कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

१० महिनामा ३३६ महिलाद्वारा आत्महत्या

अमृता अनमोल

बुटवल — दुई साताअघि ओमसतिया गाउँपालिका–१ पडखौलीकी २४ वर्षीया युवती घरमै अचेत अवस्थामा भेटिइन् । आफन्तले उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल ल्याए । विष सेवन गरेकी उनी ४ दिनको उपचारपछि निको भइन् । तर, घर फर्किनन् ।

माइतीको सहयोगमा २३ जेठमा जिल्ला प्रहरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । ‘छोराको आसमा लगातार ३ छोरी जन्माएँ, तर पनि छोरा जन्माउनैपर्ने दबाब छ,’ उनले भनिन्, ‘सहनै नसकेपछि आत्महत्याको प्रयास गरेकी हुँ । अब मर्दिनँ । छुट्टिएर बस्छु ।’ उनका पति भैरहवामा मोटरसाइकल ग्यारेजमा काम गर्छन् । छोरा नजन्माएको भन्दै पछिल्लो समय दोस्रो विवाहको धम्की दिने गरेका छन् ।


वैशाख २१ मा बुटवल उपमहानगरपालिका–१४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्री घरभित्रै मृत भेटिइन् । मृत्युको अघिल्लो बिहान उनी सासूबाट कुटिएकी थिइन् । स्थानीयका अनुसार राति १० बजेतिर घरमा रुवाबासी चलेको थियो । अर्को दिन बिहान झुन्डिएको अवस्थामा भेट्टिइन् । दाइजो नल्याएको भन्दै सासूलगायतका परिवारबाट उनले हिंसा भोग्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । उनकी ६ वर्षे छोरी छन् । पति वैदेशिक रोजगारीमा छन् । बाबु डोमबहादुर खत्रीले छोरीको हत्या भएको भन्दै उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलले भने आत्महत्या गर्न बाध्य बनाएको मुद्दा दायर गरेको छ ।


रूपन्देही मात्र होइन, प्रदेश ५ मै महिला आत्महत्याका घटना बढेका छन् । चालु आवको साउनदेखि वैशाखसम्मको १० महिनामा प्रदेशमा ३ सय ३६ महिलाले आत्महत्या गरेका छन् । त्यसमा १९ देखि ३५ वर्ष उमेर समूहका धेरै छन् । धेरै महिला हिंसा सहन नसकेर आत्महत्या गरेको देखिएको छ । सुरुमा आत्महत्या भनिएका २६ घटनामा अनुसन्धान गर्दै जाँदा हत्या भएको पुष्टि भएको प्रदेश ५ प्रहरी कार्यालय दाङ तुलसीपुरले जनाएको छ ।


अनुसन्धानमा पारिवारिक हिंसा सहन नसकेर महिलालाई आत्महत्या गर्न बाध्य भएको देखाइएको छ । त्यसभित्र सन्तान नै नजन्माउनु, छोरा नजन्माउनु, दाइजो वा तिलक नल्याउनु, पतिको इच्छाअनुसार यौनसम्बन्ध नराख्नु, परपुरुषसित हेलमेल गर्नु, परिवारको स्वीकृतिबिना घरबाहिरको काममा जानुलगायतका कारण छन् ।


किशोर अवस्थाका युवती भने प्रेम विचलन अर्थात् अपरिपक्व प्रेमका कारण पनि आत्महत्या गर्न बाध्य छन् । यस्तोमा प्रेम सम्बन्धलाई केटाले विवाहमा परिणत गर्न नमान्ने, घरपरिवारले नस्विकार्ने, प्रेम सम्बन्धकै समयमा गर्भ रहनेलगायत छन् । चैत अन्तिम साता तिलोत्तमा गंगोलियाकी रीता चौधरीको आत्महत्या त्यसको उदाहरण हो । अविवाहित उनी गर्भवती अवस्थामै आत्महत्या गरेकी थिइन् । यद्यपि घरपरिवारले त्यसलाई खुलाउन नखोजेको प्रहरीले जनाएको छ ।


भदौ १ देखि लागू भएको फौजदारीसंहिताले आत्महत्यालाई कसुर ठानेको छ । आत्महत्या गर्न बाध्य पारेकालाई समेत सजायको व्यवस्था गरेको छ । तर, कसैले व्यक्ति तोकेर उजुरी नदिएमा भने प्रहरीले आत्महत्याको जाहेरी लिन्छ तर, कसैमाथि कारबाही गर्दैन । ‘अहिलेसम्म बाँके र रूपन्देहीमा मात्रै आत्महत्या गर्न बाध्य पारेकामाथि मुद्दा चलेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले भने, ‘यद्यपि मुख्य कसुरदार मानिने व्यक्ति नै मरिसकेकाले अनुसन्धानमा समस्या छ ।’


पछिल्लो समय सामान्य घरेलु विवादले पनि महिला हिंसा बढाएको छ । कतिपय हिंसा सहेर बस्छन् । तर, हिंसा सहन पनि नसक्ने र प्रतिकार पनि गर्न नसक्नेले भने आत्महत्याको बाटो रोज्छन् । ‘आत्महत्या गलत हो र पनि कतिपय महिलाहरूले यसलाई उन्मुक्तिको बाटोका रूपमा लिएका छन्,’ रूपन्देहीकी महिला तथा बालबालिका सञ्जाल संयोजक समिता मल्लले भनिन्, ‘महिला हिंसालाई माइती, आफन्त वा प्रहरी प्रसाशनले पनि गम्भीर रूपमा नलिने र जरैदेखि समाधान हुन नसक्ने भएर पनि यस्तो भएको हो ।’ महिला भएकै कारण हुने घरेलु हिंसा कम गर्न सके मात्रै महिला आत्महत्याका घटना कम गर्न सकिने उनले बताइन् ।


मनोरोग विशेषज्ञ डाक्टर मनोज ढुंगानाले आत्महत्यालाई मनोरोग भएको बताए । मनोरोग हिंसा वा निराशाका कारण उत्पन्न हुन्छ । प्रदेश ५ का प्रहरी प्रमुख पीताम्बर अधिकारीले महिला आत्महत्याको प्रमुख कारण सम्बन्ध र अधिकार लेनदेनका कारण हुने गरेको देखिएको बताए ।


‘यस्तोमा हिंसाविरुद्ध कार्यरत संघसंथा, अस्पताल र प्रहरीले मनोपरामर्शकर्ताद्वारा हिंसा पीडितलाई परामर्शको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यो प्रदेशमा बाँके र बर्दियाबाट प्रहरीले नै नागरिक संघसस्थाको सहकार्यमा सामाजिक मनोपरामर्शका काम थालेका छौं ।’

प्रकाशित : असार १, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?