१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुराना नाच खोज्न प्रतिस्पर्धा

आधुनिकतासँगै जातजातिका पुराना नाचहरु चलनबाट हराउने संघारमा छन् 
हरि गौतम

रुकुम पूर्व — परम्परागत संस्कृति जोगाउन भन्दै भुमेमा बृहत् साँस्कृतिक प्रतियोगिता हुने भएको छ । भुमे गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न संस्कृतिको संरक्षणका प्रतियोगिता गर्न लागेको हो । 

पुराना नाच खोज्न प्रतिस्पर्धा

मगर समुदायको ठूलो पर्व भूम्या अर्थात् बल पूजाका अवसरमा भुमे गाउँपालिका–२ खाबाङ बगरमा प्रतियोगिता गराउने तयारी सुरु भएको छ । असार २ देखि चार दिनसम्म विभिन्न विधाका नाचमा प्रतिस्पर्धा गराइने संस्कृति तथा पर्यटन विकास केन्द्रले जनाएको छ ।


भूमे गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत केन्द्रको आयोजना, मौलिक कला संरक्षण मञ्च र खाम मल्टी सोसल अर्गनाइजेशनको सहयोगमा प्रतियोगिता हुन लागेको हो । भूम्या, नचारु, मयुर, पैसेरी, फाँक र झोरेल्नी नाचको प्रतिस्पर्धा गराइने छ । भुमेका ९ वटै वडामा नाचिने नाचलाई आधार मानेर ६ वटा नाचको प्रतिस्पर्धा गराइने केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए ।


‘कुनै वडामा भूम्या, कुनै वडामा नचारु, कुनै वडामा मयुर, कुनै वडामा फाँक र कुनै वडामा झोरेल्नी नाचिन्छ,’ उनले भने, ‘सबैलाई समेट्ने उद्देश्यसहित मुख्य ६ वटा नाचमा प्रतिस्पर्धा गराउने भयौं ।’ विशेष गरी परम्परागत रुपमा नाँचिँदै आइएका नाचको संरक्षण गर्ने उद्देश्य प्रतियोगिताबाट राखिएको छ ।


भूम्या नाँचमा प्रथम आउनेले नगद एक लाख पुरस्कार पाउने छ । दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना समूहले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नचारु नाचको प्रथमले ७५, दोस्रोले ५०, तेस्रोले ३० र सान्त्वनाले १५ हजार नगद प्राप्त गर्ने छ ।

मयुरमा प्रथम आउनेले ५०, दोस्रोले ३०, तेस्रोले २० र सान्त्वना हुने समूहले १० हजार नगद पाउने छ ।


यसैगरी पैंसेरु, फाँक र झोरेल्नी नाचमा प्रथम आउनेले ३०, दोस्रोले २०, तेस्रोले १५ तथा सान्त्वना हुने समूहले ५ हजार नगद पुरस्कार पाउनेछन् । ‘परम्परागत संस्कृति लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि सरकार आफै लागेको छ,’ गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले भने, ‘परम्परा र संस्कृति संरक्षणका लागि वार्षिक कार्यक्रम बनाएरै काम गरिरहेका छौं ।’


प्रतियोगिता मौलिक र मौलिक भेषभूषामा हुने उनले बताए । हरेक वर्ष प्रतियोगिता गर्दा तयारी गर्नेले पनि राम्रो गर्ने र संरक्षणमा टेवा पुग्ने भनाई उनको छ । ‘हरेक वर्षको प्रतियोगिताले लोप हुन लागेको संस्कृतिलाई संरक्षण गर्ने भयो, प्रतियोगिता जित्नेलाई दिइने पुरस्कारले जति सक्यो धेरै परम्परामा आधारित नाचिने भएकाले हामीले हरेक वर्ष प्रतियोगिता गर्ने र आकर्षक पुरस्कार दिने नीति बनाएका हौं,’ अध्यक्ष बुढाले भने ।


पर्यटन विकासमा परम्परागत कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसको संरक्षण र प्रवर्द्धन स्थानीय सरकारको प्राथमिकतामा परेको भनाई उनको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?