जंगली च्याउ खाँदा दुईको मृत्यु, ९ जना बिरामी 

माधव अर्याल

पाल्पा — निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जंगली च्याउको तरकारी खाँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना गम्भीर बिरामी परेका छन् । 

विशालुच्याउ खाएर ९ वर्षकी निर्मला सिंह ठकुरी र चार वर्षकी विष्णु सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए। उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुने र बिरामी पर्नेहरु सार्कीडाँडाका तीन परिवारका हुन्। च्याउ खाएर बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षकी छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुर सिंह ठकुरी, ३० वर्षीय दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह, निशा सिंह ठकुरी र निरुता सिंह ठकुरी रहेको झिरुवासका वडाध्यक्ष लक्ष्मीप्रसाद पाटामगरले बताए।

उनीहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। नवलपुरको सीमानामा पर्ने सार्कीडाँडा जिल्लाकै दुर्गम गाउँ हो।

शुक्रबार बेलुकी च्याउ खाएका उनीहरु शनिबार अपरान्हबाट बिरामी पर्न थालेका हुन्। वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको थियो।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

किशोरीलाई लैजान खाेज्ने तीन भारतीय युवा पक्राउ 

माधव अर्याल

पाल्पा — गुल्मीका तीन किशोरीलाई भारत लैजाँदै गर्दा पाल्पा प्रहरीले तीन भारतीय युवालाई पक्राउ गरेको छ । उनीहरुलाई तानसेन–रिडी सडक अन्तर्गतको रिब्दीकोट गाउँपालिका–३, हार्थोक खस्यौलीमा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका भारत विहारका २१ वर्षीय मनोहर कुमार, २० वर्षीय अभिजित कुमार र १९ वर्षीय कालु कुमार पक्राउ परेको जानकारी गराएको छ।

ललाइफकाई भारतको विहार लैजाँदै गर्दा प्रहरीले ती युवालाई हार्थोकमा पक्राउ गरेको हो। गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका ३ जना युवतीलाई विवाहको बाहनामा ललाई फकाई गरी भारत लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। भारत जान खोजेका ती युवतीहरु २१ वर्षीया विवाहित फुपु र अन्य २ जना १४ र १५ वर्षीया किशोरी भतिजी हुन्।

भारतीय युवा पनि तम्घासकै मिष्ठान भण्डारमा काम गर्दै आएका थिए। भारतीय युवाले कसैले थाहा नपाउन भनी विक्की कुँवरका नाममा ६ जनाको टिकट काटेका थिए। प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका युवाहरुले बिहेको नाटक गर्दै हात काटेर किशोरीलाई रगतको सिउँदो लगाइदिएका थिए।

पक्राउ परेका किशोरीहरु घरपरिवार तथा स्थानीयवासीको रोहबरमा मनोपरामर्श गरी बुझाइसकेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए। पक्राउ परेका युवालाई मानव बेचविखन तथा ओसार–पसार कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरुलाई ५ दिनको म्याद थपिएको छ।

प्रकाशित : जेष्ठ ९, २०७६ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्