुवै पक्षले प्रयोग गरेको हमालले बताए । ‘पढेलेखेका भएकाले शिक्षकले दोहोरो मार खेप्नु पर्‍यो,’ उनले भने, ‘त्यतिबेला मुस्किलले ज्यान जोगायौं ।’


विद्यालयमा कार्यरत रहेकै बेला राजनीतिक मुद्दा लगाइएकाले विस्थापित हुनु परेको अनुभव अर्का पूर्वशिक्षक थबाङ निवासी धपलाल पुन मगरसँग छ । ‘राज्यले जबर्जस्ती मुद्दा लगाउन खोजेपछि कक्षा कोठाबाटै भाग्नु पर्‍यो । ज्यान जोगाउने उद्देश्यले पेसा छाडेर विद्यालयबाट विस्थापित भयौं,’ उनले भने । विस्थापित शिक्षकद्वय ग्रीस र धपलालले थबाङस्थित वीर बलभद्र माविमा सात/आठ वर्षसम्म पढाएका थिए । हाल थबाङमा व्यवस्थित होमस्टे (घरबास) संचालन गर्दै आएका दुवैमध्ये ग्रीस सत्तापक्षीय दल नेकपाका नेतासमेत हुन् ।


रोल्पाबाट सुरु भएको माओवादी सशस्क्र द्वन्द्वका त्रममा रोल्पाका मात्रै ६१ शिक्षक विस्थापित भएका थिए । विद्यालयबाट विस्थापित भएका शिक्षकमध्ये माओवादीबाट पीडित शिक्षक जिल्ला सदरमुकाम र अन्य स्थानमा पुगी ज्यान जोगाएका थिए भने राज्यबाट पीडित शिक्षक माओवादी गतिविधिमा संलग्न भएका थिए ।


उनीहरूले सशस्त्र द्वन्द्वबाट पीडित हुनुपरेको गुनासो गर्दै राजधानीसम्म पुगेर सेवासुविधा माग गरेको सुनाए । पीडित शिक्षक समितिका संयोजक ग्रीसका अनुसार जिल्ला, प्रदेश र केन्द्रीय तहमा पुगेर आफ्ना माग राखेको बताए । द्वन्द्व सुरु भएको ०५२ फागुन १ देखि शान्ति सम्झौता भएको ०६३ मंसिर ५ गतेसम्मको अवधिमा ती शिक्षक विस्थापित भई पीडित भएको समितिले जनाएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?