१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालिका अपहरणकारी पक्राउ

माधव ढुंगाना

भैरहवा — बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बुटवलबाट एक जनालाई पक्राउ गरेको छ । २ दिनदेखि बन्धक बनाइएकी नाबालिकाको सकुशल उद्धार गरिएको छ । बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बुधबार बिहान बुटवल उपमहानगरपालिका–५ स्थित होटल बुटवल प्लाजा एन्ड रेस्टुरेन्टबाट प्रहरीले नाबालिकाको उद्धार गरेको हो । अपहरणकारी वीरगन्ज महानगरपालिका–२७ का ३७ वर्षीय जयराम दासलाई होटलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । दासले सोमबार साँझ तिलोत्तमा नगरपालिका–१२ की ६ वर्षीया नाबालिकालाई अपहरण गरेका थिए ।


रूपन्देहीका एसपी हृदय थापाले बालिकाकी आमासँग दासले विवाहको प्रस्ताव राखेको र उनले अस्वीकार गरेपछि बदलामा छोरी अपहरण गरेको बताए । ‘अभियुक्तलाई शोधपुछ गर्दा उनले बारम्बार आफूले नाबालिकाकी आमासँग विवाह गर्न खोजेको र नमानेपछि दबाब दिन छोरीलाई नियन्त्रणमा लिएको बताएको छ,’ उनले भने, ‘अपहरणको खबर पाएलगत्तै प्रहरीले खोजी तीव्र पारेको थियो ।’


इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईको नेतृत्वमा प्रहरीको खोजी टोली खटिएको थियो । प्रहरीका अनुसार पानी खाने निहुँमा बालिकाको घरमा आएका दासले बालिकालाई फकाएर केहीबेरमा ल्याइदिने भन्दै लगेका थिए । दास पीडितको घरनजिकै पुल बनाउने कामको पेटी ठेकेदार भई काम गर्ने र उनले गरेको ठेक्काको काममा बालिकाका बुबाआमाले मजदुरी गर्दै आएका थिए ।


धेरै बेरसम्म पनि छोरी नल्याएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । नवलपुरको चोरमारामा रहेको जानकारी गराएका अपहरणकारीलाई प्रहरीले खोजी गर्दा राजमार्ग चौराहा आसपासमा रहेको संकेत पाएपछि त्यसकै आधारमा खोजी गरिएको भट्टराईले बताए ।


‘हामीले जसरी पनि बालिका सुरक्षित उद्धार गर्ने रणनीति साथ सुरक्षा योजना बनाएर खोजी गरेका थियौं,’ उनले भने, ‘त्यही अनुसार सफल पनि भयौं ।’ अपहरणकारी दासमाथि प्रहरीले अपहरण र शरीर बन्धक मुद्दामा कारबाही अघि बढाउने उनले बताए । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १२, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?