१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

प्रदेश ब्युरो

बुटवल — अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनको व्यवस्थाबमोजिम प्रदेश ५ का अधिकांश स्थानीय तहले मंगलबार नगर/गाउँसभामा बजेट प्रस्तुत गरेका छन् । धेरै तहले नीति, कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका छन् ।

दिउँसो नीति, कार्यक्रम प्रस्तुत गरिएपछि केही स्थानीय तहले साँझ अबेरसम्म बजेट प्रस्तुत गरेका थिए । मंगलबार चन्द समूहको बन्दका कारण जनप्रतिनिधि र सर्वसाधारण जुट्न समय लागेकाले पहाडी जिल्लामा ढिलो भएको हो ।


उक्त ऐनको दफा २१ ले प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान सम्बन्धित सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार केही स्थानीय तहले यसअघि बजेट प्रस्तुत गरिसकेका थिए । केहीले एक साताभित्र प्रस्तुत गर्ने जनाएका छन् ।


रूपन्देहीका १६ स्थानीय तहमध्ये ५ ले मंगलबार बजेट सार्वजनिक गरे । तिनले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । बुटवल उपमहानगरसहित तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थ नगरले बजेट सार्वजनिक गरेका छन् । अन्यले गाउँ तथा नगरसभामा नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।


बुटवलले आर्थिक वर्ष ०७६/७७ का लागि १ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । पुँजीगततर्फ ७७ करोड ९८ लाख रुपैयाँ रहेको छ । यो बजेट गत वर्षभन्दा ३५ करोड रुपैयाँ बढी हो । बुटवल उपमहानगरले यस आवका लागि १ अर्ब ६६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।


आसपासका स्थानीय तह जोडेर मेगा सिटी बनाउने योजनासहित बजेटमा आधारभूत सहरी पूर्वाधारलाई प्राथमिकता दिइएको छ । शिक्षा, जनस्वास्थ्य, खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई जोड दिइएको छ । पर्यटन, कृषि, उद्योग, वाणिज्य, सहकारी, श्रम तथा रोजगारी त्यसपछि छन् ।


सामाजिक विकास र सामाजिक सुरक्षातर्फ २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट महिला, बालबालिका, दलित, अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण, मूल प्रवाहीकरण र क्षमता विकास गर्ने नगर उपप्रमुख गुमादेवी आचार्यले बताइन् । तिलोत्तमा नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब ५४ करोड १० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालु वर्षको भन्दा १९ करोड रुपैयाँ बढी हो ।


गत वर्ष १ अर्ब ३५ करोड बजेट विनियोजन भएको थियो । तिलोत्तमाले शिक्षा, कृषि, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिएको छ । किसानलाई उत्पादनमा आधारित अनुदान, पशु बिमा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गर्ने नगर उपप्रमुख जगेश्वरी चौधरीले बताइन् । शिक्षा क्षेत्रमा लगानी बढाई नगर शिक्षाको गुणस्तरमा फड्को मार्ने बजेटको पहिलो प्राथमिकतामा राखिएको छ ।


नगरले पहिलोपटक बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ५ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराउने योजना ल्याएको उपप्रमुख चौधरीले बताइन् । सैनामैना नगरपालिकाले आगामी वर्षका लागि ९० करोड ८५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । यसमध्ये ४६ करोड ७४ लाख पुँजीगत बजेट हो । बजेटमा कृषि भूमिको उपयोग, आधुनिक कृषि प्रविधि र शिक्षालाई उच्च प्राथमिकता दिइएको छ । धेरै बजेट भने पूर्वाधार विकासमा छ ।


अर्थात् ३२ करोड २९ लाख बजेट यसमा छ । यसअन्तर्गत वडाको विकासमा १० करोड ११ लाख पठाउने नगर उपप्रमुख विना रानामगरले बताइन् । देवदह नगरपालिकाले आगामी वर्षका लागि ७५ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । यसमध्ये पुँजीगत बजेट करिब ३५ प्रतिशत छ । नगरले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिंदै आगामी वर्षको नीति कार्यक्रमसमेत मंगलबार नै प्रस्तुत गरेको छ ।


कृषिलाई प्राथमिकता

बाँकेका ८ वटै स्थानीय तहले तोकिएकै समयमा बजेट प्रस्तुत गरेका छन् । अधिकांशले भौतिक पूर्वाधारका कामलाई प्राथमिकतामा पारेका छन् । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई महत्त्व दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि २ अर्ब २८ करोडको बजेट प्रस्तुत गरेको छ ।


