कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

थबाङका २ विद्यार्थीले ल्याए 'ए प्लस’

काशीराम डाँगी

रोल्पा — माध्यमिक विद्यालय शिक्षा (एसईई) परीक्षाको नतिजा अनुसार रोल्पाका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार भएको देखिएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि अधिकांश विद्यालयको शैक्षिक सुधार गरिएकाले परीक्षाको नतिजासमेत सुध्रिएको हो । 

एसईईको परीक्षाको नजिता अनुसार सामुदायिक विद्यालयतर्फ उत्तरी रोल्पाको थबाङस्थित वीर बलभद्र माध्यमिक विद्यालयका दुई विद्यार्थीको नतिजा जिल्लामै उत्कृष्ट आएको छ । विद्यालयका एक छात्र र एक छात्राले ए प्लस अंक ल्याएका छन् । विद्यालयकी छात्रा नेत्रज्योति रोका र छात्र चिरञ्जीवी पुनले उक्त सफलता प्राप्त गरेका हुन् । उनीहरू दुवै प्राविधिक शिक्षाका विद्यार्थी हुन् ।


प्राविधिक शिक्षा लागू गरेको १० वर्षपछि उक्त सफलता प्राप्त गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय घर्तीमगरले बताए । निजीतर्फ सुनिल स्मृति गाउँपालिका–२, खुंग्रीस्थित एक निजी विद्यालयका छात्रले ए प्लस ल्याएका छन् ।


स्थानीयले नमुना बनाउन विद्यालयमा पुर्‍याइरहेको योगदानका कारण सफलता प्राप्त गरेको अध्यक्ष घर्तीमगरले बताए । ‘१० वर्षदेखि विद्यालय सुधार योजना र पठन संस्कारलाई बलियो बनाउन लागेका थियौं,’ उनले भने, ‘ढिलै भएपनि सफलता मिल्यो ।’


एसईईमा यस वर्ष थबाङबाट प्राविधिक र सामान्य गरी ३३ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये ७ जनाले ए, ३ जनाले बी प्लस, ७ जनाले बी, १२ जनाले सी प्लस २ जनाले सी ग्रेड ल्याएका छन् ।


विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेपछिको एसईई परीक्षामा सहभागी भएको यो पहिलो ब्याच हो । उक्त विद्यालयमा कृषि, वनलगायत प्राविधिक विषयको पढाइ हुँदै आएको छ । विद्यालयमा प्राविधिक विषयका सहित कम्तीमा १० जना शिक्षक निजी स्रोतका भरमा नियुक्त गरिएको छ ।


प्राविधिक विषय पढाउने शिक्षकमध्ये मासिक रूपमा एक जनालाई कम्तीमा ५० हजार तलब जुटाउन मुस्किल हुने गरेको अध्यक्ष घर्तीमगरले बताए । थबाङ बाहेक सुलिचौर र राङकोटस्थित विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुन्छ । यस्तै जिल्लाका बडाचौर, जुगार, होलेरी, नुवागाउ, जिनाबाङ, गजुल, घाडोगाउलगायतका विद्यालयले अपेक्षाकृत नतिजा प्राप्त गरेको जनाएका छन् ।


पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकास्थित बराहक्षेत्र मावि बडाचौरबाट तीन जना विद्यार्थीले ग्रेड ए मा एसईई उत्तीर्ण गरेका छन् । प्रधानाध्यापक पूर्णचन्द्रप्रसाद खड्काले अघिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी उत्तीर्ण संख्या बढेको जनाए । विद्यालयबाट एसईईमा ६२ जना सहभागी भएका थिए ।


रोल्पामा सामुदायिक र संस्थागत गरी करिब ४ सय विद्यालय छन् । यहाँबाट एसईई परीक्षामा करिब ४ हजार विद्यार्थी सहभागी थिए । हरेक पालिकाबाट नतिजा प्राप्त हुन समय लाग्ने जिल्ला शिक्षा एकाइ प्रमुख दुर्गाप्रसाद खडकाले बताए ।


दृष्टिविहीन बने उत्कृष्ट

सदरमुकाम लिबाङस्थित बाल कल्याण नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थी लोकेश डाँगीले एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।


विद्यालयका प्रधानाध्यापक मधुसूदन पोखरेलले संगीतप्रेमी विद्यार्थीसमेत रहेका दृष्टिविहीन लोकेशले ३.५५ जीपीए प्राप्त गरेका हुन् । पश्चिमी रोल्पाको माडी गाउँपालिकास्थित तालाबाङ निवासी उनका दाजु पनि दृष्टिीविहीन छन् ।


दुवै दाजुभाइले एक विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त गरी विद्यालय शिक्षा परीक्षा उत्तीर्ण गरेका हुन् । प्रअ पोखरेलका अनुसार लोकेशले प्राथमिक तहबाट उक्त विद्यालयमा अध्ययन गर्दै आएका हुन् । अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थी लोकेशले तबला र हारमोनियम पनि राम्रोसँग बजाउँछन् ।


बाल कल्याण नमुना विद्यालयबाट एसईईमा परीक्षा दिएका १ सय ८५ विद्यार्थीमध्ये १० जना ए, ३५ जना बी प्लस, ८७ जना बी, ५१ जना सी प्लस र २ जना सी ग्रेडमा उत्तीर्ण भएका छन् । जिल्लाकै नमुना मानिएको उक्त विद्यालयमा गत वर्ष ए ग्रेडमा ७ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।


प्रअ पोखरेलले उत्कृष्ट विद्यार्थीलाई कक्षा ११ र १२ मा निःशुल्क पढाउने व्यवस्था भएबमोजिम दृष्टिविहीन छात्र लोकेशसहितले उक्त विद्यालयमै अध्ययन गर्नेछन् । उत्कृष्टलाई निःशुल्क आवासीय सुविधा दिई अध्ययन व्यवस्था मिलाउने विद्यालयले यसअघि नै निर्णय गरेको थियो ।

प्रकाशित : असार १५, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?