अनुदानको मल थोरै

रूपा गहतराज

(नेपालगन्ज) — अनुदानको मल बिक्रीका लागि छुट्याएको कोटाभन्दा माग बढी आउने र बिक्री हुने गरेको पाइएको छ । बाँकेमा वर्षा पर्याप्त नभएका कारण मलको माग भने बढिसकेको छैन ।

सरकारले नेपालगन्जका लागि ३ हजार मेट्रिक टन युरिया, डीएपी १ हजार ६ सय मेट्रिक टन र पोटास ७० मेट्रिक टन अनुदानमा बिक्रीका लागि कोटा छुट्याएको छ । तर, माग भने त्यसभन्दा बढी आउने गरेको छ । ‘अनुदानको कोटाभन्दा बढी मल नेपालगन्जबाट उपलब्ध गराउँदै आएको छौं,’ कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्ज शाखाका प्रमुख रमेश पौडेलले भने, ‘यहाँ माग बढी भएको खण्डमा गत वर्ष बिक्री नभएको, अन्य कार्यालयमा भएको मलले मागको सम्बोधन गर्छौं ।’

चालु आवको जेठ २१ गतेसम्म ३ हजार ३ सय मेट्रिक टन युरिया बिक्री भइसकेको छ । जुन अनुदानका लागि छुट्याइएको सीमाभन्दा ३ सय ५८ मेट्रिक टन बढी हो । अझै २ हजारदेखि २५ सय मेट्रिक टन युरिया चालु आवकै लागि आवश्यक रहेको लिमिटेड प्रमुख पौडेलले बताए । १ हजार ६ सय मेट्रिक टन डीएपी बिक्री भइसकेको छ । जुन अनुदानका लागि निर्धारित सीमाभन्दा ४ सय मेट्रिक टन बढी हो । डीएपी चालु आवको असार मसान्तसम्मका लागि थप १ हजार मेट्रिक टन आवश्यक छ । आगामी आवको साउनमा रोपाइँ भइसक्ने हुनाले डीएपी मलको माग बढ्नेछ । साउनका लागि थप ५ सय मेट्रिक टन डीएपी आवश्यक पर्ने अनुमान रहेको प्रमुख पौडेलले बताए ।

नेपालगन्जबाट आपूर्ति गरिने पहाडी जिल्लामा माग बढी हुँदा सुर्खेत र दाङबाट समेत मल आपूर्ति हुने गरेको छ । लिमिटेडमा मल अभाव नहुने हो भने वार्षिक ५ हजार मेट्रिक टन युरिया, २ हजार मेट्रिक टन डीएपी, ७५ मेट्रिक टन पोटास आवश्यक पर्ने लिमिटेड प्रमुख पौडेलले बताए । ‘मलको खपत बढी र अनुदानको निर्धारित कोटा कम छ,’ उनले भने, ‘त्यसैले पनि मलको माग बढी देखिएको हो ।’ सरकारले आगामी आवका लागि मलमा अनुदानको रकम बढाएको छ ।

सरकारले आगामी आवमा मलखादको सन्तुलित प्रयोग मार्फत माटोको गुणस्तर र उत्पादकत्व वृद्धि गर्न कृषि सामग्री कम्पनी लिमिटेडमा मल बनाउने मेसिन जडानका लागि समेत बजेट विनियोजन गरेको छ । ‘आगामी आवका लागि अनुदान बढाइएकाले अनुदानमा आउने मल थप बढ्नेछ,’ पौडेल भने ।

हाल अनुदानको युरिया मल प्रतिमेट्रिक टन १५ हजार ९ सय २०, डीएपी प्रतिमेट्रिक टन ४४ हजार ९ सय २०, पोटास प्रतिमेट्रिक टन ३२ हजार ९ सय २० रुपैयाँ रहेको लिमिटेडले जनाएको छ ।

