कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जताततै सडक

 बढैयाताल गाउँपालिकाले सडक कालोपत्रेको कामलाई बढी प्राथमिकता दिएको छ । जिल्लाको सबैभन्दा बढी कालोपत्रे गर्ने लक्ष्य छ ।
ठाकुरसिंह थारू

बर्दिया — बढैयाताल गाउँपालिकाले आगामी फागुनभित्र २५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम थालेको छ । गाउँपालिकाले जिल्लामै सबैभन्दा बढी कालोपत्रे गर्न थालेको हो । त्यसका लागि ग्राभेलको काम तीव्र गतिमा भइरहेको छ । चालु आर्थिक वर्षबाटै काम सुरु गरिएको छ ।

जताततै सडक

प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट डेढ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठले गाउँपालिकाका भित्री सडक कालोपत्रे गर्ने बताए । ‘२५ किलोमिटर भित्री सडक कालोपत्रे गर्ने लक्ष्य छ । त्यसको सबै तयारी भइसकेको छ,’ उनले भने, ‘पहिलो प्राथमिकता सडकलाई पारेका छौं । सडकले आउजाउमा सहजता हुन्छ र विकासमा सहयोग पुग्छ ।’


पालिकाको भोलागौडीदेखि पर्यटकीय क्षेत्र बढैयाताल, जमुनी, सिमरा क्षेत्रमा तीव्रताका साथ सडक निर्माण भइरहेको छ । मैनापोखरदेखि बाँसगढी जाने सडकमा पनि कालोपत्रेको काम भइरहेको छ । राजमार्गबाहेक सबै सडक ग्राभेल छन् । जिल्लाका भित्री सडकमा कालोपत्रे देख्न पाइँदैन ।


तर, स्थानीय सरकार आएसँगै सडक कालोपत्रेको काम सुरु भएको छ । बढैयाताल गाउँपालिकाले सडक कालोपत्रेको कामलाई सबैभन्दा बढी प्राथमिकतामा पारेको छ । उसले जिल्लाको सबैभन्दा बढी सडक कालोपत्रे गर्ने लक्ष्य राखेको हो ।


बाँसगढी नगरपालिकाले चालु आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । नगरपालिकाको रिंगरोडलाई पहिलो प्राथमिकतामा राखिएको छ । विकट मानिने चेपाङमा नयाँ ट्र्याक खोलिएको छ । नगरपालिका भए पनि यहाँका सडक अझै पनि धुलाम्मे छन् ।


‘यस वर्ष १० किलोमिटर सडक पक्की गर्दै छौं । प्रदेशबाट केही बजेट छ,’ बाँसगढी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अमरराज खत्रीले भने, ‘क्रमगत रूपमा सडक कालोपत्रे गर्दै लैजाने लक्ष्य छ ।’ ठाकुरबाबा नगरपालिकाले चालु आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । त्यसका लागि सडकको कामले तीव्रता पाएको छ ।


बर्दिया राष्ट्रिय निकुञ्ज यही पालिकाभित्र पर्छ । त्यसैले यहाँको विकासमा बढी जोड दिइएको हो । विश्वभरका पर्यटक आउने भएका कारणले पनि सडकलाई बढी प्राथमिकतामा पारिएको छ । निमित्त कार्यकारी प्रमुख रामहरि रिजालले कालोपत्रेबाहेक अन्य सडक मर्मत भइरहेको बताए ।


मधुवन नगरपालिकाले साढे ५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । आर्थिक शाखा प्रमुख रामबहादुर थापाका अनुसार चालु आर्थिक वर्षभित्र सक्ने गरी काम सुरु गरिएको छ । गेरुवा गाउँपालिकाले करिब ३ किलोमिटर सकड कालोपत्रे गर्दै छ । राजापुर नगरपालिकाले चालु आर्थिक वर्षमा ३ किलोमिटर सडक पक्की गर्दै छ । इन्जिनियर रमेश भण्डारीका अनुसार पहिलो चरणमा प्रमुख सडक कालोपत्रे हुन थालेका हुन् । त्यस्तै क्रमगत रूपमा कालोपत्रेको कामलाई निरन्तरता दिइएको छ ।


गुलरिया नगरपालिकाले पनि सडक निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ । नगरपालिकाभित्र गुलरिया–नेपालगन्ज सडकलाई चार लेन बनाइँदै छ । चार लेनका कारण सयौं पक्की घर भत्काइएका छन् । त्यस्तै विभिन्न टोलमा पनि सडकको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : असार ५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?