३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाघ हेर्न पर्यटक बढ्दै

ठाकुरसिंह थारु

बर्दिया — बर्दिया निकुञ्जमा पाटे बाघ अवलोकनका लागि आउने पर्यटकको संख्या बढेको छ । बाघ अवलोकन सहज भएपछि विगतको तुलनामा पर्यटक बढेको निकुञ्जले जनाएको छ । पाहुना बढेपछि यहाँका पर्यटन व्यवसायी हौसिएका छन् । अहिले गन्तव्य प्रवर्द्धनका लागि बाघ प्रमुख ‘ब्रान्ड’ बनेको छ । 

सरकारले ०७६ साललाई बर्दिया भ्रमण वर्ष घोषणा गरेको छ । त्यसैले स्थानीयले यस वर्ष बाघ अवलोकनका लागि निम्तो बाँड्दै मुलुकका अन्य गन्तव्यमा प्रचारको कार्यक्रम संचालन गरिरहेका छन् । निकुञ्जको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म २५ हजार पर्यटकले भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २२ हजार पर्यटक आएका थिए । सन् २०१८ को गणना अनुसार निकुञ्जमा ८७ वयस्क पाटे बाघ फेला परेका छन् । बाघ बढेपछि सहजै देख्न पाइन्छ ।


‘निकुञ्ज घुम्न जाने पर्यटकमध्ये ९० प्रतिशतले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण पर्यटक आउने क्रम बढेको हो,’ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘बाघ हेर्न आउने पर्यटक निराश भएर फर्किनुपरेको छैन ।’ उनका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज विश्वभर प्रसिद्ध बनेको छ । बेला–बेला आउने हलिउड सेलिब्रेटी र अन्तर्राष्ट्रिय नेताका कारण गन्तव्यले प्रचार पाइरहेको छ । पर्यटक आगमनले यहाँ होटल निर्माण बढेको छ ।


यहाँका पर्यटन व्यवसायीले निकुञ्ज घुम्नका लागि देशविदेशमा निम्तो पठाउने क्रम चलिरहेको छ । निम्तोमा मुख्य आकर्षण बाघ छ । चोरी सिकारी नियन्त्रण हुँदै गएपछि बाघको संख्या बढेको हो । उचित आहारा, सुरक्षा र प्राकृतिक वासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको संख्या बढ्दै गएको छ ।


दुई वर्षयता दर्जन बढी बाघको संख्या बढेको बर्दिया निकुञ्जले जनाएको छ । सन् २०१३ मा गणना हुँदा बर्दिया निकुञ्जमा ३५ देखि ५० बाघ भेटिएका थिए । उचित सुरक्षा, वासस्थान, चित्तल, बँदेल, जरायो, लंगुवालगायतका बाघजन्य जनावर आहारा बढेका कारण संख्या बढ्दै गएको हो ।


पर्या–पर्यटन विकास समितिका अध्यक्ष मोहन चौधरीले बाघलगायतका वन्जजन्तु सहजै देखिने गरेको बताए । ‘यहाँ बाघ, गैंडा र हात्ती सहजै देख्न सकिन्छ,’ उनले भने, ‘वन्यजन्तु हेर्न मन पराउने पर्यटकको संख्या बढेको छ ।’ निकुञ्जमा चार/चार वर्षमा बाघको गणना हुने गरेको छ ।


राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरी सिकारी नियन्त्रण युवा अभियानबाट संयुक्त रूपमा प्राविधिक टोलीले क्यामेरा ट्रापिङको सहयोगमा गणना गरिन्छ । निकुञ्जबाहेक खाता जैविक मार्ग, आसपासका क्षेत्र र कैलालीको छतिवन क्षेत्रबाट बाघको गणना गरिएको थियो ।


निकुञ्ज घुम्नका लागि विदेशी पर्यटकले १ हजार ५ सय, सार्क मुलुकका पर्यटकले ७ सय ५० र स्वेदेशीले १ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यस्तै जिप प्रवेशका लागि ३ हजार शुल्क छ । हात्ती सफारीका लागि विदेशीलाई २ हजार ५ सय, सार्कका लागि १ हजार ५ सय र स्वदेशी पर्यटकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।


त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेको छ । एक दशकयता गैंडाको संख्या ३७ पुगेको छ । सन् २००८ मा संख्या २२ मा झरेको थियो । बबई उपत्यको परेवा ओडारमा छाडिएका डेढ दर्जन बढी गैंडा चोरी सिकारी भएपछि संख्या एकाएक घटेको थियो ।


कृष्णसार संकटमा

बर्दिया (कास)– मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसार अहिले संकटमा परेका छन् । उनीहरूको चरिचरण क्षेत्र अतिक्रमण गरिएकाले संकटमा परेका हुन् । बस्ती व्यवस्थापन समिति गठन नभएका कारण यस आर्थिक वर्षमा छुट्याइएको ५० लाख रकम पनि फ्रिज हुने अवस्थामा पुगेको छ । गत आवमा ६० लाख बजेट फ्रिज भएको थियो ।


तीन वर्षदेखि समिति गठन गर्न वन मन्त्रालयमा कृष्णसार संरक्षण समितिका पदाधिकारीले माग गर्दै आए पनि हालसम्म समिति गठन हुन सकेको छैन । संरक्षण समितिका अध्यक्ष कृष्ण खनालले दुईपटक बजेट फ्रिज भए अर्थ मन्त्रालयलले आगामी आवमा बजेट दिन नसक्ने अवस्था आउने बताए । जेठ महिनाभित्र समिति गठन नभए चालु आवको बजेट पनि फ्रिज हुने निश्चित रहेको उनले सुनाए ।


७ सय ८ बिघा संरक्षित क्षेत्रमध्ये ३ सय बिघा जमिन भूमिहीनका नाममा अतिक्रमणमा परेको कृष्णसार संरक्षण समितिले जनाएको छ । संरक्षण समितिका पूर्वअध्यक्ष एवं गुलरिया–२ का अध्यक्ष टंक अधिकारीले समिति गठन गर्न संघ सरकारको क्याबिनेटमा फाइल पुगे पनि निर्णय हुन नसकेको बताए । ‘सरकारको लापरबाहीका कारण बस्ती व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘जेठ महिनाभित्र समिति गठन भएन भने कृष्णसारको कार्यालयमा तालाबन्दी हुन्छ ।’


तारबारले घेरे पनि संरक्षित क्षेत्रभित्र अतिक्रमण भएका कारण कृष्णसारलाई चरिचरणमा बाधा पुगेको संरक्षण अधिकृत अर्जुन भुसालले बताए । ‘चरिचरण गर्न कृष्णसार बाहिर जाँदा हुडार, चितुवा र भुस्याहा कुकुरको आक्रमणमा परी मर्ने गरेका छन्,’ उनले भने । दुर्लभ मानिएका कृष्णसार बर्दिया सदरमुकाम गुलरिया–२ स्थित खैरापुर संरक्षण क्षेत्रमा रहेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?