गाउँका काममा गाउँकै कामदार

पाल्पा — धुलै र फुस्रै भएर सडकमा काम गर्दै गरेका दोमबहादुर घर्तीमगरलाई कसैले पनि उपभोक्ता समितिको अध्यक्ष भन्दैन । उनी सुन्दरढुंगा–जुठापौवा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हुन् । ४७ वर्षीय घर्ती आफैं निर्माणका काममा मुख्य मिस्त्री हुन् । 

४ वर्षदेखि यही बाटोको उपभोक्ता समितिका अध्यक्ष भएका उनले गाउँका युवालाई रोजगार दिँदै आएका छन् । ‘सकेसम्म डोजर पनि लगाउँदिनँ,’ उनले भने, ‘यही गाउँका युवालाई कामदारका रूपमा लगाउने र रोजगार बनाउने मेरो योजना हो ।’ चार वर्षयता उनी बाटो निर्माण समितिको अध्यक्ष भएर काम गरिरहेका छन् । ढुंगा फोर्ने, जाली भर्ने र नाली खन्ने सबै काममा उनी खटिन्छन् । उनको योजनाअनुसार अहिलेसम्म काम सफल भएको छ ।


बजेट फिर्ता गर्नु परेको छैन । १० देखि १५ लाख बजेटको काममा सबै गाउँका युवा परिचालन गर्छन् । गत वर्ष ठूलो पहिरो गएर भने सास्ती दियो । तीन महिना बाटो बन्द भयो । कामदार लगाएर नसकेपछि उनले डोजर प्रयोग गरेको बताए । रैनादेवी छहरा–६, जुठापौवाको नेपानेदेखि जुठापौवामा दैनिक २० भन्दा बढी कामदार लगाएर काम गराइरहेको उनले बताए । आवश्यक पर्दा ३०/४० जना पनि काममा लगाउने गर्छन् । ‘गाउँका युवा बाहिर गएर कामदार नै नपाइने समस्या बढेको छ,’ उनले भने, ‘यहाँ वर्षको ६ महिना मात्र काम पाउने भएकाले रोक्न पनि सकिँदैन ।’


तैपनि उनले युवालाई काममा लगाउने गरेका छन् । नाली खन्ने, रिटेनिङ वाल लगाउने, ग्याभिएन तारजाली भर्ने, ढुंगा निकाल्ने काममा युवालाई नै खटाउने गरेका छन् । ‘म आफैं पनि मिस्त्री भएकाले केही सहज भएको छ,’ उनले भने, ‘आफैं काममा नखटिने हो भने ठगिहाल्छन् ।’ गाउँका युवालाई दैनिक ५ सय रुपैयाँ दिएर काममा लगाएका छन् ।


एसईई दिएका, कक्षा ११, १२ पढ्नेहरू फुर्सदको समयमा उनीसँगै काम गर्न आउने गर्छन् । ‘मलाई विदेश र तराईतिर काम गर्न जानुभन्दा यहीं ठीक लागेको छ,’ ढुंगा निकाल्न खटिएका रामबहादुर कुँवरले भने, ‘घरमै परिवारसँग बसेर यहीं काम पाएको छु ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?