नेपालगन्जको रिङरोड, बागेश्वरीनजिकै ७ तलाको सपिङ कम्पलेक्सलगायतका योजनाका लागि संघीय सरकारसँग बजेट माग गर्ने प्रस्ताव गरिएको छ । त्यससँगै विभिन्न भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई पनि प्राथमिकतामा पारिएको छ ।


उपमहानगर प्रमुख धवलशमशेर राणाले महिलाले चलाएका उद्योगलाई करमा विशेष छुट दिने बताए । तर, मानव स्वास्थ्यमा असर पार्ने सुर्ती, मदिरा, प्लास्टिक र इँटाजन्य उद्योगमा भने कर वृद्धि गर्ने नीति अपनाउने भएको छ । उपप्रमुख उमा थापामगरले मंगलबार भेरी प्राविधिक शिक्षालयमा भएको पाँचौं नगरसभामा बजेट प्रस्ताव गरेका हुन् ।


कोहलपुर नगरपालिकाले ८० करोडको बजेट प्रस्ताव गरेको छ । उक्त नगरपालिकाले पनि पूर्वाधारलाई प्राथमिकतामा पारेको हो । त्यस्तै, कोहलपुर नगरपालिकालाई ग्रिन सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । उपप्रमुख सन्जुकुमारी चौधरीले संघीय सरकारबाट ४१ करोड ३७ लाख रुपैयाँ बजेट प्राप्त गर्ने लक्ष्य रहेको बताइन् ।


युवालाई रोजगार

बर्दियामा अधिकांश स्थानीय तहले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । बारबर्दिया नगरपालिकाले ८५ करोड ७७ लाख ७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ ५८ करोड २३ लाख ७ हजार र पुॅजीगततर्फ २२ करोड ९७ लाख ७३ हजार रुपैयाँको पेस गरेको प्रमुख दुर्गाबहादुर थारुले बताए ।


बारबर्दियाले व्यावसायिक कृषिको यान्त्रीकरण गर्दै दुई सय युवालाई रोजगारीको ग्यारेन्टी गर्ने नीति लिएको छ । मधुवन नगरपालिकाले ७३ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कपिलवस्तुका तीन स्थानीय तहले मंगलबार बजेट प्रस्तुत गर्न सकेनन् । मायादेवी, शुद्धोदन र यशोधरा गाउँपालिकाले बजेट सार्वजनिक गरेनन् ।


यशोधराले बुधबार सार्वजनिक गर्ने जनाएको छ । मायादेवी र शुद्धोदनको अझै टुंगो लागेको छैन । मायादेवीले पदाधिकारीबीच आपसी समझदारी हुन नसक्दा र शुद्धोदनले विकास योजनामा धेरै समय दिनु परेकाले नीति कार्यक्रम बनाउन ढिलाइ भएको जनाएका छन् ।


उपप्रमुखद्वारा बहिष्कार

कपिलवस्तु– कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ताले पाँचौं नगरसभा तथा वार्षिक नीति कार्यक्रम बहिष्कार गरेकी छन् । उनी मंगलबार नगरपालिकामा आयोजित कार्यक्रममै गइनन् ।


नगर प्रमुख किरण सिंहले महिलालाई उपेक्षा गरेर नीति कार्यक्रम बनाएकाले बाध्य भएर बहिष्कार गर्न परेको उनले बताइन् । ‘उपप्रमुखसँग कुनै सरसल्लाह छैन,’ उनले भनिन्, ‘निरंकुश र एकलौटी गर्न खोजेका कारण बहिष्कार गरें ।’


आफ्नो गाडी चालकलाई थाहै नदिई प्रमुखले निष्कासन गरेको र महिलालाई हेप्ने काम गरेकाले कार्यक्रम बहिष्कार गरेको उनले सुनाइन् । ‘मेरो कार्यक्षेत्र पनि उनले खोसेर काम गरिरहेका छन्,’ उनले भनिन् । नगरप्रमुख सिंहले भने उपप्रमुख गुप्तालाई ३/४ दिनदेखि खोजी गरिरहेको बताए । ‘कता हराउनुभयो भनेर निकै चिन्तित थिएँ,’ उनले भने, ‘कान्तिपुरमार्फत उहाँ सुरक्षित रहनुभएको थाहा पाएपछि खुसी लाग्यो ।’

प्रकाशित : असार ११, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?