कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँबाट योजना आएन

ठाकुरसिंह थारु

बर्दिया — स्थानीय सरकारले बस्तीस्तरका योजना छनोट गर्न ढिलाइ गरेपछि विकासका योजना गाउँमै सीमित भएका छन् । चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा योजना छनोटको पहिलो चरण पनि पूरा भएको छैन ।

गुलरिया नगरपालिकाले योजना छनोटको काम सुरु गरेकै छैन । नीतिअनुसार हालसम्म कम्तीमा पनि स्थानीय सरकारले योजना छनोटका लागि चौथो चरण पूरा गरिसक्नुपर्थ्यो ।


गुलरिया नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद पौडेलले विभिन्न कारणले योजना छनोटको काम सुरु हुन नसकेको बताए । ‘जनशक्ति अभाव छँदै छ । नयाँ आर्थिक वर्षका लागि वडालाई बजेट छुट्याउनुपर्छ,’ उनले भने, ‘त्यसैले योजना छनोटको काम सुरु हुन नसकेको हो ।’ वडाध्यक्षसँग बजेटबारे छलफल गर्नै बाँकी रहेको उनले बताए । ‘ढिलो भइसक्यो,’ उनले भने, ‘अब विलम्ब हुँदैन । छिट्टै सुरु गर्छौं ।’


योजना छनोटको पहिलो चरणअन्तर्गत गएको चैत मसान्तभित्रै बजेट सिलिङ प्रदेश सरकारलाई पठाइसक्नु पर्छ । तर, स्थानीय सरकारले समयमै आयव्यय प्रक्षेपण पठाउन सकेनन् । दोस्रो चरणमा स्थानीय सरकारले आफूसँग भएको स्रोत तथा अनुमान बजेट वैशाख १० भित्रै तयारी गर्नुपर्ने थियो । त्यसलगत्तै बस्ती तथा योजना छनोट कार्यक्रम सुरु गर्नुपर्नेमा तहगत रूपमै ढिलाइ भइआएको असर तल्लो तहसम्म परेको हो ।


वैशाख मसान्तभित्रै बस्तीमै पुगेर आवश्यक पर्ने विकासका योजना छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, योजना छनोटको काम पहिलो चरणकै हुन नसकेपछि बस्तीस्तरको काम प्रभावित भएको हो । त्यस्तै चौथो चरणमा वडा तहमा छनोट भएका योजनाको प्राथमिकीकरण गर्नुपर्छ । जुन जेठ १५ भित्रै हुनुपर्ने कार्यतालिका थियो ।


पाँचौं चरणमा असार ५ भित्रै बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने तालिका छ । छैटौं चरणमा गाउँ तथा नगरपालिकाको बजेट तथा कार्यक्रम स्वीकृत गरी असार १० भित्रै सक्नु पर्नेछ । सातौं चरणमा गाउँ तथा नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वन गर्नुपर्ने भए पनि ती काम अधिकांश स्थानीय तहमा अहिलेसम्म भएका छैनन् ।


यहाँका ६ नगरपालिका र २ गाउँपालिका कुनैमा पनि बजेटको पूर्वतयारी नगरिएका कारण बस्तीका योजना कार्यान्वयनमा समस्या आएको बढैयाताल गाउँपालिकाका कार्यकारी अधिकृत लालबहादुर योगीले बताए । अहिले वडास्तरबाट योजना आउने क्रम जारी रहेको उनको दाबी छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?