कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आफैं सेनेटरी प्याड बनाउँदै

घरेलु सेनेटरी प्याडप्रति महिलाको आकर्षण बढेपछि रूपन्देहीका केही स्थानीय तह, सहकारी र संघसंस्थाले तालिम दिन थालेका छन्
अमृता अनमोल

बुटवल — महिनावारीका बेला रगत व्यवस्थापन गर्न सेनेटरी प्याड अत्यावश्यक वस्तु हो । यही प्याड किन्दा एक पटकमा एक सय रुपैयाँभन्दा बढी खर्च हुन्छ । स्थानीय सावित्रा सुवेदीले महिनावारीको समयमा नियमित सेनेटरी प्याड प्रयोग गर्छिन् तर बजारबाट किन्दिनन् । फलाटिनको कपडा प्रयोग गरेर घरमै बनाउँछिन् । 

आफैं सेनेटरी प्याड बनाउँदै

सुवेदीले अघिल्लो वर्ष घरेलु प्याड बनाउन सिकेकी थिइन् । त्यसपछि आफैंले बनाउन थालेकी हुन् । ‘सरसफाइमा ध्यान दिए बजारबाट किनेको भन्दा घरेलु प्याड सजिलो र भरपर्दो हुन्छ,’ उनले भनिन्, ‘एउटै प्याड पटक–पटक प्रयोग गर्न पनि मिल्छ ।’


रूपन्देहीकी सावित्राजस्ता धेरै महिलाले अहिले आफैंले सेनेटरी प्याड बनाउन र प्रयोग गर्न थालेका छन् । उनीहरूले आफू मात्रै होइन, घरपरिवार, छरछिमेक र साथीलाई समेत सीप सिकाएका छन् । यसले महिनावारी सस्तो र स्वच्छ हुँदै गएको छ ।


सेनेटरी प्याड बनाउन सहज छ । सात दिनमा व्यावसायिक रूपले बनाउन सिकिन्छ । आफ्ना लागि मात्रै हो भने एक दिनमा पनि तयार हुन्छ । नरम सुती वा फलाटिनको कपडा प्रयोग गरेर सेनेटरी प्याड बनाइन्छ । प्याड सामान्यतया २१ इन्च लम्बाइ र १४ इन्च चौडा हुन्छ । सियो–धागोले सिएर प्याडको आकारमा ढालिन्छ ।


फलाटिनको कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । त्यसले रगत सोसेर राख्ने काम गर्छ । घरेलु सेनेटरीबारेकी जानकार सीता घर्तीका अनुसार कपडालाई नाप लिएर काट्नुपर्छ । कपडालाई लम्बाइ फोल्ड हुने गरी बराबर साइजमा दोबार्नुपर्छ । दोबारेको भागको तल्लो भागलाई माथिल्लो भागसँग मिलाउनुपर्छ ।


यसो गर्दा चार फोल्ड हुन जान्छ । पत्रहरू भएतर्फ पटाएको कपडाको लम्बाइको आधा र चौडाइको आधाको केन्द्रमा पर्ने गरी काट्नुपर्छ । काटिएका दुईवटा कपडाको बीचमा लम्बाइ २१ र चौडाइ ६ सेन्टिमिटर राखेर एक छेउ छोडी किनारा सिलाउनुपर्छ । यसपछि भित्री वस्त्र अडकाउने गरी कानजस्तो आकारको प्याडको छेउमा बनेको टुप्पोमा बटम लगाउनुपर्छ । एक मिटर कपडाबाट चारवटा प्याड बनाउन सकिने घर्तीले बताइन् ।


घरेलु सेनेटरी प्याडप्रति महिलाको आकर्षण बढेपछि रूपन्देहीका केही स्थानीय तह, सहकारी र संघसंस्थाले तालिम दिन थालेका छन् । सैनामैना नगरपालिकाले चालु आर्थिक वर्षमा वडावडामा तालिम चलायो । त्यसमा करिब दुई सय महिला सहभागी भए ।

उनीहरू व्यावसायिक रूपमै प्याड बनाउन सक्ने भएका छन् ।


महिलाले बनाएका प्याड महिला समूहमार्फत बिक्रीवितरणको बन्दोबस्त मिलाएको उपप्रमुख विना थापा मगरले बताइन् । ‘सेनेटरी प्याड महिनावारीका समयमा नभई नहुने वस्तु हो तर सबैले बजारमा किनेर प्रयोग गर्न सक्दैनन्,’ उनले भनिन्, ‘सबैले सफा र स्वच्छ प्याड प्रयोग गरुन् भनेर यस्तो तालिम सञ्चालन गरेका हौं ।’

प्रकाशित : जेष्ठ २१, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?