कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

टुक्रे योजनामा छरियो बजेट

माधव अर्याल

रिब्दीकोट, पाल्पा — रिब्दीकोट गाउँपालिकाले ४० शीर्षकका टुक्रे योजनामा बजेट छरेको छ । नीति कार्यक्रममा महत्त्वपूर्ण काम गर्ने प्रतिबद्धता जनाइए पनि ठूला योजनालाई बेवास्ता गरिएको छ । वडामा जाने एकमुष्ट बजेटबाहेक सबैमा टुक्रे योजनालाई नै जोड दिइएको हो । 

रिब्दीकोट रिङरोडलाई ७ लाख, सातवटा मुख्य मोटरबाटोका लागि ४३ लाख, वडा भवन निर्माणमा १५ लाख, सभाहलका लागि ६ लाख, कृषिमा प्रोत्साहन गर्न ८ लाख, उत्पादनमा आधारित अनुदान विस्तार गर्न २५ लाख विनियोजन गरिएको छ ।


त्यसैगरी भैंसी, पाडापाडी, बंगुरपालनका लागि ४० लाख, अन्य कृषि तथा पशुपालनका लागि ५ लाख थप बजेट छुट्ट्याइएको छ । कृषि उपज संकलन केन्द्रका लागि ६ लाख विनियोजन गरेको छ, जबकि गाउँपालिकाको देउरालीमा लाखौं खर्चेर बनाइएको संकलन केन्द्र प्रयोगविहीन छ ।


कृषि र पशुपालन यन्त्रीकरणका लागि १५ लाख, खरका छाना हटाउन १४ लाख, एक घर एक धाराका लागि बजेट विनियोजन गरिए पनि तोकिएको छैन ।


लिफटिङ खानेपानी म्याचिङ गर्न ५० लाख, जलेश्वर क्षेत्रको खानेपानीलाई ३ लाख, सांस्कृतिक महोत्सव (भैरवस्थान) का लागि ४ लाख, ज्येष्ठ नागरिक दिवा विश्रामस्थलका लागि १० लाख, परमानन्द बालवृद्ध संघलाई ३ लाख, जातीय विभेद अन्त्य गर्न ५ लाख, एकल महिलाको सशक्तीकरणका लागि ५ लाख, बालविवाह न्यूनीकरण र लक्षित समुदायका लागि ८ लाख बजेट विनियोजन गरेको छ ।


टिमुर, तेजपात, अम्रिसो प्रवर्द्धन गर्न ७ लाख, एक वडा बहुपोखरी निर्माण गर्न ४ लाख, कुमाल समुदायको दिवा खाजाका लागि ७ लाख ५० हजार, विद्यालयमा शिक्षा सामग्री निर्माण तथा गुणस्तर सुधार्न ५ लाख, विद्यालय शिक्षालाई मापदण्डमा आधारित सहयोगका लागि ३० लाख छुट्ट्याइएको छ । स्वास्थ्यसँग सम्बन्धित सहयोगका लागि १० लाख, सुगर, युरिक एसिड परीक्षण सेवाका लागि ६ लाख, मुटुरोग, क्यान्सरजस्ता रोगका लागि प्रतिव्यक्ति ६ हजार सहयोग दिने नीति छ ।


युवाका लागि ८ लाख, खेलकुदका लागि १३ लाख, वातावरणका लागि ३ लाख, विपद् जोखिम न्यूनीकरणका लागि ५ लाख, रिब्दीकोट पर्यटन वर्षका रूपमा मनाउन ८ लाख बजेट छुट्ट्याइएको छ । आवधिक योजनाका लागि १५ लाख, विभिन्न पूर्वाधार डीपीआर तयार गर्न १२ लाख, सहकारीका लागि ३ लाख, प्रविधिमैत्री गाउँपालिकाका लागि ४ लाख ७६ हजार बजेट विनियोजन गरेको छ ।


आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४८ करोड ८२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आन्तरिक आम्दानीका रूपमा संविधानको अनुसूची ८ को एकल अधिकारका क्षेत्रका शीर्षकहरूबाट ४६ लाख ८० हजार, विद्युत् रोयल्टी ५३ लाख १२ हजार, खानी रोयल्टी १६ लाख ५ हजार आम्दानी हुने उपाध्यक्ष लक्ष्मी खनालले बताइन् । चालु आर्थिक वर्षमा भने ती सबै कार्यक्रमबाट जेठ मसान्तसम्म ४२ करोड ८८ लाख ७७ हजार बजेट प्राप्त भएको थियो । जेष्ठ मसान्तसम्म ३४ करोड ८८ लाख ६ हजार खर्च भएको छ ।


चालु खर्च ७८ दशमलव ७९ र पुँजीगततर्फ ८३ दशमलव ४५ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए । ‘पुँजीगत बजेट खर्चमा सुधार ल्याउन र विकास निर्माणमा गुणस्तर कायम गर्न जेठ मसान्तपश्चात भुक्तानी नदिने नीतिअनुरूप वडाअन्तर्गतको विकास खर्च भुक्तानी गर्ने कार्य लगभग सकिएको छ,’ उनले भने, ‘संघीय र प्रदेश सरकारको बजेट अख्तियारी ढिलो प्राप्त भएकाले कतिपय ठूला योजना भने सम्पन्न हुन बाँकी छन् ।’ गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीका अनुसार ‘आफ्नो वडा आफैं बनाउँ’ अभियानअन्तर्गत ८ वडाका लागि ५ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रकाशित : असार ९, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?