बारीभरि बन्दा र टमाटर

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका–४, ढाडमंग्राका ४४ वर्षीय भीमबहादुर थापाको तरकारी खेती लोभलाग्दो छ । १८ वर्षदेखि उनी यही तरकारी खेतीमै मग्न छन् । हिउँदे/बर्खे तरकारी बिक्री गरेर उनको परिवार चलेको छ । 

बर्खे तरकारीको स्याहार गर्दै ढाडमंग्राका किसान भीमबहादुर थापा । तस्बिर : गिरुप्रसाद/कान्तिपुर

सुरुमा मकै/गहुँ लगाउने बारीका पाटाभरि तरकारी रोप्दा उनलाई छिमेकीले खिसी गर्थे । तर, उनले तरकारी खेतीबाट गरेको आम्दानी देखेर अचेल छिमेकीले पनि तरकारी लगाउन थालेका छन् ।

अहिले उनको बारीमा टमाटर र बन्दागोभीका ४ हजार बोट हुर्किरहेका छन् । ‘टमाटार भर्खर पाक्न थालेको छ,’ उनले भने, ‘बन्दा डल्ला पर्दै छन् ।’ रोगकीरा नलागे ३ लाख रुपैयाँभन्दा बढी बचत गर्ने योजनासहित मिहिनेत गरेको उनले सुनाए । ‘बजारमा भाउ भएकै समयमा टमाटर निस्कन थालेको छ,’ उनले भने, ‘बन्दाको पनि भाउ पाए राम्रो कमाइ हुन्थ्यो ।’

एउटा टमाटरको बोटमा ३ देखि ५ किलोसम्म फल्ने गरेको उनले सुनाए । उपभोक्ता र किसान दुवै बिचौलियाका कारण समस्यामा पर्ने गरेको उनले सुनाए । ‘बिचौलियाले ३५/४० रुपैयाँ फाइदा राखेर तरकारी खरिद गरी बिक्री गर्छन्,’ उनले भने, ‘आखिर मर्ने त उपभोक्तार हामीजस्ता किसान नै हो ।’

‘०५८ सालदेखि व्यावसायिक तरकारी खेती गर्न थालेको हुँ,’ उनले भने, ‘अन्यत्र जागिर गरेको भए पेन्सन निस्कने बेला भो । अझै माटोमै दुई नंग्रा खियाइरहेको छु । तर, पछुतो छैन ।’ दुई छोरा र एक छोरीलाई पठनपाठनलगायत अन्य सबै खर्च तरकारीको आम्दानीले धानेको उनले सुनाए । ‘युवा अवस्थादेखि नै यसैमा लागियो,’ उनले भने, ‘भाउ पाएका बेला राम्रो कमाइ हुन्छ । नपाए पनि लगानी खेर जाँदैन ।’ यसपालि असिनाले तरकारी खेतीमा केही नोक्सानीगरेको उनले सुनाए ।

नगरपालिकाको मुख्य बजार केन्द्र बिजुवारमा कृषि संकलन केन्द्र भए ढाडमंग्रा क्षेत्रका किसानलाई राहत मिल्ने थापाको भनाइ छ । तरकारी खेती गरेको यतिका वर्ष बिते पनि सरकारी अनुदानका लागि अहिलेसम्म आफू कतै नगएको उनले सुनाए । ‘हामीलाई अनुदान चाहिएको छैन,’ उनले भने, ‘बरु, उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउने बाटो र बजारको सुनिश्चितता गरिदिए काफी हुन्थ्यो ।’

तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि जग्गा भाडामा लिएर पनि उनले खेती गरे । कमाइ बढै गएपछि १८ रोपनी जग्गा समेत किनेर तरकारी खेती गरे । तरकारी खेतीका लागि सिंचाइ गर्न आफ्नै लगानीमा पानीको जोहो गरेको उनले बताए । ‘सिंचाइका लागि अहिले कुनै चिन्ता छैन,’ उनले भने, ‘तरकारीकै आम्दानीले ०६० सालमा पानी ल्याएको हुँ ।’

दम्पती नै तरकारी खेतीमा लाग्दा राम्रो आम्दानी भएको उनले सुनाए । तर, गत वर्ष श्रीमतीको मृत्यु भएपछि उनी केही समस्यामा परे । ‘श्रीमतीको उपचारमा खर्च भो,’ उनले भने, ‘तर, दुर्भाग्य बचाउन सकिएन ।’ श्रीमतीको मृत्युपछि छोरा/छोरीले साथ दिएको उनले सुनाए ।

प्रकाशित : असार २, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

निर्माण पूरा नहुँदै चर्कियो इनार

गिरुप्रसाद भण्डारी

प्यूठान — सरुमारानी गाउँपालिका–३, हंसपुरको खानेपानी इनार निर्माणकै चरणमा चर्केको छ । पानी तान्न बनाइएको मुख्य इनारको बाहिरी भाग फुटेर चिरा परेको छ । ३ सय २ घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्यका साथ माडी नदी किनारमा निर्माण थालिएको बृहत् हंसपुर लिफ्ट खानेपानी आयोजनाको मुख्य इनार फुटेको हो । 

वर्षौंदेखि खानेपानीको दुःख भोगेका स्थानीय इनार फुटेपछि निराश बनेका छन् । कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएकाले इनार फुटेको स्थानीयवासीको दाबी छ । आयोजना सम्पन्न नहुँदै इनार फुटेकाले छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

खानेपानी योजनाका लागि सरुमारानी गाउँपालिकाले गत वर्ष ६० लाख रुपैयाँ विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम सुरु गरेको थियो । खानेपानी योजनाको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार विकले इनारको बाहिरी भाग मात्र चर्केको बताए । ‘मुख्य इनार आरसीसी ढलान गरिएको छ,’ उनले भने, ‘त्यो भत्कने/चर्कने कुरै आउँदैन ।

बाहिरी भाग मात्र चर्केको हो ।’ योजनामा गत वर्ष ९ लाख रुपैयाँ बेरुजु निस्केको थियो । क्रमागत योजनाअन्तर्गत बाँकी काम गर्न गाउँपालिकाले ९० र प्रदेश सरकारले ९० लाख रुपैयाँ यस आर्थिक वर्षमा विनियोजन गरी टेन्डर गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले बताए । ‘इनार चर्केको भन्ने सुनेको छु,’ उनले भने,‘हेर्न भ्याएको छैन ।’

माडी नदी किनारमा जरुवा खनेर लिफ्ट प्रविधिमार्फत पानी तान्न लागिएको छ । योजनाको लागत ३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । चारवटा छुट्टाछुट्टै स्थानमा पम्प हाउस निर्माण गर्ने भनिएको छ । पानी संकलन गर्न १ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना छ । पछिल्ला ठेकेदारले काम अझै सुरु गरेका छैनन् । यसले गर्दा करोडौंको योजना अलपत्र अवस्थामा छ ।

आगामी दुई वर्षभित्र योजना सक्ने लक्ष्य राखिएको वलीले बताए । योजनाबाट साबिक हंसपुर गाविसका ४ हजार बढी स्थानीय लाभान्वित हुनेछन् । दुई वर्षभित्र पालिकाभर नै खानेपानीको पहुँच पुर्‍याउने नीति तथा कार्यक्रमअनुसार योजना अगाडि बढाइएको प्रशासकीय अधिकृत वलीले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्