कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चुरे संरक्षणले बढायो पानी

बाह्रै महिना निरन्तर पानी बगिरहँदा बढी भएको पानी नालामा फाल्ने गरिन्छ
ठाकुरसिंह थारु

बर्दिया — जताततै पिउने पानीको हाहाकार भएको समाचार सार्वजनिक भइरहेका बेला यहाँको चुरे छेउको बाँसगढी नगरपालिका–२, बेतहनी गाउँमा भने निरन्तर पिउने पानी बगिरहेको छ । डिपबोरिङ, धाराबाट एकनासले बग्ने पानीले सिंचाइमा समेत सहयोग पुर्‍याएको छ । 

चुरे संरक्षणले बढायो पानी

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा उक्त गाउँ पर्छ । नजिकै चुरे छ । घर नजिकैका खेतमा बोरिङ गाडिएका छन् । पिउने पानी प्रशस्त छ । बाह्रै महिना निरन्तर पानी बगिरहँदा कहिले बढी हुन्छ । बढी भएको पानी नालामा फाल्ने गरिन्छ ।


यस क्षेत्रमा करिब एक दर्जन बोरिङ छन्, जसबाट आफैं निरन्तर पानी निस्किन्छ । १०/१५ फिट गहिरोमा धारा जडान गर्दा मजाले पानी आउने यहाँका स्थानीय बताउँछन् । आपसेआप पानी निस्किनका लागि एक सय बढी फिट गहिरोमा जडान गरिएका छन् । ‘यहाँ पिउने पानीको कुनै समस्या छैन । जति नै गर्मी भए पनि पानी आइरहन्छ,’ स्थानीय भोसु चौधरीले भने, ‘पिउने पानीको हाहाकारको समाचार रेडियोमा सुनिन्छ । यहाँ भने पानी आफैं निस्किन्छ । पानीको कुनै तनाव छैन ।’


अन्य स्थानमा टयुबेलबाट पानी तान्न मोटर, जेनेरेटर, पम्पसेट जडान गर्नुपर्छ । तर, यहाँका सर्वसाधारणलाई भने त्यो झन्झट बेहोर्नुपरेको छैन । प्राकृतिक रूपमा वरदान पाएका यहाँका स्थानीय आफूलाई निकै भाग्यमानी सम्झिन्छन् । उनीहरूलाई इन्धन खर्च गर्नुपरेको छैन । स्थानीयवासी तथा शिक्षक रमेश चौधरीले बेतहनी क्षेत्रमा पानीको कुनै समस्या नरहेको बताए ।


‘जताततै पानी नै पानी पाउन सकिन्छ, त्यो पनि पिउन लायक । रातदिन पानी निस्किरहने गरेका कारण सिंचाइमा पनि सहयोग पुगेको छ,’ उनले भने, ‘पिउने पानीबाटै धानको बीउ राखिसकेका छौं ।’ चुरेबारेका जानकार डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले त्यस क्षेत्रमा चुरे संरक्षण भएका कारण पानी आफैं निस्किने गरेको बताए । उनका अनुसार चुरे संरक्षण हुँदा आकाशबाट परेको पानी जमिनको सतहसम्म पुग्छ ।


चुरे विनाश भएर नांगै भयो भने आकाशको पानी सीधै बगेर जान्छ । ‘जहाँ चुरे संरक्षण भएको छ । त्यस क्षेत्रमा पानीको कुनै समस्या छैन । किनभने, चुरेले तराईलाई रिचार्ज गरेको हुन्छ,’ उनले भने, ‘पिउने पानीको समस्या समाधान गर्न आसपास क्षेत्रका चुरेको संरक्षण गर्न आवश्यक छ ।’

प्रकाशित : असार १, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?