वडाध्यक्षले पिट्ने धम्की दिएको सदस्यको गुनासो

मधु शाही

बाँके — नेपालगन्ज उपमहानगर–८ की दलित महिला सदस्य निर्मला धोबीले वडाध्यक्ष सुरेन्द्र गुप्ताले आफूलाई कुटपिट गर्न खोजेको आरोप लगाएकी छन् । दुवैबीच लामो समयदेखि विवाद छ । 

चैत १४ गते वडा कार्यालयमा बजेट आवश्यकता अनुसार खर्च गर्न सुझाव दिँदा गुप्ता रिसाएका हुन् । त्यसपछि उनले अश्लील शब्द प्रयोग गर्दै ‘तँलाई वडा कार्यालयभित्रै पिट्छु र हातखुट्टा भाँचिदिन्छु’ भनी हातपात गर्न खोजेको उनले बताइन् । धोबीले आफूलाई सुरक्षा र गुप्तालाई कारबाही माग्दै जिल्ला प्रशासनमा उजुरी गरेकी छन् ।

नगरप्रमुख धवलशमशेर राणासँग पनि गुनासो गरेकी थिइन् । तर, राणाले समेत ‘मिलेर काम गर्नुस्, मुद्दा मामिलामा जानुभयो भने अर्को पटक पार्टीबाट टिकट पाउनुहुन्न’ भन्दै हतास पारेको उनको गुनासो छ । ‘लडाइँ, झगडा नगर्नुस् बहिनी, मिलेर काम गर्नुहोस् भनेर सम्झाए,’ उनले भनिन्, ‘ममाथि हात उठाएको विषय सामान्य बनाए ।’

कार्यालयमा भएको अनियमिततामाथि प्रश्न उठाउँदा अध्यक्षबाटै असुरक्षित हुनुपरेको निर्मलाको गुनासो छ । उनका अनुसार भ्रमणका लागि छुट्याइएको एक लाख रुपैयाँमा त्रिभुवन चोकमा पानीको फ्रिज राख्ने सहमति भयो । माइन्युटमा हस्ताक्षरसमेत भयो । तर दुई वर्ष बित्दा पनि समिति गठन गरिएको छैन । धेरैपटक योजना र कार्यक्रममा सहभागी नै नगराई धम्कीपूर्वक हस्ताक्षर गराउने गरेको उनले बताइन् ।

वडाध्यक्ष गुप्ताले सामान्य भनाभन भएको भन्दै कुटपिट गर्न खोजेको आरोप झूटो रहेको दाबी गरे । ‘मैले कुट्न खोजें भन्ने तपार्इंसँग के प्रमाण छ ?’ उनले भने, ‘सत्य कुरा बुझेर लेख्नुस् । उसले काम नै केही गर्दैन ।’

उपमहानगर प्रमुख राणाले यस विषयमा खासै प्रतिक्रिया दिन चाहेनन् । दुवै जना राप्रपाका भएकाले ‘घरको झगडा घरमै मिलाउँ’ भन्दै सुझाव दिएको बताए । उपमेयर एवं न्यायिक समिति संयोजक उमा थापाले निर्मलाले मौखिक रूपमा गुनासो राखेको बताइन् ।
सुशासन समितिमा निवेदन दिन आग्रह गर्दा प्रमुख राणाले राजनीतिक झगडा भएकाले मैले नै सुल्झाउँछु भनेको उनले जनाइन् । ‘लिखित निवेदन नआउँदासम्म प्रक्रिया अगाडि बढाउन सकिँदैन,’ उनले भनिन्, ‘मेयरले मैले नै सुल्झाउँछु भनेपछि मैले हस्तक्षेप गरिनँ ।’ उनका अनुसार वडामा महिला सदस्यमाथि हुने अपमानका थुप्रै मौखिक गुनासा छन् । लिखित निवेदन दिने आँट नगर्दा समस्या विधिवत रूपमा सुल्झाउन जटिल हुने उनले सुनाइन् । ‘गुनासा आउँछन् । लिखित निवेदन दिन मान्दैनन्,’ उनले भनिन्, ‘यहाँ महिला जनप्रतिनिधि नै अपमान सहेर बस्न बाध्य छन् ।’

प्रकाशित : असार ३, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

रोजाइमा सरकारी अस्पतालको प्रयोगशाला

स्वास्थ्य मन्त्रालयले विश्वकै उत्कृष्ट उपकरण पठाएकाले विश्वसनीयता बढेको छ
जितेन्द्र साह

विराटनगर — चिकित्सकले कुनै पनि परीक्षण लेखेमा मञ्जुदेवी गोइतको छनोटमा विराटनगरस्थित कोसी अञ्चल अस्पतालकै प्रयोगशाला पर्छ । कम शुल्क, बढी सुविधा, सहज पहुँच र छरितो सेवाका कारणले आफू एवं छरछिमेक यहाँ आउने गरेको उनले बताइन् । 

छिमेकी ललिता यादवलाई जचाउनलाई मञ्जुदेवी अस्पताल आएकी थिइन् । विभिन्न थरिका आधा दर्जनभन्दा बढी परीक्षण गराउँदा १ हजार ४ सय रुपैयाँको हाराहारी मात्र शुल्क लागेको उनले बताइन् । मञ्जुको अनुसार निजी क्लिनिक, नर्सिङ होम र अस्पतालको ल्याबमा यसको ठ्याक्कै तेब्बर शुल्क लाग्थ्यो ।

‘सरकारी अस्पतालमा भिड हुनु स्वाभाविक भए पनि ल्याब रिपोर्टका लागि कुरिरहनु पर्दैन,’ उनले भनिन्, ‘बिहान रगत, दिसापिसाब र खकारको नमुना दिएपछि दिउँसो दुई बजेसम्म वा भोलि बिहान रिपोर्ट हातमा पर्छ ।’

महानगर विराटनगरबासी मात्र नभएर वरिपरिका गाउँका नागरिकको रोजाइमा यही अस्पतालकै प्रयोगशाला पर्छ । यो अस्पतालको वरिपरिकै ल्याबभन्दा आधुनिक मेसिन र दक्ष जनशक्ति भएको थाहा पाएर यही परीक्षण गराएको सुनसरीको बर्जु गाउँपालिका चिमडी बस्तीका ३५ वर्षीय सागर पालले बताए । उनी आमा ५० वर्षीया ललिता र बहिनी २२ वर्षीया सुशीलालाई जचाउन आएका थिए ।

‘छिमेकी विहारका वरिष्ठ चिकित्सकहरूले यो अस्पतालको रिपोर्टलाई विश्वसनीय मान्छन,’ उनले भने, ‘प्राइवेट ल्याबको रिपोर्ट लिएर गयो भने दोहोर्‍याएर परीक्षण गर्न लगाउँछन् ।’ पेसाले होटेल प्रबन्धक पालका अनुसार सेवा शुल्क पनि राहत दिने खालको छ । ‘बाहिरको ल्याबको तुलनामा आधीभन्दा बढी रकम जोगिन्छ, त्यो बचतले औषधि किन्न पैसा पुग्छ,’ पालले भने, ‘यहाँको सबै ठूला अस्पतालको ल्याब हेरेको छु, यो प्रयोगशालाको जस्तो उपकरण र प्रशिक्षित प्राविधिक निजीमा पनि छैन ।’

१ सय २९ वर्ष पुरानो यस अस्पतालको यो प्रयोगशालाको यो पाँच वर्षको अवधिमा काँचुली फेरिएको हो । थपिएको आधुनिक यन्त्रसँगै सेवा विस्तार, दक्ष जनशक्ति, स्तरीय र विश्वसनीय रिपोर्टका कारणले यो सम्भव भएको उक्त प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले बताए । ‘पहिला दुई/चार कोठामा काम गर्थ्यौं, अहिले अस्पतालको मेडिकल वार्डको माथिल्लो तल्लामा प्रयोगशाला विभाग नै छ,’ उनले भने, ‘सरकार, अस्पताल विकास समिति र नागरिक समाजको सकारात्मक सोच एवं सहयोगले यहाँसम्म आइपुग्यौं ।’

चिकित्सकलाई तुरुन्तै देखाउनु पर्ने खाले रोगको रिपोर्ट भएमा तत्कालै उपलब्ध गराइरहेको उनले जनाए । नसा नभेटिने र रगत नतानिने बिरामीको रगत नमुना संकलनका लागि सबैभन्दा अनुभवी जनशक्ति यो प्रयोगशालामा रहेको यादवले बताए ।

तीमध्ये अढाइ दसकदेखि कार्यरत ५३ वर्षीय डिल्लीराम सापकोटालाई अस्पतालले रगत तान्ने विज्ञ मानेको छ । उनले दैनिक औषत ६० सेवाग्राहीको नसाबाट रगत तान्छन् । ‘नसा भेटाउन र रगत तान्न कठिन हुने बालबालिका, वृद्ध तथा बढी तौलका सेवाग्राहीबाट म नमुना संकलन गर्छु,’ उनले भने, ‘लामो समयदेखि यही मात्र काम गरेको हुनाले अनुभवकै आधारमा छामेर नसा भेटाउँछु, बिरामी हेरेरै कसरी तान्दा रगत आउँछ भन्ने थाहा पाउँछु, अहिलेसम्म सेवाग्राहीलाई पीडा हुनेखाले कुनै त्रुटि भएको छैन ।’

सापकोटाले पनि नसकेमा आफू र उपल्ला अधिकारीले स्वयं रगतको नमुना संकलन गर्ने प्रयोगशालाका वरिष्ठ निरीक्षक ललित चौधरीले बताए । ‘यहाँ आएपछि सकिएन भनेर सेवाग्राहीलाई फर्काउँदैनौं,’ उनले भने, ‘यो प्रयोगशालामा कार्यरतले रगत तान्न सकेन भने प्रदेश १ मा कतैकाले पनि सक्दैनन् ।’

विश्व स्वास्थ्य संगठन, डब्लुएचओको रोग प्रतिरोधक औषधीको घटदो असर सम्बन्धी कार्यक्रम (डब्लुएचओ–एएमआर एक्टिभिटी) मा समेत कोसी अञ्चलको प्रयोगशाला आबद्ध छ । आधारभूतदेखि क्यान्सर रोग ठम्याउने परीक्षण समेत हुने गरेको प्रयोगशाला प्रमुख यादवले बताए । ‘पूर्ण कल्चर, हार्मोन, सीडी ४, एचबीए१सी एवं क्यान्सर मार्करलगायतका रगत परीक्षण यहाँ हुन्छ,’ उनले भने ।

यादवको अनुसार यहाँको प्रयोगशालामा दिनहुँ औषत २ सय ५० देखि ३ सय सेवाग्राही आउँछन् । अस्पतालमा दैनिक आउने सेवाग्राहीको यो झन्डै २५ प्रतिशत हो । यहाँ हरेक दिन औषत एक हजार सेवाग्राही आउँछन् । आवश्यकता अनुरुप सरकारले बजेट, आधुनिक उपकरण र दक्ष एवं उत्कृष्ट जनशक्ति उपलब्ध गराएकाले प्रयोगशालामा २४ सै घण्टा सेवा दिन सकेको उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रोशन पोखरेलले बताए ।

‘कुनै बेला दुई/चार वटा कोठामा सञ्चालित यहाँको ल्याबमा ९ वटा युनिट छ,’ उनले भने, ‘रोग अनुरुप छुट्टयाइएका ती युनिटको नेतृत्व विज्ञ जनशक्तिले गरिरहेका छन् ।’ प्रयोगशालाका निरीक्षक शेखर मिश्रका अनुसार यहाँ पाँच वर्ष अगाडि दुई वटा मात्र परीक्षण यन्त्र थियो, अहिले १७ वटा अत्याधुनिक स्वचालित यन्त्र छन ।

‘स्वास्थ्य मन्त्रालयले विश्वकै उत्कृष्ट उपकरण उपलब्ध गराएको हुनाले कम जनशक्तिमा पनि प्रभावकारी सेवा दिन सकेका हौं,’ उनले भने । उक्त प्रयोगशालामा पाँच वर्ष अगाडि १६ प्राविधिक कर्मचारी र ८ सहयोगी थिए भने अहिले २० प्राविधिक र ९ सहयोगी छन् ।

प्रकाशित : असार ३, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्