१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यालय सुधार्न खाजा कटौती

दुर्गालाल केसी

दाङ — करिब ४ घण्टा हिँडेर सहरका विद्यार्थी सैघास्थित भगवती मावि पुग्छन् । तीन दिन त्यहीं बसेर विद्यालयको शैक्षिक गुणस्तर सुधार्न लागि पर्छन् । विद्यार्थीहरू कुनै बोराबाट सरसफाइका सामग्री, कुनैबाट पुस्तक, स्टेसनरी त कुनैबाट शिशु कक्षाका लागि एलईडी टीभी र शैक्षिक सामग्री निकाल्छन् । कक्षाकोठामा पसेर सरसफाइ गर्न थाल्छन् । भित्ता र गेट रंगाइदिन्छन् ।

ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयको मुहार फेर्न घोराहीस्थित भिक्टोरिया कलेजका बीबीए विद्यार्थी यसपालि पनि सैघा पुगे । पुस्तकालयलाई व्यवस्थित गरिदिए । पूर्वप्राथमिक कक्षालाई बालमैत्री बनाए अनि बालबालिकालाई विभिन्न सिर्जनशील गतिविधि सिकाए ।


भिक्टोरियाकै यसअघिका विद्यार्थीले विद्यालयको टिनको छानामाथि सोलार जोडिदिएका थिए । आर्थिक अभावमा विद्यालयको अवस्था कमजोर भएको, पर्याप्त पुस्तक र कक्षाकोठा नभएको, सहरको नजिकै भएर पनि ओझेलमा परेको जानकारी पाएपछि उनीहरू केही दिनको खाजा खर्च कटाएर विद्यालयलाई सहयोग गर्न पहाड उक्लिएका हुन् ।


०६८ सालमा सुरु भएको यो यात्रा अहिलेसम्म निरन्तर छ । रकम जुटाउन विद्यार्थीहरू सहरका गल्लीगल्लीमा सामान बेच्छन् । कोही मेला महोत्सवमा भगवती माविको सहयोगार्थ लेखेर स्टल नै राख्छन् र सामान बेच्छन् । अनेक उपाय गरेर जम्मा भएको रकमबाट विद्यालयलाई आवश्यक सामग्री किनेर लगिदिन्छन् । कलेजको हरेक छैटौं सेमेस्टरका विद्यार्थी सैघा पुग्छन् ।


यस वर्षको सैघा यात्रा यही साता सम्पन्न भएको छ । घोराहीमा सामान बिक्री गरी प्राप्त आम्दानीबाट दुर्गमको विद्यालयलाई सहयोग गरेको अनु भण्डारीले बताइन् । ‘दुर्गमको विद्यालयमा पढ्ने बालबालिकाले पनि सहरका शैक्षिक सुविधा प्राप्त गर्न सकून् भनेर सहयोग गरेका हौं,’ विद्यार्थी प्रकाश पौडेलले भने, ‘हामी पढदापढदै सामाजिक सेवाको काम पनि सिकिरहेका छौं । दुर्गममा पुगेर शैक्षिक योगदान गर्दा गर्वको महसुस भएको छ ।’


विद्यार्थीले सैघा यात्रा सुरु गर्दा यो गाविस थियो । अहिले सिंगो गाविस घोराही उपमहानगरपालिकाको वडा १९ भएको छ । उपमहानगरपालिका भए पनि सेवासुविधामा खासै सुधार हुन सकेको छैन । भौगोलिक विकटताका कारण जीवनस्तर कष्टकर नै छ तर विद्यालयको मुहार फेरिएको छ ।


हरेक वर्ष विद्यार्थीले एक लाखभन्दा बढीको सहयोग गर्दै आएका छन्, जसबाट अहिले विद्यालयमा १ सय २० वाटको सोलार छ । सोलार आएपछि शिक्षा कार्यालयले चार थान कम्प्युटर र एक थान प्रिन्टर दियो । विद्यार्थीले नै ल्यापटप, प्रोजेक्टर र जेनेरटर लगिदिए । विद्यार्थी खेल्ने पिङ, चिप्लेटी, फोहोर फाल्ने कन्टेनरलगायत आधारभूत सामग्री पनि पुर्‍याइदिए । ‘हाम्रो विद्यालयको मुहार नै फेरियो । भौतिक संरचनाका साथै पढ्ने बानीको विकास भएको छ ।


विद्यार्थी सिर्जनशील भएका छन्,’ प्रधानाध्यापक देवीप्रसाद घर्तीले भने, ‘हरेक शुक्रबार सिर्जनशील क्रियाकलाप हुन्छन् । पुस्तकालयमा बसेर पढ्ने बानीको विकास भएको छ ।’ अहिले उपमहानगरले पनि पुस्तकालयको विकासका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको घर्तीले बताए ।


पठन संस्कृति बढेपछि विद्यालयको नतिजा राम्रो आएको उनको भनाइ छ । भिक्टोरिया कलेज सञ्चालक गोर्खा ग्रुपले भगवती माविबाट १० कक्षामा उत्कृष्ट हुने एक विद्यार्थीलाई घोराहीको गोर्खा स्कुलमा निःशुल्क ११ र १२ कक्षा पढाउने गरेको छ ।


०७२ मा एसएलसी उत्तीर्ण भएर गोर्खा माविमा ११ र १२ कक्षा पढेका सैघाका अशोक घर्ती अहिले काठमाडौंको त्रिचन्द्र कलेजमा बीएस्सी पढिरहेका छन् । ‘सैघामा सहरका विद्यार्थी प्रवेश गरेपछि हाम्रो सपना पनि फेरियो । हामीले कहिल्यै पनि घोराहीमा आएर राम्रो निजी स्कुलमा पढ्ने सपना देखेका थिएनौं,’ उनले भने ।


सहरका विद्यार्थीले विद्यालयको रूपरंग फेरिदिएको व्यवस्थापन समितिका पूर्वअध्यक्ष टेकमान पुनले बताए । ‘विद्यार्थी पढ्नेदेखि खेल्ने ठाउँसम्म तयार भएका छन् । बगैंचा बनेका छन्,’ उनले भने । भगवती मावि वडाको सबैभन्दा बढी विद्यार्थी चाप भएको विद्यालय हो ।


अहिले ५ सय ७२ विद्यार्थी छन् । प्राविका ४ र आधारभूतका ४ शिक्षकको मात्रै दरबन्दी छ । बाँकी सबै विद्यालयको आन्तरिक स्रोतबाट राखिएका छन् । विद्यालयलाई माथि उकास्न भिक्टोरियाका विद्यार्थीले हौसला थपेको वडाध्यक्ष हर्क घर्तीले बताए । ‘भगवती माविका लागि भनेर कलेजका विद्यार्थी बाटोमा आइसक्रिम बेचिरहेका हुन्छन् । मेला महोत्सवमा स्टल राखेर सामान बेचिरहेका हुन्छन्,’ उनले भने ।


कलेजका विद्यार्थी त्यहाँका बालबालिकालाई आफूले सिकेको ज्ञान र सीप पनि बाँडछन् । जेहेनदार र असहाय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्छन् । विद्यार्थीलाई व्यावहारिक जीवन सिकाउँदै समाजसेवी बनाउन र भगवती माविको स्तर उकास्न हरेक वर्ष सैघा उक्लिने गरेको कलेजका कार्यक्रम संयोजक केबी चौधरीले बताए ।

प्रकाशित : असार १६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?