१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मुहार फेर्दै राजापुर

कमल पन्थी

बर्दिया — राजापुर–४ का ७० वर्षीय फत्ते थारु ५ वर्ष अघिसम्म सदरमुकाम गुलरिया आउँ/जाउँ गर्दा जोखिमपूर्ण स्टिमर (इन्जिनबाट चल्ने डुंगा) को यात्रा गर्थे । वर्षायाममा एउटै नदीमा पटक डुंगा तर्नुपर्दा झन्झट र खतरा हुन्थ्यो । बिहान घरबाट निस्केपछि साँझ अबेर मात्रै फर्किने गर्थे । 

साबिकका ११ गाबिस रहेको राजापुर टप्पु नदीका कारण दुर्गम थियो । मालसामान बोक्नेदेखि सरकारी अड्डाका काम गर्न पनि डुंगाको भर पर्दा सास्ती हुन्थ्यो । ‘जोखिमपूर्ण यात्रा गर्नुपर्दा कतिखेर प्राण जाने हो ठेगान हुन्थेन,’ फत्तेले भने, ‘ डरले मरि जान्थे ।’ अहिले ती दुःख हराएका छन् । जीवन शैली फेरिएको छ ।


सरर बस चढेर सदरमुकाम आउ–जाउ गर्छन् । अड्डाका काम सकेर बेलैमा घर फर्किन्छन् । उनी जस्तै गेरुवा गाउॅपालिका–३, का ६५ वर्षीय रोशन शर्मा पुल र सडक निर्माण भएपछि सदरमुकामसम्मको दूरी घटेको बताउॅछन् । राजापुर ननगरपािलका र गेरुवा गाउपालिकामा डेढ लाख जनसंख्या रहेको छ । कोठियाघाटमा पुलसँगै हुलाकी सडक स्तरोन्नती भइरहेको छ । त्यसले दुर्गम राजापुर सुगम बनेको छ ।


पहिले कर्णाली र गेरुवा नदीमा पुल नहँदा मालपोत, नापी, विद्युत बिललगायत सरकारी कामका लागि सदरमुकाम धाउनुपर्दा स्थानीय पीडित थिए । राज्यको उपस्थिती प्रायः शून्य भएको महशुस गर्थे । स्वास्थ्य उपचार अभावमा ज्यान गुमाउनुपर्थ्यो । ०४० सालमा बाढीले डुंगा तरिरहेका झण्डै दुई दर्जनको ज्यान गएको थियो ।


अहिले राजापुरमै मालपोत, नापी, इलाका प्रशासन कार्यालय र विद्युत महसुल संकलनका लागि काउण्टर रहेको छ । कोठीयाघाटस्थित कर्णालीको भंगालो गेरुवामा नेपालकै लामो पुल बनेपछि स्थानीयको दैनिकी फेरिन थालेको छ । यो पुल अवलोकन गर्न घुँइचो लाग्ने गरेको छ । व्यापार, व्यवसाय बढेको छ । बैंक तथा वित्तिय संस्था खुलेका छन् ।


पुल बनेपछि राजापुर मुलुकका अन्य भागसित प्रत्यक्ष जोिडएको छ । काठमाडौ, पोखरा, नेपालगन्ज लगायतका ठाउॅमा यहाँबाट बस सञ्चालनमा छन् । अन्न भण्डार मानिने राजापुरमा उत्पादित धान, गहुँ तोरी, मसुरोलगायत खाद्यान्न सहज रूपमा जिल्ला बाहिर बिक्री हुन थालेको छ ।


राजापुरबाट पश्चिम कर्णाली नदीमा कैलाली जोड्ने पुल निर्माण भएको छ । पुल ५ सय २० मिटर लामो छ । कैलालीको टिकापुर जोड्ने पुलसँगै सडक निर्माण हुने क्रममा छ । उद्योग वाणिज्य संघ राजापुरका सचिव केदार थापाले पहिले ढुवानी सहज नहुँदा खाद्यान्न कुहिने गरेको बताउॅछन् ।


‘अहिले खाद्यान्नले उचित मूल्य पाएको छ,’ उनले भने, ‘पुल निर्माणले व्यवसायी समेत उत्साहित भएका छन् ।’ बर्षौदेखिको सास्ती सदाको अन्त्य भएको उनको भनाई छ । सदरमुकामबाट २५ किलोमिटर पश्चिम कोठियाघाटमा निर्माण भएको पुलको लम्वाई १ हजार १५ मिटर र चौडाई ९ मिटर १० सेन्टिमिटर छ । कोठियाघाटदेखि राजापुरसम्म कालोपत्रे भइरहेको छ ।


असारसम्म वेलवा चोकदेखि राजापुरसम्म करिब २५ किमि सडक कालोपत्रे भइसक्ने छ । कालोपत्रे हुनासाथ सदरमुकामको दूरी १ घण्टाको हुनेछ ।


मुलुकमा सशस्त्र द्वन्द्वका क्रममा राजापुरका करिब एक दर्जन व्यवसायी भारत पलायन भएका थिए । ‘अब त्यो स्थिति छैन, सडक र पुलले राजापुरले उद्योग, कलकारखाना बनाउन उद्योगी आउने वातावरण बनेको छ,’ राजापुर नगरपालिकाका मेयर शिव चौधरीले बताए । राजापुरमा औद्योगिक क्षेत्र बनाउन नगरपालिका जग्गाको खोजी गरिरहेको उनले बताए ।


३० वर्षअघिसम्म राजापुर हिमाली र पहाडी जिल्लाको प्रमुख व्यपारिक केन्द्र थियो । पूर्वपश्चिम राजामार्ग निर्माणसँगै अन्यत्र बजार बसेपछि यहाॅको व्यापारिक कारोबार खस्किएको थियो । अहिले पुल र सडकले मुहार फेरिँदै गएको राजापुर ८ का वडा अध्यक्ष रमण रेग्मीले बताए । उनले राजापुर र आसपासका क्षेत्रमा ठुला होटल र होमस्टे निर्माणले आगन्तुकलाई बसोबासको कुनै समस्या नभएको बताउॅछन् ।

प्रकाशित : असार १४, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?