१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नाला बने नदी, खेत बन्यो बगर

बर्दिया — बारबर्दिया–१०, बैदीदेखि पश्चिम मगरागाडी जाने सडकमा झरनहिया र दोन्द्रा नदी पर्छन् । ती नदी एक दशकअघि नालाका रूपमा थिए । आउजाउ गर्नेहरू उफ्रिएर नाला पार गर्थे । सवारी साधन आउजाउका लागि स–साना कल्भर्ट बनाइएका थिए ।

स्थानीयले खेतमा पानी सिंचाइ गर्थे । तर, नाला नदी बनेपछि सिँचाइ हुन छाडेको छ । नदी गहिरो भएपछि खेतमा पनि टिक्नै छोडेको छ । धान फल्ने खेत बगर बन्दै गएका छन् ।


कटान तीव्र छ । सयौं बिघा खेतमा खेती हुन छोडिसक्यो । किसानका लागि कुनै दिन बरदान बनेको नाला नदी बनेपछि दुःख दिएको छ । खेतीपातीका लागि दुइटै नालाको पानीले मजाले सिँचाइ गर्न मिल्थ्यो । दुई सिजन खेती हुन्थ्यो । ‘अहिले त सिँचाइ होइन, खेतमा भएको पानी नदीमा झर्छ,’ वडा सदस्य तथा स्थानीयबासी बाँधुराम चौधरीले भने, ‘नदी बनेको धेरै भएको छैन । तर, किसानलाई निकै सास्ती दिइसक्यो ।’


बबई सिँचाइ आयोजनाले उत्तरतर्फबाट नहर छिराएपछि पानीको बहावले नालालाई केन्द्र बनाउँदा नदी बनेको स्थानीयको भनाइ छ । नहर बन्नुअघि पानीको बहाव फैलिएर दक्षिणतर्फ पस्थ्यो । जंगलका खोलानालाका पानी एकैपल्ट नालामा झर्दा कटान भएर नदी बनेको हो । नाला हुँदा बाह्रै महिना सिंचाइ सहजै हुन्थ्यो । किसानको जीवनसँग जोडिएको थियो ।


‘तर, अहिले उल्टो भएको छ । नाला नदी बन्यो । खेत कटान भइरहेको छ,’ स्थानीय किरपाल चौधरीले भने, ‘धान फल्ने खेत बगर बनिसके ।’ अझै पनि नदी गहिरो हुँदै गएका कारण कटान बढी हुने गरेको छ । दुवै नदी दक्षिणतर्फ बगेर बबईमा मिसिन्छन् । नदी, खोलानालाबारे अनुसन्धान गर्दै आएका दयाराम खड्काले बबई नहरका कारण यी नाला नदी नबनेको बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?