घसियारन टोलमा संयुक्त शौचालय

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका–८ को घसियारन टोल । एकै लाइनमा घरहरू छन् । साँघुरो गल्लीमा २० घर छन् । घाँस काटनेहरूको संख्या धेरै भएपछि टोलको नाम नै घसियारन रहेको स्थानीय बताउँछन् । घाँस बेचेर गुजारा गर्ने उनीहरू अहिले घाँस बेचेर शौचालय जानका लागि खर्च जुटाउँदै छन् । 

नेपालगन्ज उपमहानगरपालिकाले घसियारनलाई लक्षित गरेर एकपटकमा ६ जनासम्म जान मिल्ने सार्वजनिक शौचालय बनाइदिएको छ । २० घरका सयभन्दा बढीले शुल्क तिरेर तिनै शौचालय प्रयोग गर्छन् । सार्वजनिक शौचालयमा परिवार संख्या हेरेर नभई चुलो गनेर मासिक शुल्क लिने गरिन्छ । संयुक्त परिवारमा बस्दै गरेका छोरा छुट्टिए भने थप शुल्क तिर्नुपर्छ ।


नेपालगन्ज–८ का घसियारनहरू नगरभित्रका विपन्नमा पर्छन् । टोलका कसैका घरमा शौचालय छैन । वडामा सार्वजनिक शौचालय बनेपछि त्यो प्रयोग गरेबापत उनीहरूले महिनाको १ सय ५० रुपैयाँ तिर्नुपर्ने भएको हो । टोलका नाममा शौचालय बनाइए पनि उनीहरूलाई शुल्क तिरेर शौचालय जानुपर्ने बाध्यता छ । शौचालयमा फोहोर पानी भरिने समस्या भने उस्तै छ । गुड्डी घसियारनको ८ जनाको परिवारले एउटै कोठामा गुजारा चलाइरहेको छ । ‘घाँस खोज्न दिनभर लाग्छ,’ उनले भनिन्, ‘बल्लतल्ल कमाएको पैसा खानै ठिक्क छ । कसरी शौचालय बनाउने ?’


३० वर्षीया आशा केवटको ६ जनाको परिवार घसियारन टोलमा बस्छ । राति र बिहान उनलाई निकै सकस पर्छ । ‘कहिलेकाहीँ पालोले हैरान गराउँछन्,’ उनले भनिन्, ‘एउटै परिवारमा धेरै छौं । अनि, कसरी छिटो पालो आओस् ।’ घाँस बेच्नु उनीहरूको पुर्ख्यौली पेसा हो । नेपालगन्ज–८ मा उनीहरू जस्ता घाँस काटेर जीविकोपार्जन गर्ने झन्डै २० घर छन् ।


नेपालगन्ज उपमहानगरपालिकाले घसियारनसँग शौच गरेको पैसा नलिएको जनाएको छ । तर, नगरपालिकाले पैसा नउठाए पनि वडा कार्यालयले शौचालय सरसफाइका लागि खर्च गर्न एक घरबाट मासिक १ सय ५० रुपैयाँ लिने गरेको जनाएको छ । वडा ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ताले टोल र शौचालयको सरसफाइका लागि पैसा उठाएको बताए ।


‘सरसफाइका लागि एक जना स्विपरलाई खटाएका छौं, उसलाई मासिक पारिश्रमिक दिन एक घरबाट डेढ सय रुपैयाँ उठाउँछौं,’ उनले भने, ‘त्यो रकम उनीहरूको सरसफाइका लागि नै खर्च हुन्छ । वडाले लिंदैन ।’

प्रकाशित : असार ५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?