सरकारले अनुदानको ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत मल साल्ट ट्रेडिङलाई बिक्रीको जिम्मा दिंदै आएको छ । अनुदानको मल वितरण गर्ने जिम्मा पाएको कृषि सामग्री र साल्ट ट्रेडिङमा पर्याप्त मल नहुँदा गत वर्ष बाँकेका किसानले भारतबाट खरिद गरेर मल प्रयोग गरेका थिए । ‘गत वर्षजस्तो मलको अभाव नहोस् भनेर सरोकारवालाले बेलैमा पूर्वतयारी गर्नुपर्छ,’ जानकी गाउँपालिका–३ का किसान मंगलप्रसाद हरिजनले भने, ‘गत वर्ष खेतीका बेला मल अभाव हुँदा सीमापारिबाट तस्करीमा आएको मल दोब्बर मूल्यमा खरिद गर्न बाध्य हुनुपरेको थियो ।’

प्रकाशित : जेष्ठ २७, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्

बाध्यताले यौन पेसामा

रूपा गहतराज

नेपालगन्ज — कैलालीकी एक महिला ९ महिनाअघि नेपालगन्ज आइन । अन्तर्जातीय विवाह गरेकी उनले पतिको कुटाइ र यातना सहन नसकेर काम खोज्दै आएकी उनले होटलमा काम सुरु गरिन् । भाँडा माझ्ने काम सुरु गरेकी उनी देहव्यापारमा लागिन् ।

‘कहिले बाध्यताले त अहिले आफ्नै आवश्यकताले नचाहेको काम गर्नुपर्‍यो,’ उनले भनिन्, ‘जीवन जिउन सबै गर्नुपर्ने रहेछ ।’ पुनःस्थापना केन्द्रको सेल्टरमा भेटिएकी ३७ वर्षीया उनले पेटका लागि जस्तो पनि काम गर्नुपरेको बताइन् ।

नेपालगन्जमा अहिले उनीजस्तै धेरै महिला रहर र बाध्यता दुवैले यौन व्यवसायी बन्दै छन् । नेपालगन्ज र कोहलपुरमा यौनकर्मीको रूपमा काम गर्दै आएकी एक महिलाले पछिल्लो १ वर्षदेखि यौनलाई व्यवसाय बनाएकी छन् । पतिले अर्को विवाह गरेपछि आफू यौनबजारमा प्रवेश गरेको उनले बताइन् । ‘यो त मेरो बाध्यता हो,’ उनले भनिन्, ‘छोरीको भविष्यका लागि म आफ्नो शरीर बेच्दै छु ।’ सुरुमा होटलमा सरसफाइको काम गरेकी २३ वर्षीया एक महिलाले पनि रहरभन्दा बाध्यताले यौनकर्मी बन्नुपरेको बताइन् । शिक्षा र सीपको अभावमा आफू बाध्यताले यस्तो पेसामा लाग्नुपरेको उनको गुनासो छ ।

यौनकर्ममा लागेका धेरै महिलाको समस्या अशिक्षा नै हो । शिक्षा र सीपको अभावले बेरोजगार बन्नुपरेपछि कम समयमा धेरै पैसा कमाउने महत्त्वाकांक्षाले यौन पेसा अँगाल्ने गरेको उनीहरूसँगको कुराकानीले दर्साउँछ । १८ वर्षीया एक युवती उच्च शिक्षा हासिल गर्ने उमेरमा हरेक रात नेपालगन्जका फरक होटलका ग्राहक सन्तुष्ट पार्ने कलामा बितेको छ ।

‘एकै रात ७ जनासम्मलाई चित्त बुझाएकी छु,’ उनले निर्धक्कसँग भनिन्, ‘बानी परिसक्यो, कुन पुरुष के चाहन्छ भन्ने बुझेर काम गर्छु ।’ उनलाई यस्तो पेसामा लागेकोप्रति पछुतो त छ । तर, बाध्यता पेट पाल्ने नै हो । केही पैसा कमाएपछि उच्च शिक्षा पढ्ने योजना बनाएको उनले सुनाइन् ।

