'प्रेसमाथिको नियन्त्रण अस्वीकार्य'

दुर्गालाल केसी

दाङ — जिल्लाका अग्रज पत्रकारहरुले मिडिया काउन्सील विधेयक पारित भए त्यसले प्रेसमाथि नियन्त्रण गर्ने भन्दै त्यसमा आपत्ति जनाएका छन् । रिपोटर्स क्लब दाङले आइतबार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी अगुवा पत्रकारहरुले सरकारले मिडियामाथि अनावश्यक नियन्त्रणको प्रयास गरेको गुनासो गरे ।

'प्रेसमाथिको नियन्त्रण अस्वीकार्य'



प्रेस काउन्सीलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले सञ्चार क्षेत्रलाइ नियन्त्रण गर्न खोज्ने मिडिया विधेयक तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । ‘सञ्चार क्षेत्रको नियमन गर्न आवश्यक छ, तर नियन्त्रण गर्ने अभिप्राय विधेयकमा देखिएको छ । हामीलाई त्यो स्विकार्य छैन,’ उनले भने, ‘विधेयक नियन्त्रणको मनसायले आएको छ । सत्ताले शक्ती दुरुपयोग गर्नसक्ने ठाउँ राखिएको छ ।’


नागरिक अगुवा टिकाराम रेग्मीले विधेयक दुर्गणैदुर्गुणले भरिएको आरोप लगाए । सरकारले प्रेसलाई आफू अनुकूल प्रयोग गर्ने मनशायले विधेयक अघि बढाएको उनले बताए । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले मिडिया काउन्सिल विधेयकलाई सरकारले थेग्न नसक्ने बताए । ‘प्रेसलाई जहिले पनि कार्यपालिकाको डण्डाबाट टाढा राख्नुपर्छ । गलत गर्ने पत्रकारलाई कारवाही गर्ने अन्य कानून पनि छन्,’ उनले भने, ‘सिंगो मिडियालाई नै त्रसित पार्ने गरी विधेयक ल्याउनु उचित भएन ।’


पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष केवि मसालले मिडिया काउन्सिल विधेयक स्वतन्त्र प्रेसका पक्षमा नभएको बताए । अर्का पूर्व जिल्ला अध्यक्ष प्रताप रेग्मीले नेपालको संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको अवस्थामा फेरी सञ्चार जगतलाई अंकुश लगाउने गरी विधेयक ल्याउनु गलत नियत भएको बताए ।


कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पत्रकारले स्ववनियमन गर्नु नै उपयुक्त हुने धारणा व्यक्त गरेका थिए । मिडिया बिधेयकले प्रेस स्वतन्त्रता खतरामा पर्ने चिन्ता भैरहेको बेला जिल्लाका अगुवा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीले बताए ।


प्रकाशित : असार १, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?