कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वन क्षेत्र सहकारीलाई दान

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकास्थित किसान सामुदायिक वन, ढोढरी बेलवा चोकको जग्गा मानव कल्याण तथा बचत ऋण सहकारी संस्थालाई दानमा दिइएको छ । सरकारी वनको जग्गा दानमा पाएपछि संस्थाले यहाँ ७ वटा सटर र ३ वटा पक्की कोठा निर्माण गरेको छ ।

गुलरिया–कोठियाघाट र भुरीगाउँ जोडने उक्त चोकसँग जोडिएको किसान सामुदायिक वनले गैरकानुनी रूपमा निर्णय गरी संस्थालाई उक्त जग्गा दान दिएको हो । १५ वर्षअघिसम्म जंगल क्षेत्र रहेको चोकमा अहिले करिब दुई दर्जन पसल निर्माण भई सञ्चालनमा छन् । लिखित रूपमा दिन नमिलेकाले समूहको निर्णयले सहकारी संस्थालाई पक्की घर निर्माण गरी सञ्चालन गर्न दिएको किसान सामुदायिक वनका अध्यक्ष सीताराम थारूले बताए ।


एउटा सटर भाडाबापत २ हजार र कोठाबापत ८ सयदेखि १ हजार रुपैयाँसम्म भाडा उठाउँदै आएको सहकारीका अध्यक्ष अशोक सिग्देलले बताए । किसान सामुदायिक वन ०६१ सालमा हस्तान्तरण भएको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त वनको केही जग्गामा मुक्त कमैया पनि बस्दै आएका छन् । गैरकानुनी रूपमा यसरी सरकारी सम्पत्ति दान दिनु र त्यसमा जथाभावी संरचना बनाएकामा नियमनकर्ताले कुनै कारबाही प्रक्रिया अघि बढाएको पाइँदैन । सहकारी संस्थालाई दान दिएको हो वा बिक्री गरेको हो, त्यो थप खोजीको विषय भएको स्थानीयले बताए ।


संरचना निर्माण भएको जग्गा ०.६ हेक्टर रहेको वन कार्यालयले जनाएको छ । यस क्षेत्रमा अहिले बजार विस्तार भइसकेको छ । ‘समूहको सल्लाहअनुसार सहकारी संस्थाका लागि दान दिए पनि कानुनी रूपमा त्यसो गर्न मिल्दैन,’ किसान सामुदायिक वनका अध्यक्ष थारूले भने, ‘समूहको निर्णयले दिएका छौं, सटरको भाडा सहकारी संस्थाले उठाउँदै आफ्नो खातामा जम्मा गर्ने गरेको छ ।’


वन मासेर धमाधम संरचना

यसै गरी, सोही चोकमा रहेको रामनगर सामुदायिक वन मासेर पसलदेखि रेडक्रस भवन, उपशाखा चौकी, सुस्त मनस्थिति आवास, टहरा, होटललगायत पक्की संरचना निर्माण गरिएका छन् । वन मासेर धमाधम भौतिक संरचना निर्माण गरिएको वन कार्यालयले जनाएको छ । ०५९ सालमा वन कार्यालयले उक्त सामुदायिक वन हस्तान्तरण गरेको थियो ।


स्थानीय धनीराम थारूले एक दशकअघिसम्म घना जंगल रहेको उक्त सामुदायिक वन मासेर संरचना निर्माण भएपछि वन क्षेत्र उजाड भएको बताए । वेलवा चोकमा रहेको वन मासेर बनाइएका संरचनामा पछि ढोढरी बजार व्यवस्था समिति पनि गठन गरिएको छ । वन क्षेत्रको यहाँ ०.२५ हेक्टर क्षेत्रफलमा गैरकानुनी रूपमा भौतिक संरचना निर्माण भएको सहायक वन अधिकृत एवं सूचना अधिकारी द्रोण शर्माले बताए ।


बेलवा चोकदेखि कोठियाघाट सडक खण्ड अन्तर्गत वन क्षेत्रमा पर्ने गमक्का, ओराली बजार, कोठियाघाटमा थुप्रै कच्ची र पक्की संरचना र बजार निर्माण भएका छन् । वन क्षेत्रमा घर टहरा निर्माण भएपछि गैरकानुनी रूपमा विद्युत् लाइन, खानेपानी, सडकलगायतका संरचना निर्माण भएका छन् । वन कार्यालयका प्रमुख हरिप्रताप श्रेष्ठले वन ऐनविपरीत निर्माण गरिएका संरचना हटाउने बताए ।

प्रकाशित : असार ३, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?