कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाईपालन र कृषि कर्ममा रमाएका युवा

सन्जु पौडेल

रूपन्देही — स्वदेशमा केही गर्न सकिएन भनेर बिदेसिएका सैनामैनाका युवा विदेशबाट फर्किएपछि गाईपालनमा रमाएका छन् । नेपालमा भारतले गरेको नाकाबन्दीका बेला भारतबाट आएको खाद्यलगायत बस्तुमा परनिर्भरता देखेका उनीहरूले यो अन्त्यका लागि आफूहरूले पनि केही गर्नुपर्ने महसुस गरेर गाईपालनमा लागेको बताए । 

गाईपालन र कृषि कर्ममा रमाएका युवा

नाकाबन्दीका बेला भारतबाट इन्धनलगायत बस्तु नआउने तर बिग्रिहाल्ने/सडने गोलभेंडा र माछाजस्ता बस्तु सजिलै आएको देखेपछि उनीहरूले स्वदेश फर्केर कृषि र पशुपालनमा केही गर्नुपर्छ भन्ने अठोट लिएका थिए । बहराइनमा रहेका सैनामैना–६ भरतपुर टोलका यादव भट्टराई र ठगप्रसाद गैरेले दुबईमा रहेका साथीसँग फोनमा गफ गर्दा स्वदेश फर्किएर केही गर्नेबारे छलफल गरे ।


उक्त छलफलले भरतपुर टोलमै बिक्रीमा रहेको गतिशील पशुपालन तथा कृषि अनुसन्धान केन्द्र उनीहरूले खरिद गरे । उनीहरूसँगै खेमप्रसाद रेग्मी, तोयानाथ गैरे, गुरुप्रसाद पंगेनी, गोपाल पंगेनी र श्यामप्रसाद गैरेले १ करोड रुपैयाँ लगानी गरी व्यावसायिक पशुपालन र कृषि गर्न उनीहरू स्वदेश फर्किने भए ।


४० लाख रुपैयाँ बैना पठाएर केही महिना विक्रेतालाई नै फार्म संचालन गरिदिन आग्रह गरी ०७४ सालमा यादव र ठगप्रसाद स्वदेश फर्किए । सात जनाले लगानी गरे पनि व्यवस्थापन र संचालनको जिम्मा भने यादव र ठगप्रसादले लिए ।


उनीहरूले सम्हाल्दा गोठमा ७ वटा माउ गाई र १२ वटा बाच्छी थिए । त्यो संख्या अहिले ५० माउ र ६५ बाच्छीमा परिणत भएको छ । फार्ममा होलस्टेन, अमेरिकन र इटालियन जर्सी जातका २५ वटा दुहुना गाई छन् । फार्मबाट दैनिक २ सय लिटर दुध बिक्री हुने प्रबन्धक ठगप्रसाद गैरेले बताए । ‘एक वर्षमा करिब ३० लाख रुपैयाँको दूधमात्रै बिक्री गर्छौं,’ उनले भने, ‘विदेशको दुःखभन्दा यो कमाइ दोब्बर छ ।’


रामापुर मावि सैनामैनाको ८ बिघा जग्गा लिजमा लिएर सुरु गरिएको फार्ममा उनीहरूले यस वर्षदेखि तरकारी खेती पनि सुरु गरेका छन् । सिजनेबल तरकारी खेतीले समेत व्यवसायमा थप ऊर्जा थपेको छ । अर्को वर्षसम्म दुई बिघा जमिनमा व्यावसायिक रूपमै अर्गानिक तरकारी खेती र बाँकी जग्गामा घाँस खेती गर्ने योजना उनीहरूको छ ।


गाईबाट सन्तान उत्पादनका लागि उन्नत नश्लको गोरु पनि फार्ममै पालेका छन् । यसलाई स्तरोन्नति गर्दै दूध संकलन र चिस्यान केन्द्रसहित गाईको संख्या १ हजार पुर्‍याएर गोबर ग्यास प्लान्टसमेत संचालन गरी देशकै नमुना फार्म बनाउने लक्ष्य रहेको संचालक भट्टराईले बताए । ‘कृषि र पशुपालनमा बिचौलियाका कारण किसान र उपभोक्ता मर्कामा परेका छन्,’ उनले भने, ‘सरकारले बिचौलियाको अन्त्य गरी देशका युवालाई देशमै रोजगार र उत्पादित बस्तुको उचित बजार प्रवर्द्धन गर्नुपर्छ ।’


उनले आफूहरूले उत्पादन गरेको दूध गोठबाट ४५ रुपैयाँमा बिक्री गर्ने गरे पनि उपभोक्ताले ८० रुपैयाँ तिरेर किन्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । जाडो याममा दूधको बढी उत्पादन हुँदा बजारको समस्या आउने गरेकाले दुग्ध विकास संस्थानले दूध खरिद गर्ने व्यवस्था गर्नुपर्ने भट्टराईले सुझाए । ‘सरकारी निकायबाट प्राविधिक सहयोग र उत्पादनमा आधारित अनुदानको व्यवस्था भएमा कृषि र पशुपालनमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिनेछ,’ उनले भने ।


विदेशबाट फर्केका युवाले संचालन गरेको व्यावसायिक गाई फार्मको सफलताले सिंगो नगरपालिकाका युवालाई प्रेरणा मिलेको सैनामैना नगरपालिका–६ का वडाध्यक्ष वसन्त पाण्डेले बताए । ‘सामूहिक लगानीमा गरिएको नगरपालिकाकै यो ठूलो गाई फार्म हो,’ उनले भने ।


नगरपालिकाले नगरभित्रका पशुपालन फार्मको गोठ सुधारका लागि एक लाख रुपैयाँ, तरकारी खेतीका लागि निःशुल्क तालिम र बीउ अनुदान दिने गरेको पाण्डेले बताए ।

प्रकाशित : असार ८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?