१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रिसिलिङको काम 'गुणस्तरहीन’

‘सडकमा भएको कामले जनप्रतिनिधिको काम उदांगो पारेको छ, कालोपत्रेमा गिट्टी छरेर लाखौं रकम सिध्याउन पाइन्छ ?’ 

(दाङ) र (रुकुम पूर्व) — असार लागेपछि घोराही बजार क्षेत्रमा हतारहतार पक्की सडकमा गिट्टी बिछ्याउन थालियो । थोरै अलकत्रा छरेर बिछ्याइएका गिट्टी राम्रोसँग बसेनन् । राम्रै चलिरहेको सडकमा जथाभावी गिट्टी छरेपछि मोटरसाइकल चिप्लिने घटना बढे । नागरिकले टिप्पणी गर्न थाले, ‘लौ, असारे विकास सुरु भयो । भएको बाटो पनि बिगार्न थालियो ।’

रिसिलिङको काम 'गुणस्तरहीन’

गिट्टीमा मोटरसाइकल चिप्लिएर शुक्रबार पत्रकार छवि पुरी घाइते भए । उनको हात र काँधमा चोट लागेको छ । मोटरसाइकलमा क्षति भएको छ । गुणस्तरहीन कामले दुर्घटना भएको भन्दै उनले क्षतिपूर्तिको मागसहित सोमबार नगरपालिकामा निवेदन दिए । ‘धेरै मोटरसाइकल चालक घाइते भएका छन् । म चुप लागेर बस्न सकिनँ,’ उनले भने, ‘विकासका काममा धेरै नै लापरबाही भयो । गुणस्तरीय कामका लागि सचेत गराउन निवेदन दिएको हुँ ।’

रिसिलिङको काम गुणस्तरहीन भएर दिनहुँ सडकको अवस्था झन् बिग्रिँदै गएपछि सर्वसाधारणले विरोध गरेका छन् । अलिअलि अलकत्रा हालेर बिछ्याइएका गिट्टी सबै छरपस्ट भएका छन् । जथाभावी छरिएका गिट्टीका कारण सडक जोखिमपूर्ण भएको छ । बाटोमा धूलैधूलो छ, गिट्टी बसेको छैन, यातायातका साधन चलाउन समस्या भएको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत रकमबाट वडा १४ र १५ को ६ किमि सहरी क्षेत्रमा सडक रिसिलिङको सम्झौता भएको थियो । १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपैयाँको लागत अनुमान गरिएकामा वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिले ७५ लाख ७ हजार १ सय ८७ रुपैयाँमा ठेक्का पाएको थियो ।


दीपशिखा रोड, न्युरोड, रझेना गिठेपानी, जिल्ला अदालतदेखि भिंग्रेलीचोक, मार्क कलेजदेखि काठेकोहल, काठेकोहल स्कुलदेखि महालक्ष्मी काठ मिल, उमेश मार्ग, हस्पिटल टोल र भरतपुर ओरालोको कालोपत्र सडकमा रिसिलिङ गर्नुपर्ने सम्झौता छ । त्यसमध्ये न्युरोड, उमेश मार्ग, दीपशिखा रोड र बैंक रोडमा मात्रै छर्री बिछ्याइएको छ । अन्य सडकमा कामै भएको छैन । असारभित्र बजेट सक्न हतारहतारमा काम गर्दा रिसिलिङ भइसकेको ठाउँमा पनि गुणस्तर कायम हुन सकेको छैन । सडकमा उल्टै धूलैधूलो र खाल्डाखुल्डी परेका छन् । यसको नागरिक तहबाट तीव्र विरोध भइरहेको छ । असार लागेपछि हतारमा काम सुरु गर्दा गुणस्तर कायम हुन नसकेको उपभोक्ताको गुनासो छ । सडकमा गुणस्तरहीन काम भएको भन्दै नेपाली कांग्रेस क्षेत्र ३ ले मंगलबार घोराहीमा विरोध प्रदर्शन गर्‍यो । ‘सडकमा गुणस्तरहीन काम भएको छ । कामबारे सम्बन्धित वडाका जनप्रतिनिधिसँग कुनै समन्वय गरिएको छैन,’ वडा १५ का अध्यक्ष रमेश पाण्डेले भने, ‘यसमा पक्कै पनि अनियमितता भएको छ । उल्टै सडक बिगारेर मानिसलाई दुर्घटनामा पार्ने काम भएको छ ।’ असारमा निर्माणका काम गर्नुहुँदैन भन्दा पनि नगर प्रमुखले अटेर गरेर काम थालेको उनले बताए ।


