३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

यात्रु बाेकेकाे ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १४ घाइते 

कमल पन्थी

बर्दिया — भारतको बहराइच जिल्लामा लक्कड बाबा मेला भरेर फर्कँदै गरेका यात्रु बोकेको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते छन् । 

प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार मृत्यु हुनेमा गुलरिया नगरपालिका—८ की ९ वर्षीया सुमन लोधको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार मेलाबाट बर्दियाको सदरमुकाम गुलरिया आउने क्रममा भे १ त ५७५२ नम्बरको ट्याक्टर डिब्बा भन्ने गाउॅमा पल्टिएको हो । दुर्घटनामा १४ जना घाइतेलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले जिल्ला अस्पताल पुर्‍याएका थिए ।


गुलरिया—९ डब्बामा राति ८ बजे ट्याक्टर पल्टिएको हो । जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका मध्ये गुलरिया—८ की १५ वर्षीया निलम लोध र ९ वर्षीया सुमन कुमारी लोधको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि रिफर गरि नेपालगञ्ज पठाएको थियो । उपचारको क्रममा सुमनको मृत्यु भएको प्रहरी निरीक्षक ओलीले बताए ।


यसैगरी मेला भरेर फर्कने क्रममा अटो रिक्सालाई नम्बर नखोलेको भारतीय नम्बरको बलेरो जिपले ठक्कर दिँदा चारजना घाइते भएका छन् । उनीहरु मध्ये दुईजनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।


हरेक वर्ष जेठ महिनामा एक दिन लाग्ने लक्कड बाबा मेला भर्न नेपालबाट करिब १० हजार श्रद्धालु भारत जाने गर्छन् । यसवर्ष पनि उत्तिकै संख्यामा मेला भर्न भारत गएको प्रहरीले जनायो ।

प्रकाशित : जेष्ठ २५, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?