कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदुवा उत्पादन थोरै, माग धेरै

वीरेन्द्र केसी

अर्घाखाँची — छत्रकोट गाउँपालिका–३ का विष्णुप्रसाद पन्तसहित ७ जना युवाले ५ वर्षअघि १२ रोपनी जग्गा भाडामा लिएर अदुवा खेती सुरु गरे । अदुवा तराई र भारत निर्यात हुन्थ्यो । कृषक उत्साहित भएर धेरैले अदुवा खेती विस्तार गरे । उत्पादन धेरै भयो । तर, माग र मूल्यको उचारचढावले कृषक नै अलमलमा परे ।

‘व्यावसायिक रूपमा खेती गर्न कपुरकोट एक र बोसे अदुवा लगायौं, सुरुआत गरेको अर्को वर्षबाट अदुवा भारतमा निर्यात भएन, बारीमै थन्कियो,’ पन्तले भने, ‘धेरैले उत्पादन नै गर्न छाडे ।’ प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री भएन । उत्पादन धेरै हुँदा बिक्री नै नभएपछि किसान विस्थापित भए । अहिले उत्पादन छैन । तर, माग बढेको छ ।


पन्तसहितको सक्रियतामा खुलेको अदुवा सहकारीमा ९८ किसान छन् । ‘हामीले भाडामा लिएर सुरुआत गरेको खेतीमा लगानी डुब्यो,’ उनले भने, ‘छिटफुट अदुवा उत्पादन भएको छ । तर, भाउ उच्च छ ।’ अहिले प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री भएको उनले बताए । ४ वर्षसम्म बिक्री नै नभएर बारीमै अदुवा कुहिँदा लगानी डुबेका किसानले उत्पादन गर्नै छोडेपछि अहिले मूल्य बढ्यो तर उत्पादन नभएको उनले बताए । हर्दिनेटाकी विमला केसीले डेढ रोपनी बारीमा खेती गरिन् । उतिबेला बिक्री भएन, अहिले घरमै अदुवा छ भन्दै खोज्दै आउने गरेको उनले बताइन् ।


४ वर्षसम्म बिक्री नहुँदा व्यावसायिक रूपमा खेती गरेका कृषक विस्थापित हुनु परेको कृषि प्रसार अधिकृत शिव बन्जाडेले बताए । गुल्मीको छत्रकोट, रुरु, सत्यवती र दरबार देवीस्थान गाउँपालिका र रेसुंगा नगरपालिकाका अतिरिक्त हर्दिनेटा, दिगाम, हुँगा गाउँमा अदुवा धेरै उत्पादन हुन्छ । भारतमा निर्यात बन्द भएपछि कृषक विस्थापित हुनुपरेको बन्जाडेले बताए ।


अर्घाखाँचीमा पनि उस्तै

अर्घाखाँचीका शीतगंगा, सिद्धारा, ठाडा, जलुके, जुकेनाका धेरैजसो कृषकले अदुवा खेती गर्छन् । तर, बिक्री नहुँदा व्यावसायिक उत्पादन कम छ ।


ठाडाका नारायण बेल्वासले ठाडामा संकलन भई कृष्णनगर हुँदै भारत जाने अदुवा त्यसतर्फ जान बन्द भएपछि अदुवा खेती गर्ने किसानले विकल्प खोज्नु परेको बताए । भारतले नेपालको अदुवा रोकिदिएपछि त्यसको असर सीधै कृषकलाई परेको छ । ‘अदुवाको बजार भारतमै निर्भर रहँदा यहाँ फस्टाउन सकेन,’ उनले भने, ‘नेपाल सरकारले अदुवालाई व्यवस्थित गर्न नसक्दा समस्या छ ।’ छत्रदेव र पाणिनिमा पनि खेती हुन्छ ।


कृषि प्रचार अधिकृत थीरलाल गैरेले मूल्य र बिक्रीमा भएको उतारचढावले कृषकलाई खेती गर्ने कि नगर्ने भन्ने दोधारमा पारेको बताए । ‘अदुवाका लागि उर्वरभूमि छन्, कृषकले जति पनि उत्पादन गर्न सक्छन्,’ उनले भने, ‘तर, बजार नपाउँदा उत्पादनमा ब्रेक लागेको छ ।’


अदुवा भारतमा बिक्री नभए पनि स्वदेशमै खपत गर्ने र अदुवाको सुठोलगायत परिकार बनाउनेतर्फ संघ, प्रदेश र स्थानीय सरकारको ध्यान नपुगेको उनले गुनासो गरे ।

प्रकाशित : असार ६, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?