१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खोरमा बाँधिएकी पूर्वलडाकुको उद्धार

घनश्याम गौतम

रूपन्देही — आठ वर्षदेखि अज्ञात रोगले थलिएकी रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगारकी पूर्वलडाकु निर्मला विक ‘साधना’ को उद्धार गरिएको छ । 

उपचार अभावमा अचेत अवस्थामै गाईभैंसीसँगै बाख्राको खोरमा राखिंदै आएकी उनलाई बिहीबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र मानव सेवा आश्रमको पहलमा उद्धार गरेर बुटवलस्थित आश्रमको शाखा कार्यालयमा ल्याइएको हो ।


आश्रम ल्याइएकी ३२ वर्षीया लडाकु निर्मलाले अहिले पनि केही थाहा पाउँदिनन् । उनका दुवै खुट्टा आगोले जलेर घाउ भएको छ ।

उनी तत्कालीन माओवादीको पाँचौं डिभिजन ब्यारेक दहवनमा कार्यरत रहेकै बेला बिरामी परेकी थिइन् । परिवारका अनुसार सुरुमा उनलाई छारेरोग देखिएको थियो । उनी दोस्रो प्रमाणीकरणमा पनि परेकी थिइन् । तर, उनका पति पुर्बान विक अयोग्य ठहरिएका थिए । सुरुमा पति पुर्बानले भारतमा लगेर उपचार गरे पनि निको नभएपछि उनी घरमै बस्दै आएकी थिइन् । उनका आठ वर्षका छोरा पनि छन् । पतिले भने अर्की श्रीमती लिएर रोजगारीका लागि भारत गएका छन् ।


निर्मलाकी सासू क्वारी विकले आर्थिक अभावकै कारण बुहारीको उपचार गर्न नसकेको र आगोले जलेको खुट्टाको उपचार गर्न नसक्दा घरमा गन्हाउन थालेपछि तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालेको बताइन् । मन्त्री बरालले पूर्वलडाकुले आफ्नै घरमा नारकीय जीवन बिताइरहेको सार्वजनिक भएपछि मन्त्रालयको अनुरोधमा उद्धार भएको बताए । ‘अवस्था नाजुक नै रहेछ,’ उनले भने, ‘अहिले आश्रममा राखेर प्राथमिक उपचार गराउँदै छौं ।’ उनका लागि थप के गर्न सकिन्छ, त्यसका लागि पनि आश्रमकै सल्लाहमा

मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताए ।


निर्मलाका बारेमा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आश्रमको प्रदेश ३ को कार्यालय, प्रदेश ५ की संयोजक रूपा केसी र प्रदेश ६ को समेत सहकार्य र पहलमा बुटवलस्थित मानव सेवा आश्रममा ल्याइएको आश्रम संयोजक सरू अधिकारीले बताइन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?