बीउको स्रोतकेन्द्र बनाइँदै

अमृता अनमोल

बुटवल — पछिल्लो समय यहाँका धेरै किसानले स्थानीय बीउमाथिको आफ्नो स्वामित्व गुमाइरहेका छन् । यसले एकातिर मागअनुसार बीउ आपूर्ति हुन सकेको छैन भने अर्कोतिर महँगोमा बीउ किन्नुपरेको छ ।

बीउको स्रोतकेन्द्र बनाइँदै

बीउमाथिको यही परनिर्भरता रोकी उत्पादन र उत्पादकत्व बढाउन भन्दै प्रदेश ५ सरकारले स्रोतकेन्द्र स्थापना गर्न लागेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५ जिल्लामा ५ जातका बीउको स्रोतकेन्द्र स्थापना थालेको हो ।


बाख्रा उत्पादनका लागि अर्घाखाँची, माहुरीका लागि दाङ र मसला बालीका लागि रोल्पालाई छनोट गरिएको छ । फलफूलका लागि कपिलवस्तु र फूलका लागि नवलपरासी पश्चिम तोकिएको छ ।


स्रोतकेन्द्र कुनै जाति वा प्रजातिको प्रजनन केन्द्र हो । केन्द्रले उन्नत जात र प्रविधिका बीउ उत्पादन गर्ने गर्छ । कृषिजन्यमा विभिन्न प्रविधिबाट उन्नत जातका बीउ प्रयोग गरी बिरुवा उत्पादन हुन्छ । पशुजन्यमा भने नश्ल सुधार गरिएका आधुनिक, स्थान र परिवेशअनुसारका स्रोतको विकास गरिन्छ ।


ती बीउ माग र आवश्यकताका आधारमा किसानलाई उपलब्ध गराउने मन्त्री आरती पौडेलले बताइन् । ‘कृषिमा प्रदेशलाई अब्बल बनाउने भनेका छौं । तर, किसानले कुनै पनि बाली वा व्यवसायको उचित बीउ एकै स्थानबाट पाउन सकेका रहेनछन् । यसले उत्पादन र उत्पादकत्व बढाउन सकिएन,’ उनले भनिन्, ‘त्यसैले मूल बीउ उत्पादन गर्न स्रोतकेन्द्रको योजना ल्याएका हौं ।’


स्रोतकेन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम सकिएको छ । अहिले आवश्यक जग्गा छनोट प्रक्रिया अघि बढेको छ । वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले अर्को आर्थिक वर्ष सुरु हुनासाथ फिल्डस्तरको काम सुरु गर्ने बताए । उनका अनुसार यसका लागि चालु आर्थिक वर्षमा एक करोड रकम छुट्टिएको छ ।


स्रोतकेन्द्रमार्फत प्रदेशभरलाई पुग्ने फलफूल, खाद्यान्न, पुष्प, तेलहन, मसलाबाली र बाख्राको स्रोत तथा बीउ उत्पादन गरिनेछ । यसका लागि मुख्य स्रोतकेन्द्रबाट प्रदेशका अन्य जिल्लामा पनि सहायक बीउ उत्पादन तथा स्रोतकेन्द्र विस्तार गर्ने योजना छ ।


उत्पादन धेरै हुने लोभले पछिल्लो समय किसान हाइब्रिड बीउप्रति आकर्षित छन् । स्रोतकेन्द्रले भने नेपालीपनको उन्नत जातका बीउ उत्पादनमा मात्र सहयोग गर्नेछ । ‘उन्नत जातप्रतिको बढ्दो आकर्षणले किसानको स्थानीय बालीप्रतिको आकर्षण घट्दै गएको छ । यसले स्थानीय जात लोप हुँदै र बीउमाथिको परनिर्भरता बढ्दै गएको छ,’ अधिकृत घिमिरेले भने, ‘त्यसैले प्रदेशभित्रका स्थानीय बीउको संरक्षण र स्वदेशी बीउ उत्पादनमा पनि सहयोग गर्ने उद्देश्य छ ।’


स्रोतकेन्द्र स्थापनाका लागि निजी क्षेत्रसमेत आकर्षित भएका छन् । सहकारी संस्था र किसान समूह पनि इच्छुक छन् । मन्त्रालय अहिले कुन विधि अपनाएर निर्माण र सञ्चालन गर्ने भन्नेमा छलफलमा लागेको छ । बाख्राको स्रोतकेन्द्रका लागि भने अर्घाखाँचीको डिभर्नामा रहेको समुदायमा आधारित ब्रिड केन्द्रलाई स्तरोन्नति गर्ने तयारी छ ।


त्यहाँ उन्नत जातका बोयर बाख्रा र बोका उत्पादन गरी अन्य स्थानमा विस्तार गर्ने योजना रहेको वरिष्ठ पशु विकास अधिकृत डा. प्रदीप शर्माले बताए । प्रदेशमा यसअघि नै रूपन्देही गहुँको बीउ उत्पादनका लागि प्रख्यात छ । रूपन्देहीसहित कपिलवस्तु र पश्चिम नवलपरासीमा दलहन बालीको बीउ उत्पादन हुन्छ । उन्नत बीउबिजन कार्यक्रममार्फत गुल्मी, पाल्पा, रोल्पालगायत जिल्लामा मकैको बीउ उत्पादन हुने गरेको छ ।


बीउबिजन नियन्त्रण केन्द्रका अनुसार नेपालमा विभिन्न बालीका ५ सय ५६ जातका आधिकारिक बीउ दर्ता छन् । सरकारले चासो नदिंदा दर्ताबाहेकका बीउ पनि भित्रिने र बिक्री वितरण हुने गरेको छ । नेपालमा भारत, चीन, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, अमेरिका, इटाली, फ्रान्स, डेनमार्कलगायत देशबाट बीउ आयात हुने गरेको छ ।


सबैभन्दा धेरै भारतबाट ८५ प्रतिशत र चीनलगायत अन्य देशबाट १५ प्रतिशत बीउ भित्रिन्छ । अनधिकृत बीउको प्रयोगले कैयौं किसान नपुंशक बीउको सिकार भएका छन् । प्रदेशमै क्रमशः सबै बालीको स्रोतकेन्द्र स्थापना गरेर नक्कली बीउबाट किसानलाई जोगाउने मन्त्री पौडेलले बताइन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?