कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हावाबाट बिजुलीका लागि अध्ययन

चिसापानीमा हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन सुरू गरिएको छ । त्यसका लागि टावर जडान गर्ने काम भइरहेको छ
ठाकुरसिंह थारु

बर्दिया — बर्दिया र कैलालीको सिमाना कर्णालीको चिसापानीमा हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । त्यसका लागि टावर जडान गर्ने तयारी छ । विश्व बैंकको आर्थिक सहयोगमा सरकारी तथा गैरसरकारी संघसंस्थाले त्यहाँको वायु ऊर्जाबारे अध्ययन गरिरहेका छन् । बाह्रै महिना तीव्र गतिमा हावा चल्ने भएकाले अध्ययनका लागि छनोटमा परेको हो । 

हावाबाट बिजुलीका लागि अध्ययन

यहाँ कति वायु ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाउन ५० मिटरका टावर जडान गर्ने तयारी छ । त्यसका लागि अध्ययन सकिएको छ । ‘हावाको बहाव हेर्दा वायु ऊर्जाको सम्भावना छ । त्यसका लागि विश्व बैंक लगानी गर्न तयार छ । त्यसैले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले सम्भाव्यता अध्ययन सुरु गरेका छन्,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वायु ऊर्जा अनुसन्धान प्रमुख डा. सुरेश ढुंगेलले भने, ‘टावर राखेर लगत्तै अनुसन्धानको काम अगाडि बढाउँछौं ।’


यसअघि यस्तै अध्ययनका लागि दाङको फूलबारी, प्यूठान र धुलिखेलमा टावर जडान भइसकेको उनले बताए । नास्ट र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले वायु ऊर्जासम्बन्धी सम्भाव्यता अध्ययन गर्दैर् आएको छ । केन्द्रले ५० मिटर अग्ला दुईवटा टावर पाल्पा र चिसापानीमा जडान गर्ने जनाएको छ । स्थलगत तथ्यांक प्राप्त भएपछि कति बिजुली उत्पादन गर्न सकिन्छ भन्ने पत्ता लाग्ने डा. ढुंगेलले जनाए । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको सन् २००६ को अध्ययन प्रतिवेदनले हावाबाट ३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने देखाएको छ ।


हावाबाट बिजुली उत्पादनका तीन चरण हुन्छन्न् । पहिलो चरणमा सुपर कम्प्युटरबाट स्याटेलाइट मोडलिङ गरिन्छ । त्यसबाट हावाको गति मापन गरेर नक्सांकनको काम गरिन्छ । यसले सालाखाला कहाँ कति गतिको हावा बग्छ भन्ने तथ्यांक दिन्छ । जानकारका अनुसार यस्तो तथ्यांक करिब १५ प्रतिशत तलमाथि हुन सक्छ ।


दोस्रो चरणमा सम्भावित क्षेत्रमा पुगेर स्थलगत तथ्यांक संकलन गरिन्छ । यसका लागि ८० मिटर अग्लो टावर जडान गर्नुपर्छ । टावर र मापन उपकरण तोकिएको गुणस्तरको हुनुपर्छ । जडान, तथ्यांक संकलन र प्रशोधन गर्दासम्म प्रतिटावर डेढ करोड रुपियाँ लगानी हुन्छ । एउटा टावरले ५ किलोमिटर आसपास काम गर्छ ।


दुई वर्षको तथ्यांक प्राप्त भएपछि मात्र वायु ऊर्जाको सम्भाव्यताबारे निचोडमा पुग्न सकिन्छ । अहिलेसम्म व्यावसायिक प्रयोजनका लागि दोस्रो चरणको काम हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?