कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मालपोतको काम ठप्प

बुटवल — रूपन्देहीको मर्चवारस्थित मझगावा मालपोत कार्यालयमा २ महिनादेखि घरजग्गा रजिस्ट्रेसनको काम ठप्प छ । मालपोत अधिकृत नहुँदा अन्य कर्मचारीले कार्यालय कुर्ने मात्रै काम गरेका छन् । 

नियमअनुसार घरजग्गा रजिस्ट्रेसन गर्दा एक जना अधिकृतसहित २ जना स्थायी दरबन्दी भएका कर्मचारी आवश्यक पर्छ ।


कार्यालयमा नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहाल मात्र छन् । ‘अधिकृत नभएपछि हामीले रजिस्ट्रेसन गर्न नमिल्ने रहेछ,’ घिमिरेले भनिन्, ‘२ महिनादेखि कुनै पनि घरजग्गा रजिस्ट्रेसन भएको छैन । पहिलेको बाँकी काम पनि रोकिएको छ ।’ अधिकृतको अनुपस्थितिमा कार्यालयले अहिले ठाडो रोक्का गर्ने, श्रेस्ता उतार्ने र फुकुवाको काम मात्रै गरेको छ ।


मझगावा मालपोतबाट यसअघि दैनिक करिब ५० जनाले घरजग्गा रजिस्ट्रेसन गराउने गरेका थिए । अहिले ती सेवाग्राही मर्कामा छन् । ‘यहाँ अधिकृत नभएकाले काम हुन्न भन्छन् । भैरहवाको जिल्ला मालपोत जाँदा लगत श्रेस्ता सबै उतै पठाएको छ । यताबाट हुन्न भन्छन्,’ मझगावा बजारको जग्गा किनेका रामराज यादवले भने, ‘जग्गा किनेको डेढ महिनासम्म पास गराउन पाएको छैन ।’ ३ वर्षअघि स्थापना भएको यो मालपोत कार्यालयमा १७ जना कर्मचारीको स्थायी दरबन्दी छ । तर, अहिले २ स्थायी र ६ जना करारका कर्मचारी कार्यरत छन् । करारका सबै कर्मचारी कार्यालय सहयोगी मात्रै हुन् ।

प्रकाशित : असार १२, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?