कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बारीभरि बन्दा र टमाटर

प्यूठान — प्यूठान नगरपालिका–४, ढाडमंग्राका ४४ वर्षीय भीमबहादुर थापाको तरकारी खेती लोभलाग्दो छ । १८ वर्षदेखि उनी यही तरकारी खेतीमै मग्न छन् । हिउँदे/बर्खे तरकारी बिक्री गरेर उनको परिवार चलेको छ । 

बारीभरि बन्दा र टमाटर

सुरुमा मकै/गहुँ लगाउने बारीका पाटाभरि तरकारी रोप्दा उनलाई छिमेकीले खिसी गर्थे । तर, उनले तरकारी खेतीबाट गरेको आम्दानी देखेर अचेल छिमेकीले पनि तरकारी लगाउन थालेका छन् ।


अहिले उनको बारीमा टमाटर र बन्दागोभीका ४ हजार बोट हुर्किरहेका छन् । ‘टमाटार भर्खर पाक्न थालेको छ,’ उनले भने, ‘बन्दा डल्ला पर्दै छन् ।’ रोगकीरा नलागे ३ लाख रुपैयाँभन्दा बढी बचत गर्ने योजनासहित मिहिनेत गरेको उनले सुनाए । ‘बजारमा भाउ भएकै समयमा टमाटर निस्कन थालेको छ,’ उनले भने, ‘बन्दाको पनि भाउ पाए राम्रो कमाइ हुन्थ्यो ।’


एउटा टमाटरको बोटमा ३ देखि ५ किलोसम्म फल्ने गरेको उनले सुनाए । उपभोक्ता र किसान दुवै बिचौलियाका कारण समस्यामा पर्ने गरेको उनले सुनाए । ‘बिचौलियाले ३५/४० रुपैयाँ फाइदा राखेर तरकारी खरिद गरी बिक्री गर्छन्,’ उनले भने, ‘आखिर मर्ने त उपभोक्ता र हामीजस्ता किसान नै हो ।’


‘०५८ सालदेखि व्यावसायिक तरकारी खेती गर्न थालेको हुँ,’ उनले भने, ‘अन्यत्र जागिर गरेको भए पेन्सन निस्कने बेला भो । अझै माटोमै दुई नंग्रा खियाइरहेको छु । तर, पछुतो छैन ।’ दुई छोरा र एक छोरीलाई पठनपाठनलगायत अन्य सबै खर्च तरकारीको आम्दानीले धानेको उनले सुनाए । ‘युवा अवस्थादेखि नै यसैमा लागियो,’ उनले भने, ‘भाउ पाएका बेला राम्रो कमाइ हुन्छ । नपाए पनि लगानी खेर जाँदैन ।’ यसपालि असिनाले तरकारी खेतीमा केही नोक्सानी गरेको उनले सुनाए ।


नगरपालिकाको मुख्य बजार केन्द्र बिजुवारमा कृषि संकलन केन्द्र भए ढाडमंग्रा क्षेत्रका किसानलाई राहत मिल्ने थापाको भनाइ छ । तरकारी खेती गरेको यतिका वर्ष बिते पनि सरकारी अनुदानका लागि अहिलेसम्म आफू कतै नगएको उनले सुनाए । ‘हामीलाई अनुदान चाहिएको छैन,’ उनले भने, ‘बरु, उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउने बाटो र बजारको सुनिश्चितता गरिदिए काफी हुन्थ्यो ।’


तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि जग्गा भाडामा लिएर पनि उनले खेती गरे । कमाइ बढै गएपछि १८ रोपनी जग्गा समेत किनेर तरकारी खेती गरे । तरकारी खेतीका लागि सिंचाइ गर्न आफ्नै लगानीमा पानीको जोहो गरेको उनले बताए । ‘सिंचाइका लागि अहिले कुनै चिन्ता छैन,’ उनले भने, ‘तरकारीकै आम्दानीले ०६० सालमा पानी ल्याएको हुँ ।’


दम्पती नै तरकारी खेतीमा लाग्दा राम्रो आम्दानी भएको उनले सुनाए । तर, गत वर्ष श्रीमतीको मृत्यु भएपछि उनी केही समस्यामा परे । ‘श्रीमतीको उपचारमा खर्च भो,’ उनले भने, ‘तर, दुर्भाग्य बचाउन सकिएन ।’ श्रीमतीको मृत्युपछि छोरा/छोरीले साथ दिएको उनले सुनाए ।

प्रकाशित : असार २, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?