निर्माण पूरा नहुँदै चर्कियो इनार

गिरुप्रसाद भण्डारी

प्यूठान — सरुमारानी गाउँपालिका–३, हंसपुरको खानेपानी इनार निर्माणकै चरणमा चर्केको छ । पानी तान्न बनाइएको मुख्य इनारको बाहिरी भाग फुटेर चिरा परेको छ । ३ सय २ घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्यका साथ माडी नदी किनारमा निर्माण थालिएको बृहत् हंसपुर लिफ्ट खानेपानी आयोजनाको मुख्य इनार फुटेको हो । 

वर्षौंदेखि खानेपानीको दुःख भोगेका स्थानीय इनार फुटेपछि निराश बनेका छन् । कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएकाले इनार फुटेको स्थानीयवासीको दाबी छ । आयोजना सम्पन्न नहुँदै इनार फुटेकाले छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

खानेपानी योजनाका लागि सरुमारानी गाउँपालिकाले गत वर्ष ६० लाख रुपैयाँ विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम सुरु गरेको थियो । खानेपानी योजनाको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार विकले इनारको बाहिरी भाग मात्र चर्केको बताए । ‘मुख्य इनार आरसीसी ढलान गरिएको छ,’ उनले भने, ‘त्यो भत्कने/चर्कने कुरै आउँदैन ।

बाहिरी भाग मात्र चर्केको हो ।’ योजनामा गत वर्ष ९ लाख रुपैयाँ बेरुजु निस्केको थियो । क्रमागत योजनाअन्तर्गत बाँकी काम गर्न गाउँपालिकाले ९० र प्रदेश सरकारले ९० लाख रुपैयाँ यस आर्थिक वर्षमा विनियोजन गरी टेन्डर गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले बताए । ‘इनार चर्केको भन्ने सुनेको छु,’ उनले भने,‘हेर्न भ्याएको छैन ।’

माडी नदी किनारमा जरुवा खनेर लिफ्ट प्रविधिमार्फत पानी तान्न लागिएको छ । योजनाको लागत ३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । चारवटा छुट्टाछुट्टै स्थानमा पम्प हाउस निर्माण गर्ने भनिएको छ । पानी संकलन गर्न १ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना छ । पछिल्ला ठेकेदारले काम अझै सुरु गरेका छैनन् । यसले गर्दा करोडौंको योजना अलपत्र अवस्थामा छ ।

आगामी दुई वर्षभित्र योजना सक्ने लक्ष्य राखिएको वलीले बताए । योजनाबाट साबिक हंसपुर गाविसका ४ हजार बढी स्थानीय लाभान्वित हुनेछन् । दुई वर्षभित्र पालिकाभर नै खानेपानीको पहुँच पुर्‍याउने नीति तथा कार्यक्रमअनुसार योजना अगाडि बढाइएको प्रशासकीय अधिकृत वलीले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

३ घण्टा हिँडेर विद्यालय

आफ्नो गाउँको विद्यालयको तह घटुवा भएपछि निम्न मावि र मावि तह पढ्ने विद्यार्थीले टाढाको गाउँ धाउनुपरेको हो ।
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–११, पेदीखोलाका बालबालिका ३ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् । गाउँमा सञ्चालित विद्यालयको तह घटेपछि बालबालिकालाई आफ्नो गाउँभन्दा टाढा हिँडेर हिवल्चा जानुपर्ने बाध्यता भएको हो । 

साविक जिल्ला शिक्षा कार्यालयले अनुमति दिएपछि पेदीखोलाको जनसेवा सामुदायिक विद्यालयमा २०६६ देखि ०७३ सम्म निम्न माध्यमिक र माध्यमिक तहको पठनपाठन भयो । दुई वर्ष विद्यालयका छात्रछात्राले गाउँमै कक्षा १० सम्म अध्ययन गरे । तर, अहिले प्राथमिक तह मात्र सञ्चालन भएपछि बालबालिका हिवल्चाको महेन्द्ररत्न माविमा आइ पढ्न बाध्य छन् । निजी स्रोतमा भर्ना भएका शिक्षकले तलब नपाउँदा विद्यालय कक्षा १० बाट एकैपटक प्राथमिक तहमा झरेको हो ।

