कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वडासदस्यलाई साइकल वितरण

बुटवल — रूपन्देहीको सम्मरीमाई गाउँपालिकाले वडा सदस्यको सुविधाका लागि साइकल वितरण गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षको बजेटबाट वडाध्यक्षलाई गाडी र सदस्यलाई साइकल व्यवस्था गरेको हो । 

गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले साइकलले वडासदस्यलाई जिम्मेवार र सक्रिय बनाएको बताए । ‘साइकल पाउनुअघि कुनै काममा फोन गर्‍यो कि टाढा छु, आउन भ्याउँदिन भन्ने सदस्य धेरै थिए,’ उनले भने, ‘अहिले त्यस्तो भन्दैनन् । तत्काल आउँछन् ।’

सम्मरीमाई यहाँको विकट गाउँपालिका हो । यसका ७ वडा छन् । पायकमा वडा कार्यालयसमेत छैन ।


यस्तोमा साइकलले गाउँपालिका आउजाउमा निकै सहयोग गरेको वडा ४ की सदस्य मीना कहारले बताइन् । ‘हिंडेर जान टाढा छ । सार्वजनिक साधन चल्दैन,’ उनले भनिन्, ‘आफ्नो साइकल भएपछि आफू अनुकूल कार्यालय र जनताको काममा आउजाउ गर्न सकिएको छ ।’ यसअघि गाउँपालिकाले सबै सदस्यका लागि मासिक ६ लिटर पेट्रोल दिने गरेको थियो ।


प्रदेश ५ सरकारले गाउँपालिकाका वडासदस्यका लागि मासिक ७ हजार रुपैयाँ सुविधा तोकेको छ । यसबाहेक बैठकबापत ७ सय रुपैयाँ पाउँछन् । रूपन्देहीका विकट स्थानीय तहले यस अतिरिक्त साइकल र पेट्रोल सुविधा पनि थपेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?