गोरेटो बाटोले जोड्यो पर्यटकीय स्थल बाकुमगढी

माधव अर्याल

पाल्पा — ऐतिहासिक एवं सामरिक महत्त्व बोकेको बाकुमगढीको पर्यटकीय विकास गर्न थालिएको छ । पहिलो चरणमा पूर्वखोला गाउँपालिका र नेपाली सेनाको गोरखदल गणले गढीसम्म पुग्न गोरेटो बाटो निर्माण गरेको छ ।

यसको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने गाउँपालिकाको योजना छ । यसको महत्त्व बुझाउने र यहाँसम्म सहजै पुग्ने वातावरण तयार भएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।


उनका अनुसार अघिल्लो वर्ष ५० हजार र यस वर्ष २ लाख रुपैयाँ छुट्याएर गढीसम्म पुग्न गोरेटो बाटो निर्माण गरिएको छ । गढीको महत्त्व दर्साउने गरी होर्डिङबोर्ड बनाउने, युट्युब, सामाजिक सञ्जाल, पत्रपत्रिकालगायत सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिने उनले बताए । ‘ऐतिहासिक एवं सामरिक महत्त्व बोकेको क्षेत्र हो भन्ने इतिहासले देखाएको छ,’ उनले भने, ‘त्यसैले अहिले सुरुआत मात्रै गरेका छौं । यसलाई प्रदेश र संघको सहयोगमा पर्यटकीय क्षेत्र बनाइनेछ ।’


गाउँपालिकाको आर्थिक सहयोगमा यस वर्ष नेपाली सेना गोरखदल गण र स्थानीय बासिन्दाको श्रमदानमा गोरेटो बाटो निर्माण भएको छ । गढी, किल्ला संरक्षण गर्ने अभियानअन्तर्गत बाकुमगढीमा चार दिन श्रमदान गरेको गोरखदल गणले जनाएको छ । गढीसम्म पुग्ने मोटरबाटो निर्माणमा सहयोग गरेको गणपति सुरज थापाले बताए ।


उनले गढी, किल्ला, ऐतिहासिक, धार्मिकस्थलमा संरक्षण गर्ने अभियानअन्तर्गत बाकुमगढीमा ५० बढी सैनिक चारदिनसम्म बसेर श्रमदान गरेको बताए । उनका अनुसार यो गढी नेपाल एकीकरण अभियानमा गोर्खाली र पाल्पाली फौजबीच लडाइँ भएको स्थान हो । ‘यसको महत्वलाई बुझेर नै श्रमदान गर्न आएका हौं,’ उनले भने, ‘गोरेटो बाटो निर्माणको काम सकिएको छ ।’


सदरमुकाम तानसेनदेखि ३४ किलोमिटर पूर्वमा बाकुमगढी पर्छ । यहाँसम्म पुग्ने अप्ठ्यारो भीर छ । झन्डै डेढ किलोमिटर क्षेत्रमा ६ फिट चौडाइको गोरेटो बाटो निर्माण गरेको उनले बताए । बाटो निर्माणमा खटिएका मेजर मनोज डंगोलले भीर, पाखामा लहरा र झाडी समाएर पुग्नुपर्ने स्थानसम्म गोरेटो बाटो बनाउन सफल भएको बताए ।


उनका अनुसार अब सहजै रूपमा बाकुमगढीसम्म पुग्न सकिन्छ । ‘नेपाली सेनासँग जोडिएको महत्त्वपूर्ण गढी भएकाले पनि श्रमदान गर्न आएका हौं,’ उनले भने, ‘अब संरक्षणका लागि पनि केही काम अघि बढाउनेछौं ।’ उनका अनुसार गढीसम्म पुग्ने बाटोमा सिढी बनाउने, रेलिङ बनाएर सहजै पुग्ने गराउनमा भूमिका खेल्ने योजना छ ।


बाकुमगढी पूर्वको ताँहु बजारदेखि चार किलोमिटर पूर्वको पूवखोला गाउँपालिका–६, हेक्लाङमा पर्छ । भौगोलिक हिसाबले बाकुमगढी भिरालो डाँडाको टाकुरामा छ । सामरिक हिसाबले बाकुमगढी महत्त्वपूर्ण स्थल हो । बाकुमगढी सेनवंशीय राजाको पालामा सुरक्षाका लागि निर्माण भएको पाल्पा राज्यको पूर्वतर्फको महत्त्वपूर्ण किल्ला हो । यहाँ अमरसिंह थापा र अभिमानसिंह बस्नेतले फौजको नेतृत्व गरेका बसेको इतिहासकार निर्मल श्रेष्ठले बताए ।


उनका अनुसार बाकुमगढीमा विक्रम संवत् १८४० मा नेपाल एकीकरणको अभियानमा गोर्खाली फौजको नेतृत्व गर्दै अमरसिंह थापा र अभिमानसिंह बस्नेतले लडाइँ गरेका थिए । यहाँ पृथ्वीनारायण शाहलेसमेत लडाइँ गरेका थिए । पाल्पा राज्यलाई जित्न नसकेपछि वैवाहिक सम्बन्ध गाँस्नुपरेको थियो । जुन किल्ला अर्थात् गढीमा ढुंगाको पर्खाल अहिले पनि छ । स्थानीय नरिन्द्र कामुका अनुसार धेरै वर्षपहिले गढीको पर्खालभित्र खिया लागेका केही हतियार पनि देखिन्थे । पछि यहाँबाट सामान चोरी हुँदै गए । ‘गढी हेर्न बाहिर मान्छे पनि आउने गर्थे,’ उनले भेन, ‘कसले लग्यो भन्ने पत्तो नै पाउन सकिएन ।’


‘यस्तो महत्त्वपूर्ण किल्ला ओझेलमा परेको छ,’ वडाध्यक्ष मनबहादुर सारुले भने, ‘त्यसैले यसलाई अबअगाडि ल्याउने प्रयास गरिएको हो ।’ वडा कार्यालय, गाउँपालिकाका साथै संघ र प्रदेश सरकारबाट बजेट विनियोजन गरी यसको प्रचारप्रसार र यसको संरक्षणमा काम अगाडि बढाउने योजना रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?