१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गाउँमै रोजगारी

रोजगारका लागि फारम भरेका युवालाई मोटरबाटो सफा गर्न, नाली खन्न, वनजंगल सफा गरेर महफ्वपूर्ण जडीबुटी रोप्ने काम लगाइने

(पाल्पा) — जिल्लाको रिब्दिकोट र रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुआत गरेका छन् । रिब्दिकोटले रिब्दिकोट डाँडा क्षेत्रमा टिमुरको खेती गर्न र रम्भाले बेलपानी–मौलाथर मोटरबाटो स्तरोन्नतिका लागि श्रमिकलाई काम दिएको हो । रम्भाले ३० र रिब्दिकोटले १ सय २१ जनालाई रोजगार प्रदान गरेको छ । 

गाउँमै रोजगारी

रम्भामा प्रदेशसभा सदस्य नारायण आचार्यले उद्घाटन गरे । रम्भा गाउँपालिकाभित्र बेरोजगार सूचीकृत भएका ४ सय ५० छन् । अहिले रम्भा–३, पीपलडाँडाका ३० जनालाई १७ दिन काम लगाउने गरी कार्यक्रम सुरु गरेको हो । उनीहरूले दैनिक ६ सयका दरले ज्याला पाउने छन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पीपलडाँडास्थित बेलपानी–मौलाथर मोटरबाटोको नाली बनाउने, पहिरो पन्छाउने, मोड बनाउने काममा उनीहरू खटिने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा विनियोजन भएको १४ लाख बजेटमध्ये ४ लाख रुपैयाँ यस कामका लागि छुट्याइएको उनले बताए ।


सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । रिब्दिकोट गाउँपालिकामा सांसद सोमप्रसाद पाण्डेय, प्रदेशसभा सदस्य वीरबहादुर राना, प्रदेशसभा सदस्य रमा घर्ती, गाउँपालिका अध्यक्ष नारायण जीसीले कार्यक्रमको सुरुआत गरे । रिब्दिकोट गाउँपालिकाको जलेश्वर क्षेत्रमा उनीहरूलाई काममा लगाइनेछ ।


रिब्दिकोट गाउँपालिकामा केन्द्रीय सरकारबाट प्राप्त बजेटबाट ६३ जना युवालाई रोजगार दिइएको छ । बाँकीलाई गाउँपालिकाले छुट्टै ५ लाख बजेट विनियोजन गरेर थप ५८ जनालाई रोजगार दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्यालले बताए । रोजगार पाएका युवाले शनिबारदेखि काम गर्न थालेका छन् । यही शीर्षकमा तानसेन नगरपालिकाले ४२ लाख बजेट पाएको छ । उसले १ सय ८५ जना युवालाई रोजगार दिने लक्ष्य राखेको छ । रामपुर नगरपालिकाले २५ लाख बजेट पाएको छ । सय युवालाई रोजगार दिने लक्ष्य नगरपालिकाको छ । बगनासकाली र माथागढीमा १६/१६ लाख बजेट छ । माथागढीमा बेरोजगार सूचीमा १ हजार २ सय बढीले फारम भरेका छन् ।


पूर्वखोलाले १३ लाख बजेट पाएको छ । यहाँ आवेदन संकलन गर्ने र छनोट गर्ने काम भइरहेको छ । १३ लाख बजेट पाएको निस्दीले पनि ९८ जना युवालाई रोजगार दिने लक्ष्य लिएको छ । १२ लाख बजेट पाएको तिनाउले २ सय युवालाई रोजगार दिने जनाएको छ । १९ लाख बजेट पाएको रैनादेवी छहराले ३ सय २० युवालाई रोजगार दिने योजना बनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिने युवाको संख्या बढी देखिए पनि काम गर्न इच्छुक युवा भने निकै कम रहेको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले बताए । रोजगारका लागि फारम भरेका युवालाई मोटरबाटो सफा गर्न, नाली खन्न, वनजंगल सफा गरेर महत्त्वपूर्ण जडीबुटी रोप्ने काम गर्न लगाइने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए । मिहिनेत गर्ने युवालाई यो कार्यक्रमपश्चात् अर्को आर्थिक वर्षदेखि गाउँपालिकाले नै बजेटको व्यवस्था गरेर निरन्तर रोजगार दिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । बेरोजगारको सूचीमा जिल्लाभरिको पछिल्लो आवेदनको संख्या ७ हजारभन्दा बढी रहेको पाइएको छ ।


प्रकाशित : जेष्ठ २७, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?