मानसरोवर जाने यात्रु बढे

रूपा गहतराज

नेपालगन्ज — कैलाश मानसरोवर तीर्थयात्राका लागि जाने पर्यटकसँगै नेपालगन्ज विमानस्थलमा यात्रुको चाप बढेको छ । नेपालगन्जबाट हुम्ला हुँदै त्यहाँ जाने तीर्थयात्रीका कारण विमानस्थल व्यस्त बन्दै गएको हो । त्यसैगरी मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई पनि भ्याईनभ्याई छ ।

तीर्थयात्री ओसार्नका लागि नेपालगन्ज विमानस्थलमा ताराका २, सीताका २, सिम्रिकका २ र नेपाल वायु सेवा निगमको १ जहाजले दैनिक २० उडान भर्ने गरेका छन् । त्यस्तै सिमकोट विमानस्थलमा सिम्रिक, डाइनास्टी, फिस्टेल, माउन्टेन एयरले हेलिकप्टर राखेका छन् । सिमकोटबाट १५ मिनेटको उडानपछि हिल्सा र त्यसपछि चीनको ताक्लाकोट हुँदै मानसरोवर पुग्न सकिन्छ ।

मानसरोवर जानेमा बढी भारतीय तीर्थयात्री छन् । तीर्थयात्री बढेसँगै नेपालगन्ज–सिमकोट दैनिक २० वटासम्म उडान हुने गरेका छन् । भारतीय तीर्थयात्रीले मानसरोवरलाई वर्षौंदेखि आस्थाको केन्द्र मान्दै आएका छन् । नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक ३ सयदेखि ४ सय जनासम्म भारतीय तीर्थयात्री नेपालगन्जबाट सिमकोट पुग्ने गरेका छन् । ‘यात्रुको चापका कारण नेपालगन्जमा जहाज थप्ने तयारी भएको छ,’ उनले भने ।

वैशाख पहिलो सातादेखि असोजसम्म भारतीय तीर्थयात्री कैलाश मानसरोवर यात्राका लागि जाने गरेका छन् । तर, यस पटक भारतमा लोकसभा चुनावका कारण तीर्थयात्रु नेपालगन्ज आइपुग्न ढिलाइ भएको हो । यहाँबाट दैनिक २०/२२ उडान भर्ने गरेको नेपालगन्ज नागरिक उड्डयन कार्यालय कन्ट्रोल टावरका उपप्रबन्धक विष्णु अधिकारीले बताए । ‘मौसम तथा आवश्यकताअनुसार उडान भर्ने गर्छौं,ठ्याक्कै यति उडान हुन्छ भन्ने एकिन हुँदैन,’ उनले भने, ‘एउटा उडानमा १५ देखि १७ जनायात्रुलाई यात्रा गराइन्छ ।’

नेपालगन्ज–सिमकोट जहाजमा जाने तीर्थयात्री तिब्बत सीमा हिल्सासम्म हेलिकप्टर प्रयोग गरी जाने गरेका छन् । हिल्साबाट भने चिनियाँ सवारी साधन प्रयोग गरी कैलाश मानसरोवर पुग्ने गरेका छन् ।

गत वर्ष करिब १० हजार बढी पर्यटकले कैलाश दर्शन गरिसकेका छन । भूकम्पपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेपछि कैलाश जाने सबै तीर्थयात्री नेपालगन्ज–सिमकोट–हिल्सा रुटबाट जान थालेका हुन् । यो ठाउँ समुद्री सतहबाट झन्डै ६ हजार ५ सय मिटरको उचाइमा रहेको छ ।

मानसरोवर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । पछिल्लो समयमा नेपालीहरू पनि मानसरोवरयात्रामा जान थालेका छन् ।

होटल भरिभराउ
कैलाश मानसरोवरका लागि नेपालगन्जलाई ट्रान्जिट बनाउने भारतीय पर्यटकका कारण यहाँका होटल अहिले भरिभराउ छन् । पछिल्ला वर्षमा पर्यटकको संख्या बढ्दै गएपछि स्तरीय होटल पनि थपिंदै गएका छन् । बाँकेमा दर्जन बढी स्तरीय होटलसँगै ३ हजार होटल रहेका छन् । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १ हजार ५ सय होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

मानसरोवरका लागि आउने अधिकांश पर्यटकको बास स्तरीय होटलमा हुने गरेको छ । नेपालगन्जमा होटल सोल्टी वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजा पर्यटक बस्ने स्तरीय होटल हुन् । यद्यपि, स्तरीय होटलमा हुने चापका कारण मध्यमस्तरका होटलले समेत मानसरोवरका यात्री पाइरहेको अध्यक्ष कँडेलले सुनाए ।

गत वर्ष मात्रै करिब १० हजार भारतीय पर्यटक नेपालगन्जबाट हुम्लाको सिमिकोट हुँदै मानसरोवर गएको कँडेलले बताए । ‘यस वर्ष आगामी साउनसम्म २० हजार भारतीय पर्यटक नेपालगन्जलाई ट्रान्जिट बनाएर मानसरोवार पुग्ने अनुमान गरेका छौं,’ कँडेलले भने । भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्गबाट काठमाडौं र त्यसपछि नेपालगन्ज आउने गरेका छन् । त्यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगन्ज नाकाबाट समेत हजारौं पर्यटक भित्रिने गरेका छन् ।

