हत्याको आरोपी पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिका–१३ घर भई भीरकोट नगरपालिका–१ बयरघारीमा मजदुरी गर्दै आएका ५५ वर्षीय राजेश अधिकारीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान बयरघारीस्थित मुल्की चौपारीमा मृत अवस्थामा भेटिएका अधिकारीको पोष्टमार्टम र घटना अनुसन्धान गर्दा प्रहरीले हत्या भएको खुल्न आएको बताएको छ ।

हत्याको आरोपमा रुपन्देही जिल्ला देवदह नगरपालिका–१० घर भई हाल स्याङ्जाको भीरकोट नगरपालिका–१ डायमण्डचोक बस्दै आएका ३९ वर्षीय लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

‘२६ गते अर्थात आइतबार राति मृतक अधिकारीले मादक पदार्थ सेवन गरी सूर्यवंशीको डेराको घरमा गई काम गरेको पारिश्रमिक (पैसा) मागेको रहेछन्,’ डीएसपी भण्डारीले भने, ‘सूर्यवंशीले एक/दुई दिनमा दिउँला भनेको रहेछन् । सोही समयमा अधिकारीले गालीगलौज गरी फर्किएछन् । पैसा दिन्छु भनिरहँदा आत्मसम्मानमा चोट पुग्ने गाली गलौज गरी गएक कारणले हथौडा तथा काठको चिरपटले प्रहार गरी घाइते बनाइ छाडी गएछन् । उनी गएपछि अधिकारीको घटनास्थलमा नै मृत्यु भएको रहेछ ।’ आरोपीत सूर्यवंशीलाई जिल्ला अदालतमा प्रस्तुत गरी म्याद थप अनुमति लिई अन्य अनुसन्धान गर्ने कार्य भइरहेको डीएसपी भण्डारीले बताए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालको कमाण्डमा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारी र वडा प्रहरी कार्यालय वालिङ्‌का प्रमुख प्रहरी निरीक्षक शंकर आचार्यलगायतको टीमले घटनाको अनुसन्धान गरेको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको कुकुर शाखाबाट कुकुरसहितको अनुसन्धान टोली खटिएको प्रहरीले बताएको छ ।

‘घटनास्थलको जाँच तथा अनुसन्धान र तालिम प्राप्त ककुरले देखाएको मार्ग एवं संकेतअनुसार अनुसन्धान गर्दा घटनाको सत्यतथ्य छिटै बाहिर ल्याउन सहज पुग्यो,’ डीएसपी भण्डारीले थपे । प्रहरीका अनुसार सूर्यवंशी ठेकेदार हुन् । उनले केहीसमयअघिदेखि स्याङ्जामा ठेक्कापट्टाको काम गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १६:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेस जागरण अभियानको निष्कर्ष : संविधान, संघीयता र लोकतन्त्रको रक्षा एवं संवर्द्धनको भूमिका निर्वाह गर्नुपर्ने

रासस

काठमाडौँ — नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । 

एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ-नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरणको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो । प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिनबिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको बताए ।

अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । प्रथम चरणको जागरण अभियानलाई पछिल्लो समय कुनै पनि राजनीतिक दलद्वारा जनस्तरमा प्याकेजमा अघि सारिएको बृहत् र नवीन एक मात्र कार्यक्रमका रुपमा कांग्रेसले व्याख्या गरेको छ ।

अभियानका क्रममा स्थानीय तहसम्म बृहत्स्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव सङ्कलन हुनाका साथै गणतन्त्र, संघीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा बौद्धिक छलफल भएको थियो ।

विभिन्न पार्टीका ३१ हजार ६४२ कांग्रेसमा प्रवेश
प्रवक्ता शर्माले भने, 'कांग्रेसले आफूलाई नवीन ढंगले अघि बढाएर संविधान, संघीयता र लोकतन्त्रको रक्षा एवं संवर्द्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ।'

सोही आशा र विश्वासको भावनाका साथ कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ । अभियान क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँनगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अन्य पार्टीका नेता कार्यकर्तासमेत रहेको उनले जानकारी दिए । उनीहरुलाई पार्टीले आवश्यक प्रशिक्षणपश्चात् उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।

अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । कांग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै कांग्रेस अघि बढ्ने जनाइएको छ ।

अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । यही जेठ २३ मा भएको प्रथम रक्तदानमा ७३ व्यक्तिले रक्तदान गरेर ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।

असार तेस्रो साता केन्द्रीय समितिको बैठक

जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । प्रथम चरणका खटिनुभएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ ।

पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ ।

जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै नेपालको संविधान र कांग्रेसको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संस्थाहरुबारे पनि आवश्यक निर्णय यथाशीघ्र लिइने उनले बताए । अभियानको दोस्रो चरण पूर्व कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रम गरिनेछन् ।

कांग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, सङ्गठन र समृद्धि’ केन्द्रित प्रशिक्षण आगामी साउनको प्रथम साता काठमाडौँमा आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ ।

गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

सात प्रदेशका जिल्लालाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णयबमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

त्यस्तै नेपाली जनसम्पर्क समितिका लागि यही जुन महिनाको २१–२३ तारिखमा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

आन्तरिक संगठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्वस्तरीय सो कार्यक्रममा नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादको युरोप अनुभवको आलोकमा नेपाल जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तर्क्रिया हुनेछ ।

प्रवक्ता शर्माले गुठीसम्बन्धी विधेयक सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको बताउँदै सो विधेयकले परम्परा, धर्म, संस्कृतिमाथि अतिक्रमण गर्नै भन्दै फिर्ता लिन सरकारसँग माग गरे । साथै उनले लोकसेवा आयोगको सार्वजनिक गरेको स्थानीय कर्मचारी आवेदनसम्बन्धी विज्ञापनमा संविधानले अङ्गीकार गरेको समावेशिता सिद्धान्त समावेश गर्नुपर्ने र करारमा कर्मचारी भर्ना गर्न नहुने धारणा व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १५:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT