३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नयाँ प्रविधिले कृषक उत्साहित

सन्जु पौडेल

(रूपन्देही) — परम्परागत खेतीमा निर्भर देवदह–९, घोडाहाका किसानले नौलो प्रविधिको प्रयोग गरी कृषि गर्न थालेका छन्  । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र नवलपरासीअन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम पाएपछि कृषकले प्रविधियुक्त खेती गर्न थालेका हुन्  ।

उनीहरूले दुई स्थानमा ठूलो आकारमा हाइटेक टनेल निर्माणसँगै सिंचाइका लागि ४ स्थानमा स्यालो टयुबेल जडान गरी नौलो प्रविधियुक्त खेती गरेका छन् ।

परम्परागत खेती पद्धति, सिँचाइ तथा अन्य प्राविधिक ज्ञानको अभावले उत्पादनमा वृद्धि आउन सकेको थिएन । प्रदेश सरकारले पहिलोपटक सुरुआत गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमले किसानमा जागरण पैदा गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको योजनाअनुसार आफूहरू आधुनिक टनेल निर्माण गरी कृषि कर्ममा लागेको देवदह स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका सदस्य–सचिव विष्णुप्रसाद पाण्डेले बताए । ‘यो प्रक्रियाले सहज बनाएको छ,’ उनले भने, ‘यसले किसानमा परिवर्तनको लहर देखा परेको छ ।’ परम्परागत खेती गर्ने किसान प्रविधिमा अभ्यस्त हुँदै गएको पनि उनले बताए ।

पहिलोपटक प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेको स्मार्ट कृषि गाउँमा अहिले किसान आधुनिक प्रविधिको प्रयोगदेखि लिएर विभिन्न उपकरणको प्रयोगबाट उत्पादकत्व वृद्धिमा लागेका छन् ।

प्रदेश सरकारले ५० लाख र स्थानीय कृषक समूह र कृषकको १० लाख गरी ६० लाख रुपैयाँको लागतमा संचालित स्मार्ट कृषि गाउँमा विभिन्न कार्यक्रम जारी रहेका छन् । स्मार्ट कृषि गाउँअन्तर्गत सूचना केन्द्र निर्माण गरिएको छ । जहाँ किसानले आवश्यक परेको बेला आफूलाई चाहिने सूचनासमेत प्राप्त गर्न सक्नेछन् । केन्द्रमा इमेल, इन्टरनेटसहित प्रिन्टर जडान गरिएको छ । यस्तै संकलन केन्द्र तथा कस्टम हाइरिङ सेन्टर पनि स्थापना गरिएको छ ।

देवदह स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका संयोजक पीताम्बर खरालले १ सय ५ जना किसान व्यावसायिक रूपमा कृषिमा लागेको बताए । उनका अनुसार कृषि गाउँले किसानलाई कृषिमै आकर्षित गरेको छ । ‘गाउँमा करेला, भिन्डी, खुर्सानी, फर्सीलगायत दैनिक उपभोग्य वस्तु उत्पादन भएको छ,’ उनले भने, ‘किसानको आम्दानीको स्रोतसमेत बलियो भएको छ ।’ टनेल निर्माण गरी कृषि कर्म गर्दा अन्यभन्दा दोब्बर आम्दानी हुने भएकाले स्मार्ट कृषि गाउँको दुई स्थानमा टेनल खेतीलाई अगाडि बढाइएको उनको भनाइ छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले किसानमा प्रविधिको सिकाइ र विस्तारमा यस्तो प्रकृतिको कार्यक्रमले सहयोग हुने जानकारी दिए । ‘प्रदेशका ५२ वटा स्थानमा स्मार्ट कृषि गाउँ कार्यान्वयनमा छन् र थप २४ गाउँपालिकामा यो विस्तार हुँदैछ,’ उनले भने, ‘यसको प्रभाव सकारात्मक देखिएको छ ।’

प्रदेश सरकारले स्मार्ट कृषि गाउँमा सहजीकरणका लागि बीएस्सी एजी, आईएस्सी एजी अध्ययन गरेका विद्यार्थीलाई परिचालन गरेको छ । ती विद्यार्थीले आफूले सिकेका सीप पूर्ण रूपमा किसानका खेतमा प्रयोग गर्न सल्लाह दिनेछन् । उनीहरूले खेती नै गरेर किसानलाई नमुनाका रूपमा देखाउने छन् । किसानले सोही प्रक्रियाबाट नयाँ प्रविधिको प्रयोग गरी अगाडि बढेमा कम लागतमा बढी प्रतिफल प्राप्त गर्ने अपेक्षा मन्त्रालयले गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताए ।

यसरी उत्पादित कृषि उपज किसानले कृषि उपज संकलन केन्द्र तथा कस्टम हाइरिङ सेन्टरमा लगेर जम्मा गर्छन् । त्यहाँबाट व्यापारीले उचित मूल्य निर्धारण गरी कृषिजन्य उपज लैजाने गर्छन् ।

प्रकाशित : असार ४, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?