सदाबहार एकलैनी बजार

रूपा गहतराज

नेपालगन्ज — एकै लाइनमा जोडिएका पसल । पाइलैपिच्छे फरक–फरक सामान । कस्मेटिक, चुरा, कपडादेखि जुत्ता र चप्पलका पसल एक लहरमा छन् । साँघुरो गल्लीभित्र बजार छ । पुरानो बजारको इतिहास नेपालगन्जको स्थापनासित जोडिएको छ । त्यहाँ सस्ता र राम्रा सामान उपलब्ध छन् ।

सदाबहार एकलैनी बजार

किनमेल गर्नेको ताँती लाग्छ । यहाँका सदरलाइन, त्रिभुवन चोक, बीपी चोक, धम्बोजी चोक, घरबारी टोल तथा सुर्खेत रोडलाई प्रमुख बजार मानिन्छ । तर, एकलैनी बजार सबैको रोजाइमा परेको छ ।


एकलैनीमा कस्मेटिक र खाद्यान्नका सामान पाइन्छन् । यसलाई यहाँ गृहिणीको बजार पनि भनिन्छ । किनमेलका लागि भीड लाग्ने भएकाले यहाँका व्यापारीलाई फुर्सद हुँदैन । चाडबाडका बेला पाइला सार्ने ठाउँ हुँदैन । स्थानीय आशिष निगमले २० वर्षदेखि पसल चलाइरहेका छन् ।


यस बजारमा कस्मेटिकका सामानको किनबेच धेरै हुने उनले बताए । ‘पहिलेको तुलनामा अहिले सौन्दर्भ प्रसाधनका सामग्रीको प्रयोग बढेको देखिन्छ,’ उनले भने, ‘एकलैनीमा सबैभन्दा बढी कस्मेटिककै पसल छन् ।’ कस्मेटिक पसल सञ्चालक अनु सिद्दिकीले पसल बढदै गएपछि व्यापारमा प्रतिस्पर्धा पनि तीव्र भइरहेको बताए । बजार बढ्दै गएपछि व्यापारीले पसल पनि बढाएका छन् । स्थानीय अजिज अहमद सिद्दिकीले ३० वर्षदेखि एकलैनीमा जुत्ता–चप्पलको पसल चलाइरहेका छन् । ‘सुरुमा २० वटाजति थिए,’ उनले भने, ‘अहिले २ सयभन्दा बढी पसल थपिएका छन् ।’


एकलैनी बजारमा १ सयदेखि २ हजार रुपैयाँभन्दा बढीका जुत्ता–चप्पल पाइने उनले बताए । ‘सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनीको मार्केट चलिरहेको छ,’ उनले भने । जुत्ता पसलमा भेटिएकी नेपालगन्ज–१० की रस्मिता पौडेलले सस्तो र राम्रो सामान पाइने भएकाले यहाँ आउने गरेको बताइन् । ‘त्यही समान बाहिर किन्दा महँगो पर्छ,’ उनले भनिन्, ‘एकलैनीमा कम दाममा राम्रो सामान पाइन्छ ।’


स्थानीय बलराम हेमकारले सल्यान, रुकुम, रोल्पा, दैलेख, सुर्खेतलगायत जिल्लाबाट ठूलो संख्यामा सर्वसाधारण किनमेल गर्न आउने गरेको सम्झिन्छन् । ‘सबैभन्दा बढी लत्ताकपडा, खानेकुरा अनि घरका लागि आवश्यक सामान एकलैनीमा पाइन्थ्यो,’ उनले भने, ‘पहाडबाट आएका मानिसले नुन र लत्ताकपडा केही वर्षलाई पुग्ने गरी लैजान्थे ।’


यसरी सामान किन्न आउनेलाई स्थानीयले हटारु भन्थे । नेपालगन्जका व्यापारीले हटारुलाई बस्ने व्यवस्था मिलाएका हुन्थे । पूर्व–पश्चिम राजमार्ग बनेपछि नेपालगन्ज प्रमुख व्यापारिक केन्द्र बन्यो । थोक सामान बिक्रीका लागि व्यापारिक हब बन्यो ।

प्रकाशित : असार ९, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?