अभिभावकको संरक्षणमा हेक्का नपुग्दा उनले बालविवाह गरिन् । १५ वर्षमै विवाह गरेकी उनलाई २ वर्षमै लोग्नेले छाडेर बिदेसिए । माइती फर्किंदा आमाले अर्को विवाह गरेपछि बुबाले समेत हेरविचार गर्न ध्यान दिएनन् । ‘आमाले छोडेर जानुभयो बुबाले पनि अर्को विवाह गरेपछि म त्यो घरमा बस्नै सकिनँ,’ उनले भनिन्, ‘सबैतिरबाट एक्लो महसुस गरेर सुर्खेतबाट रोजगारीका लागि नेपालगन्ज आएँ र साथीकै लहैलहैमा यस्तो काममा लागियो ।’

काम थालेको होटल मालिकबाटै उनी यौन शोषणमा परेकी थिइन् । बिस्तारै मालिकले नै उनलाई ‘अब रातीमा पनि काम सम्हाल’ भनेपछि उनी यौनकर्मी बनिन् । ‘मेरो यौन कथा निकै अनौंठो छ,’ उनले सुनाईन्, ‘नराम्रो काम हो भन्ने जान्दा जान्दै म त यौन बजारकी पात्रमा रूपान्तरण भएँ ।’

नेपालमा कानुनी रूपमा यौन व्यवसाय बर्जित छ । तर, पनि लुकेर गरिने यो व्यवसाय नेपालगन्जमा फस्टाउँदो अवस्थामा छ । अधिवक्ता सुनीता शर्मा कति महिला बाध्यता र रहरमा यौन व्यवसायमा लागेको बताउँछिन् । ‘बाध्यताले लागेकाहरू होटल मालिकका विरुद्ध बोल्दैनन्,’ उनले भनिन्, ‘उनीहरू नबोल्दा बेश्यावृत्तिविरुद्धको कानुन पाटो नै कमजोर हुन्छ, त्यसले यो समस्या मौलाइरहेको छ ।’

महिला बेचबिखनका विरुद्ध क्रियाशील संस्था साना हातहरू नेपालकी अम्बिका थापा सरकारको कानुनी प्रावधान फितलो हुनु क्याबिन रेस्टुरेन्ट, डान्स बार, मसाज सेन्टर लगायतका अवैध धन्दा हुने अखडालाई बन्द गर्न नसक्दा यौन व्यवसायमा महिला बढ्दै गएको बताइन् ।

यौनकर्मी महिलाका अनुसार यौन बजारमा बार्गेनिङ गर्न प्रहरीकै हाकिमहरू पनि ग्राहकका रूपमा पुग्ने गर्छन् । त्यस्तोमा यौनकर्मी महिलाले प्रहरीभन्दा नै ग्राहककै रूपमा बार्गेनिङ गर्ने गरेको उनीहरूले सुनाए । ‘ग्राहकको स्तर र समय हेरेर एक रातको ५ हजारसम्म लिन्छौं,’ एक यौनकर्मी महिलाले भनिन् । कतिपय होटलले आफैं ग्राहक व्यवस्था मिलाएर बोलाउने र आधा रकम ‘दलाली’ को कमिसन लिने गरेको पनि यौनकर्मी महिलाले बताए ।

‘यौनकर्मी महिलाको पुनःस्थापनाको राम्रो पहल नसक्दा यो समस्या कम हुनुको सट्टा झन् बढ्दो छ,’ उनले भनिन्, ‘यसलाई समयमै राज्यले नै निगरानी र व्यवस्थापन गर्नु जरुरी छ ।’ होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले फितलो कानुनका कारण यौन व्यवसाय बढेको बताए ।

‘होटलमा राख्दा वैवाहिक प्रमाणपत्र माग्ने व्यवस्था छैन, श्रीमान् श्रीमती हुँ भनेपछि होटलले बास दिन्न भन्न मिलेन,’ उनले भने, ‘तर, समग्र होटल व्यवसायीलाई एकै ठाउँमा राखेर बदनाम गर्न हुँदैन ।’ बाँकेका कतिपय स्टार होटलमै सेक्स स्क्यान्डल भएका घटनासमेत बाहिर आएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्