१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गर्मीले आँखा रोगी बढे

गर्मी मौसममा आँखाको एलर्जी, भाइरल र ब्याक्टेरियल इन्फेक्सन र सुक्खापनको समस्या
सन्जु पौडेल

(रूपन्देही) — तिलोत्तमाका पृथक थापा एक सातादेखि आँखा रातो हुने र दुख्ने समस्याले पिरोलिएका छन् । निको हुन्छ कि भनेर केही दिन घरमै बसे । आँखाको दुखाइ झन् बढ्यो । कचेरा जमेर बिहान उठ्दा बन्द हुन थाले । त्यसपछि उनलाई आँखा परीक्षणका लागि अस्पताल लगियो । चिकित्सकले उनको आँखामा कीटाणु संक्रमण भएको बताए । त्यसअघि उनका भाइलाई पनि आँखामा समस्या भएको थियो । 

गर्मीले आँखा रोगी बढे

चिकित्सकका अनुसार भाइको संक्रमण पृथकलाई सरेको हो । कक्षा ६ मा पढ्ने पृथकलाई आँखाले दु:ख दिइरहेको छ । गर्मी बढेसंगै रुपन्देही र आसपास आँखाका रोगी बढेका छन् । चिसो मौसममा फाटफुट देखापर्ने संक्रमण गर्मीमा बढने गरेको चिकित्सकले बताए ।


यहाँका अस्पतालमा दैनिक ५० देखि १ सय जना मौसमी आँखा रोगी आउने गरेका छन् । गर्मी मौसममा आँखाको एलर्जी, भाइरल र ब्याक्टेरियल इन्फेक्सन र सुक्खापनको समस्या देखिने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थाका वरिष्ठ दृष्टि विशेषज्ञ रमेशचन्द्र गिरीले बताए ।


‘यो मौसममा सुक्खा हावा, धुलो, घाम आदिले समस्या निम्त्याउँछ,’ उनले भने, ‘आँखा पोल्ने, बिझाउने, दुख्ने लक्षण आँखामा केही समस्या हुन लागेको संकेत हो ।’ उनका अनुसार यी समस्या एकपटक मात्र देखापर्ने हुंदैनन् । प्रत्येक सिजनमा यस्ता समस्या आउँछन् । जाडोमा केही कमी आउने भएपनि गर्मीमा अली बढी देखापर्छ ।


चिकित्सक गीरीका अनुसार गर्मीमा आँखाको आँसुमा पानी कम हुँदा सुक्खा हुन्छ । त्यसले समस्या देखापर्छ । त्यस्तै एउटै रुमालको प्रयोग र पसिना आदिले समेत आँखामा असर पार्दछ । यस्ता समस्याबाट जोगिन घामबाट बच्ने, सन ग्लासको प्रयोग, टोपीको प्रयोग, बिहान–साँझ चिसो पानीले आँखा धुने र समस्या भएमा नजिकको उपचार केन्द्रमा परीक्षण गराउन उनले सुझाव दिए ।


दृष्टिदोष बढ्दै

चिकित्सकका अनुसार बालबालिकामा पछिल्लो समय नजिकको दृष्टिदोषको समस्या बढेको छ । नजिकबाट स्पष्ट देखे पनि टाढाबाट धमिलो देखिनुलाई अदूरदृष्टि (दृष्टिदोष) भनिन्छ ।


चिकित्सकीय भाषामा यसलाई मायोपिया भनिन्छ । मुलुकमा अहिले १० देखि २० प्रतिशत बालबालिकामा यस्तो समस्या देखापरेको चिकित्सकले बताए । केहीमा जन्मजात मायोपियो समस्या हुनसक्छ । कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय बिताउने बालबालिकामा यस्तो समस्या हुन्छ । उमेर बढ्दै जाँदा आँखाको दृष्टि कम हुनसक्ने चिकित्सक गिरीले बताए । साना बालबालिकाले विद्यालयमा बोर्डमा लेखिएको कुरा प्रष्ट नदेख्दा, नजिकैबाट टिभी या मोबाइल हेर्दा, आँखामा धमिलोपन आएमा या आँखा चिम्सो पारेर हेर्ने गर्दा यस्तो समस्या आउन सक्छ । उमेर बढेसंगै यो समस्या बढ्दै जान सक्ने भएकाले समयमै चिकित्सकलाई जाँच गराउन आवश्यक हुने चिकित्सकले बताए । यस्तो समस्याबाट बच्न चस्मा लगाउन सकिन्छ । चश्माले राम्ररी आंखा देख्न सक्छन् ।


कन्ट्र्याक्ट लेन्स, र लेजर अप्रेसन पनि अन्य उपाय भएको गिरीले बताए । बच्चा ८ वर्षको भएदेखि आँखाको दृष्टि दोषको उपचार गर्न सकेको खण्डमा समस्या हल हुने उनले बताए ।

प्रकाशित : असार ७, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?