३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चक्रपथ धमाधम

सन्जु पौडेल

रूपन्देही — रूपन्देहीमा अहिले जताततै पूर्वाधार निर्माणको लहर छ । पुराना सडकको स्तरोन्नति र नयाँ निर्माणले तीव्रता पाएको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवल बनेपछि यहाँ गाडीको चाप ह्वात्तै बढेको छ । मूल सडकमा भीडभाड बढेपछि बुटवल उपमहानगरपालिकाले तीन वर्षमा पूरा हुने गरी चक्रपथ निर्माणलाई तीव्रता दिएको छ ।

चक्रपथ धमाधम

सन् २०१६ मा नगर यातायात गुरुयोजना निर्माण गरिएको थियो । त्यसबमोजिम चक्रपथ निर्माण थालिएको हो । नगरका १९ वडा जोड्ने गरी यसको निर्माण भइरहेको उपमहानगरका मेयर शिवराज सुवेदीले बताए । ‘यसले छिमेकी स्थानीय तहलाई पनि सञ्जालमा जोड्नेछ,’ उनले भने, ‘यो बाइपाससहितको चक्रपथ हुनेछ ।’


आगामी दसैंसम्ममा नगर बस सञ्चालन हुने गरी चक्रपथ निर्माणको काम भइरहेको मेयर सुवेदीले जानकारी दिए । ‘सबै बस्तीलाई सहरसँग जोड्न चक्रपथ निर्माण थालिएको हो,’ उनले भने, ‘चक्रपथलाई जितगढी हुँदै लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल जाने सडकसित जोडिनेछ ।’ बस्ती, बजार क्षेत्र र खुला क्षेत्र जोडेर चक्रपथ निर्माण भइरहेको छ ।


यसले पार्क, खुला चौर, शैक्षिक क्षेत्र, अस्पताल तथा स्वास्थ्यसंस्था, कृषि फार्म, औद्योगिक क्षेत्र, बैंकिङ स्थल, खेलमैदान, सामुदायिक तथा साझेदारी वन र नदी तटका बस्तीलाई चुरेसित जोडने उपमहानगरपालिकाले जनाएको छ । यसअन्तर्गत केही स्थानमा हरियालीसहितको पदमार्ग निर्माण गरिने मेयर सुवेदीले बताए । ४० किलोमिटर लामो चक्रपथले ऐतिहासिक जितगढी किल्ला हुँदै तिनाउ र दानव वारिपारिका क्षेत्रलाई जोडने योजनामा उल्लेख छ ।


चक्रपथ न्यूनतम ११ मिटरदेखि ५० मिटरसम्म चौडा हुने उपमहानगरको योजना शाखाले जनाएको छ । योजना प्रमुख सुमन श्रेष्ठले दुई वर्षदेखि बजेट छुट्याएर उपमहानगरले चक्रपथ निर्माण गरिरहेको बताए । ०७८ सालसम्म यसको निर्माण पूरा भएर नगरबस सञ्चालन हुने उनको दाबी छ ।


गोलपार्कबाट सुरु हुने चक्रपथले पुरातात्त्विक सहरका रूपमा संरक्षण भइरहेको पारि बुटवल (बटौल) हुँदै ऐतिहासिक मणिमुकुन्द सेन उद्यान, जितगढी र चुरेको फेदीबाट जबई मैदान जोड्ने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । ‘गोलपार्कस्थित पुल्चोकमा पक्की पुल निर्माण पूरा भइसकेको छ,’ उनले भने, ‘उक्त मार्गमा पर्ने विभिन्न ठाउँमा कल्भर्ट निर्माणसमेत पूरा भइसकेका छन् ।’


जबई खेलमैदान, मिलनपार्क हुँदै ग्लोबल पिसपार्कसम्म पुर्‍याइनेछ । पिसपार्कबाट सोइलहार, कर्साघाट हुँदै रतनपुर, डहरगाउँबाट ऐतिहासिक नरैनापुर धाम क्षेत्रमा पुग्ने चक्रपथ निर्माण गरिने योजनामा उल्लेख छ ।


कर्साघाटमा पुल निर्माणको काम चलिरहेको छ । त्यही स्थानमा बुटवल उपमहानगर र सैनामैना जोडेर केन्द्रीय स्तरको कृषिउपज केन्द्र बनाउने तयारी स्वरूप डीपीआर बनिरहेको प्रवक्ता रेग्मीले जानकारी दिए । नरैनापुरलाई बुद्धवली (बुद्ध खेल्ने, डुल्ने र हिंड्ने) का रूपमा महत्त्वपूर्ण ठाउँ र पशुपतिनाथभन्दा पुरानो धामका रूपमा लिइन्छ ।


चक्रपथले नरैनापुर धाम र कपरकट्टी ताल हुँदै त्यहाँका पुराना बस्ती केद्ली डाँडा, हीराचोक हुँदै तामनगरबाट फर्साटिकर रोडमा जोडिने वडा १३ का अध्यक्ष नारायणप्रसाद पुनले बताए । उपमहानगरभित्र १ सय ९३ किलोमिटर सडक रहेको छ । त्यसमध्ये १ सय ४५ किलोमिटरमा बाह्रै महिना गाडी चल्छन् । चक्रपथ निर्माण पूरा भएपछि उपमहानगरका सबै वडामा सडक सञ्जाल पूरा हुनेछ ।


पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको संगममा बुटवल रहेको छ । दुवै राजमार्ग सहरका मुख्य सडक हुन् । तिनमा गाडीको चाप धेरै छ । चक्रपथ निर्माणपछि गाडीको चाप कम हुने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।


‘सडकले यहाँका बस्ती, बजार र कृषि क्षेत्रलाई पर्यटनसँग जोड्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘अहिले खण्ड–खण्डमा रहेका सडक चक्रपथमा जोडिनेछन् ।’ अहिलेकै रफ्तारमा काम भएमा आगामी ६ महिनाभित्र माइक्रो बस सञ्चालन गर्न मिल्ने गरी निर्माणको काम अगाडि बढेको उनले बताए ।


यसका लागि गत वर्ष उपमहानगरले एक करोड रुपैयाँ बजेट छुट्याएर निर्माणको काम गरेको थियो । चालु वर्षमा उपमहानगरले मोतीपुर–सेमलार खण्डका लागि दुई करोड रुपैयाँ विनियोजन गरेर काम गरिरहेको छ । प्रदेश सरकारले बुटवल–११ र १३ का लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको हो ।


प्रकाशित : जेष्ठ २२, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?