कक्षा ८ की छात्रा विमला रोकाले गाउँमा माथिल्लो तहको विद्यालय नहुँदा सास्ती भोग्नुपरेको बताइन् । विद्यालय जान बिहानै घरबाट हिँड्नुपर्ने बाध्यता भएको उनको गुनासो छ । ‘बिहान ७ बजे नै घरबाट हिँड्नुपर्छ,’ उनले भनिन्, ‘विद्यालयबाट फर्कंदा झमक्कै साँझ पर्छ, होमवर्क गर्नसमेत समस्या हुने गरेको छ ।’

कक्षा ६ देखि १० सम्मको पढाइका लागि गाउँका करिब ५० बढी विद्यार्थी हिवल्चा जाने गरेका छन् । कक्षा ९ मा अध्ययनरत रमेश बस्नेतले विद्यालय टाढा भएका कारण घरमा पर्याप्त अध्ययन गर्न नपाइने बताए । ‘बाटोभरि सल्लाका कुसुम झरेकाले चिप्लिने जोखिम मोलेर विद्यालय जाने गरेका छौं,’ उनले भने, ‘जंगलको बाटो भएकाले एक्लै विद्यालय आउजाउ गर्न समस्या छ ।’ पेदीखोला छत्रेश्वरी, त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाको संगमस्थल हो ।

गाउँको विद्यालयमा निम्न माध्यमिक र माध्यमिक तहको पढाइ नहुने भएपछि कक्षा ५ उतीर्ण भएका बालबालिकाले पढाइ छोड्ने क्रम बढिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल रावतले बताए । उनका अनुसार शिक्षक अभावका कारण माथिल्लो तहको कक्षा सञ्चालन हुन नसक्दा तह घटाइएको हो ।

उनले बालबालिका अन्यत्र पढ्न जान थालेपछि तीन स्थानीय तहको केन्द्र मानिने पेदीखोला सुनसान हुन थालेको बताए । उनले तह बढाउने तयारी थाले पनि शिक्षक अभावमा आफूहरूको योजना पूरा हुन नसकेको गुनासो गरे ।

उनका अनुसार कक्षा १० सम्म अध्ययन गर्न महेन्द्र माविमा जाने विद्यार्थीलाई ‘प्लस टु’ पढ्न भने श्रीनगर जानुपर्ने बाध्यता छ । उनले श्रीनगरमा पढ्दै आइरहेका विद्यार्थीलाई कोठा भाडामा लिएर अध्ययन गर्नुपर्ने बाध्यता रहेको जनाए ।

माथिल्लो तह हटेपछि विद्यालयमा विद्यार्थीको संख्यासमेत घटै गइरहेको छ । स्थानीय नेत्रवीर पुनले गाउँकै विद्यालयको तह बढाउन अभिभावकले धेरै प्रयास गरे पनि सफल नभएको बताए । ‘विद्यालयको तह घटेपछि फर्निचर र अन्य शैक्षिक सामग्री त्यत्तिकै थन्किएका छन,’ उनले भने, ‘निम्न माध्यमिक र माध्यमिक तह पठनपाठन भएका भवन प्रयोगविहीन छन् ।’ भौतिक पूर्वाधार पर्याप्त भए पनि शिक्षक अभावले आफूहरूको प्रयास सफल हुन नसकेको उनी बताउँछन् ।

विद्यालयका प्रधानाध्यापक तोरणप्रसाद बुढाथोकीले कक्षा ५ सम्म सञ्चालित विद्यालयमा अहिले ५० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिए । उनका अनुसार विद्यालयमा दुई जना शिक्षकको मात्र स्थायी दरबन्दी छ । एक शिक्षक निजीस्रोतमा राखिएको उनको भनाइ छ ।

उनका अनुसार शिक्षक नहुँदा कक्षा ४ र ५ र कक्षा २ तथा २ र ३ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ । ‘अभिभावक र विदेशमा बस्दै आएका स्थानीयको सहयोगमा ०६६ देखि ०७३ सालसम्म माध्यमिक तह सञ्चालन गरेका थियौं,’ उनले भने, ‘निजी तहका शिक्षकले विद्यालय छोडेपछि सहयोगको सदुपयोग हुन सकेको छैन । भौतिक पूर्वाधार पर्याप्त भए पनि अधिकांश सामग्री प्रयोगविहीन छन् ।’

विद्यालयका अनुसार निजी स्रोतमा राखिएका शिक्षकलाई २ लाख रुपैयाँ बढी तलब दिन अझैं बाँकी छ । २०४६ सालमा स्थापना गरिएको विद्यालयलाई २०६६ सालमा निम्न माध्यमिक बनाइएको थियो । दुई वर्ष विद्यालयमा माध्यमिक तह सञ्चालन भएको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT