बर्दियामा दुई दिनदेखि सञ्चार सेवा अवरुद्ध
(बर्दिया) — नेपाल टेलिकमबाट सञ्चालित मोबाइल र ईन्टरनेट सेवा बिहीबारदेखि ठप्प भएको छ । मोबाइल सेवा ठप्प भएपछि सूचना सम्प्रेशनसमेत अस्तव्यस्त भएको छ । इन्टरनेट भने विगत सातादेखि नियमित सञ्चालन हुन सकेको छैन । साता दिन बितिसक्दा पनि गुलरियास्थित टेलिकम कार्यालयले कुनै चासो नदेखाएको स्थानीयले गुनासो पोखेका छन् ।
कार्यालय प्रमुख अच्युत रावलले अप्टीकल फाइवर बिग्रेको बताए पनि थप जानकारी दिन चाहेनन् ।
लामो समयसम्म अप्टिकल फाइवर बिग्रँदासम्म मर्मत नभएपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले टेलिकमका जिल्ला प्रमुख रावललाई कार्यालयमा बोलाएर तत्काल मर्मत सम्भार गर्न भनेका थिए । सेवा प्रवाह गर्न नसके अविलम्ब सरुवा भएर जान प्रमुख रावललाई निर्देशन दिएका स्रोतले जनाएको छ ।
कार्यालय प्रमुख रावल करिब दस वर्षदेखि गुलरियास्थित टेलिकममा प्रमुख छन् ।