तिब्बती मार्ग नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गइरहेकाले संख्या बढ्दै जान थालेको हो । ‘मानसरोवर जाने तीर्थयात्रुले होटल भरिभराउ छन्,’ होटल सिद्धार्थका सञ्चालक केशव न्यौपानेले भने, ‘पर्यटकको बाक्लो उपस्थितिले यहाँको होटल क्षेत्र उत्साहित छ ।’

प्रकाशित : असार ३, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

१६ वर्षमा बिहे गर्न माग गर्दै धर्ना

रूपा गहतराज

नेपालगन्ज — नेपालको कानुनले २० वर्षमुनिको विवाहलाई गैरकानुनी मानेको छ । तर आइतबार बाँकेका मधेसी समुदायका महिलाले १६ वर्षमा छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा दिनभर धर्ना दिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटेर उनीहरूले मागपत्र नै पेस गरे । 

धर्नामा सरिक तीन छोरीकी आमा जानकी गाउँपालिका–१ की सुनीता खटिकले आफ्नो समुदायमा छोरीहरू विवाहबारे बोल्न लजाउने गरेको बताइन् । ‘हामीले १६ वर्षमै घरबाट छोरीको बिहे गर्न पाऊँ भनी सरकारसँग माग राख्न आएका हौं,’ उनले भनिन् ।

३० वर्षमा ६ सन्तानकी आमा भइसकेकी कोहलपुर–१४ की तारादेवी खटिकले आफ्नी १६ वर्षकी छोरीको बिहे गर्ने तयारीमा रहेको सुनाइन् । ५ छोरी र १ छोराकी आमा उनले उमेरमा छोरीको विवाह नभए पछि गर्न समस्या हुने बताइन् । ‘मेरो विवाह १० वर्षकै उमेरमा भएको थियो । छोरीको १६ वर्षमा पनि हुन सकेन भने केटा पाउन मुस्किल हुन्छ,’ उनले भनिन् । आफ्नो समुदायमा छोरी उमेर बढेसँगै विवाहका लागि अभिभावकलाई समस्या झेल्नुपर्ने बाध्यता हुने उनले बताइन् ।

‘म त १६ वर्षीया छोरीको विवाह वर्षापछि गर्ने तयारीमा छु,’ कोहलपुर–१४ की केसरानी खटिकले भनिन्, ‘राम्रो कुरा आएको छ । कानुनसानुन भनेर कुर्न सक्दिनँ ।’ धर्नामा सानै उमेरमा विवाह गरेका किशोरी आमाहरूको बाहुल्य थियो । कानुनविपरीत भए पनि उनीहरू १६ वर्ष पुगेका आफ्ना छोरीको विवाह गर्ने कुरा खुलेर गरिरहेका थिए । धेरैजसो आमाको एकै भनाइ थियो, ‘२० वर्षसम्म छोरीलाई घरमा कसरी राख्ने ? भागेर गई भने कसरी इज्जत जोगाउने ?’

आफ्नै उमेरसमेत बताउन नसक्ने कोहलपुर–१४ की मुनख्खा खटिकका दुई छोरी छन् । जेठी छोरीको १८ वर्षमा विवाह भयो । उनी अहिले गर्भवती छन् । ‘भोलि छोरीले आफैं बिहे गरी भनी कसरी इज्जत जागाउने ?’ उनले भनिन्, ‘हाम्रो त हुक्कापानी नै बन्द हुन्छ । बदनाम हुन्छ ।’

मधेसी समुदायमा छोरीले मन पराएर बिहे गरेमा वा अन्तरजातीय बिहे गरेमा राम्रो मानिँदैन । उनीहरूका लागि यो बडो लाजको विषय बन्ने गरेको छ । जिल्लामा मधेसी समुदायको बाहुल्य रहेका जानकी, नरैनापुर, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा बालविवाह बढी हुने गरेको छ ।

बालविवाह रोक्न बाँकेमा प्रहरी सक्रिय छ । त्यस्तो विवाहको सुइँको पाउनेबित्तिकै प्रहरीले पक्राउ गर्छ । समातिने डरले कतिपय अभिभावकले सीमापारि भारतमा लगेर छोरीको विवाह गरिदिने गरेका छन् । कतिपयले भारतीय नागरिकलाई नै छोरी दिने गरेका छन् । उमेर बढाएर विवाह गरिदिनेहरू पनि यहाँ उत्तिकै छन् ।

नागरिक समाजका अगुवा रामदेव मिश्रले गत जेठ १५ मा बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर विवाहको उमेर हद बढाउन माग गरेका थिए ।

‘छोरीको विवाहको उमेर २० वर्ष कायम गर्दा समाजमा विकृति फैलिने डर लाग्यो,’ उनले भने, ‘आमाबाबुको सहमतिमा १६ देखि १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था मिलाइपाऊँ भनी प्रजिअमार्फत सरकारसँग माग गरेको हुँ तर मेरो माग सम्बोधन भएन ।’ त्यसैले अहिले महिलाहरू नै सडकमा उत्रिएको उनले बताए । ‘अब त सरकारले कुरा सुन्छ होला नि,’ उनले भने । प्रमुख जिल्ला अधिकारी भुजेलले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाइसकेको उनले बताए ।

प्रकाशित : असार २, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्