१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बजेटप्रति असन्तुष्टि

सत्तापक्ष र प्रतिपक्षका प्रदेशसभा सांसदले नै बजेट वितरणमा समावेशी र सन्तुलित नभएको आरोप लगाएका छन् ।
घनश्याम गौतम

रूपन्देही — प्रदेश सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि बिहीबारदेखि प्रदेशसभा बैठकमा सैद्धान्तिक छलफल सुरु भएको छ । पहिलो दिनको बैठकमा बोल्ने सत्तापक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यले नै बजेट वितरणमा असन्तुष्टि जनाएका छन् । 

बजेटप्रति असन्तुष्टि

बजेटमाथिको पहिलो दिनको छलफलमा प्रतिपक्षका ५ सहित १२ प्रदेशसभा सदस्यले बोलेका छन् । बजेटको विषयमा सत्तापक्षकै प्रदेशसभा सदस्य पनि असन्तुष्ट देखिए । सत्तापक्षका ४ जनामध्ये २ जनाले बजेट समावेशी र सन्तुलित हुन नसकेको बताए । कांग्रेसका ५ जनाले नै विरोध गरे । संघीय समाजवादी फोरमका २ र राजपाका १ जनाले पनि बजेट सन्तुलित नभई पहुँचकै आधारमा तयार गरिएको आरोप लगाए । सत्ता पक्षका दुई जनाले बजेटको बचाउ गरे ।


प्रदेश सरकारले ‘समृद्ध प्रदेश खुसी जनता’ नारा गतवर्षदेखि नै अघि सारेको छ । बैठकमा बोल्ने प्रतिपक्षका सदस्यले आगामी वर्षको बजेटले ‘समृद्ध नेकपा, खुसी कार्यकर्ता’ बनाउने बताए । कांग्रेसका सदस्य वीरबहादुर रानाले बजेट लोकतन्त्रको मर्म र संघीयता बलियो गराउने गरी नआएको बताए ।


‘लोकतन्त्र पहुँचमा आधारित शासन विधि होइन,’ उनले भने, ‘तर बजेट त्यस्तै प्रकृतिको छ ।’ बजेटले नेकपाका नेताको पहुँच जहाँ छ, त्यहीं केन्द्रित भएको उनले बताए । तर पनि बजेट जस्तो भए पनि कार्यान्वयनमा सफल होस् भन्ने प्रतिपक्षको मान्यता रहेको र शुभकामना दिएको उनले बताए ।


कांग्रेसकै सदस्य अर्जुनकुमार श्रेष्ठले बजेटको आकार हेर्दा सरकारको समृद्ध प्रदेशको नारालाई उल्टो रूपमा व्याख्या गरेको बताए । ‘बजेटले समृद्ध प्रदेश होइन, समृद्ध नेकपा बनाउने देखिन्छ,’ उनले भने, ‘त्यसले खुसी जनताको स्थानमा खुसी कार्यकर्ता पक्कै बनाउनेछ ।’ बजेटप्रति सत्तापक्षकै सदस्य दामाकुमारी शर्माले बजेटले सशक्तीकरणका कार्यक्रम र बजेटमा संशोधन गर्नु जरुरी रहेको बताइन् ।


‘जनआन्दोलनका घाइतेलाई सम्बोधन गरेको बजेटले जनयुद्धका घाइतेलाई अपमान गरेको छ,’ उनले भनिन्, ‘त्यसलाई संशोधन गर्नु जरुरी छ ।’ शिक्षामा भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनमा पनि बजेटले पर्याप्त सम्बोधन नगरेको उनले बताइन् । सत्तापक्षकै सदस्य सरस्वती गौतमले बजेट उत्कृष्ट रहेको भन्दै समर्थन जनाइन् । अर्का सदस्य दिनेश पन्थीले बजेट समाजवादउन्मुख हुन नसकेको बताए । उनले ८४ वर्ष उमेर पुगेकालाई घरमै गएर सेवा दिने कार्यक्रम उत्कृष्ट भए पनि त्यसलाई ८० वर्ष कायम गर्न आग्रह गरे ।


मुख्यमन्त्री शंकर पोखरेलले आइतबार आगामी वर्षका लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट फ्रस्तुत गरेका थिए । त्यसमा ४ अर्ब ५९ करोड ४० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य छ । बजेटले टुत्रे योजनालाई निरुत्साहित गर्दै पुराना योजना सम्पन्न गर्ने र नयाँ योजना पनि तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरेको छ । बजेटमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयवस्तुको जवाफ दिंदै पोखरेलले गत वर्षको भन्दा बजेट तुलनात्मक रूपले सन्तुलित बनाउने प्रयास गरेको बताए ।


‘शतप्रतिशत नहुन पनि सक्छ,’ उनले भने, ‘सक्दो प्रयास गरेका छौं ।’ बजेटले सबै क्षेत्र, वर्ग र समुदायलाई न्याय गरेको उनले बताए । उनले चालु वर्षको खर्च पनि सन्तोषजनक नै रहेको बताए । उनले बैठकमा बजेटसँग सम्बन्धित विनियोजन विधेयक पनि पेस गरेका छन् । विधेयकमाथि शुक्रबारको बैठकमा छलफल हुने नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

प्रकाशित : असार ६, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?