उपमहानगरले गुणस्तरीय काम गर्न नसक्दा जनताले दुःख पाएको कांग्रेस जिल्ला सचिव शंकर डाँगीले बताए । ‘सडकमा भएको कामले जनप्रतिनिधिको काम उदांगो पारेको छ । कालोपत्रेमा गिट्टी छरेर लाखौं रकम सिध्याउन पाइन्छ ?’ उनले भने, ‘यस्ता काम तत्काल बन्द हुनुपर्छ । सडकमा गिट्टी छर्ने काममा कुनै पनि गुणस्तर छैन । सडक झनै बिग्रिएको छ ।’


सडकमा भएको काम सबै गुणस्तरहीन भएको गुनासो आएपछि उपमहानगरले पनि यसमा ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुख नरुलाल चौधरी चीन भ्रमणमा छन् । नागरिकले तीव्र विरोध गरेपछि उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले प्रेस विज्ञप्ति जारी गरी सडक रिसिलिङको काममा गुणस्तर कायम नभए भुक्तानी रोक्ने बताएका छन् । हालसम्म ठेकेदारले ७ लाख ५० हजार रुपैयाँ मात्रै लिएको र अब थप रकम दिन रोकेको उनले बताए । ‘अलकत्रा नहालेको, आवश्यक उपकरण र मेसिन प्रयोग नगरेको, धूलो नफालेको जस्ता गुनासा आएका छन् । प्राविधिक अध्ययन गरी यसको गुणस्तर जाँच्छौं,’ उनले भने, ‘गुणस्तर नभएको पाइए भुक्तानी रोक्छौं । यो काममा नगरपालिकाका कुनै प्राविधिकको संलग्नता देखिएमा उनीहरूलाई पनि कारबाही हुन्छ ।’ निर्माण कम्पनीले मापदण्डअनुसार गुणस्तर कायम गर्नैपर्ने उनले बताए ।


ठेकेदार कम्पनीका प्रोपाइटर कृष्णप्रसाद ओलीले कामको गुणस्तरमा कमी नरहेको बताए । आफूले मापदण्डअनुसारकै काम गरेको उनको दाबी छ । ‘यो यस्तै खालको काम हो । गिट्टी बिछ्याइएको ठाउँमा केही समय राख्ने, केही गिट्टी बस्छ, नबसेको उठाउने हो,’ उनले भने, ‘हामी त्यही गरिरहेका छौं । गाडीहरूको भीडभाड भएर गिट्टी बस्न केही समस्या भएको छ तर गुणस्तरमा कमी छैन ।’ असार २५ सम्म काम सक्नुपर्ने सम्झौता भए पनि अलकत्रा अभावले ढिलाइ भइरहेको उनले बताए । ‘अब ३/४ दिनको मात्रै काम बाँकी छ । अलकत्रा देशभरै अभाव छ,’ उनले भने, ‘खर्च भएको पैसा पनि पाइएको छैन । काम भएको पैसा नपाएर पनि समस्या भएको छ ।’


सडक सञ्जालमा जोडिँदै सिस्ने

सिस्ने गाउँपालिका १, ठूलासिस्नेका दलजित बुढाले अब पिठ्युँमा नुन र चामल बोक्नुपर्ने दिनको अन्त्य भएको ठानेका छन् । स्थानीय केटाकेटीदेखि उमेर ढल्किसकेका ज्येष्ठ नागरिकसम्मले टाढाबाट नुन, चामल बोकेर ल्याउने दिनको अन्त्य नजिकिएको उनले बताए ।


गाउँपालिका केन्द्र रुकुमकोटदेखि सबभन्दा टाढाको बस्ती ठूलासिस्ने हो । स्थानीय मनमती बुढा पनि आशावादी देखिएकी छन् । ढुवानीका लागि सडक नभएकाले सधैं आलु खेर जाने गरेको थियो । बस्तीसम्म सडक सन्जाल पुग्ने भएपछि अहिले दलजित र मनमती मात्र होइन, यस क्षेत्रका बासिन्दा उत्साही बनेका छन् । सिस्ने प्रवेशद्वार मानिएको नायगाडबाट सडक निर्माण थालिएपछि सिस्नेबासीमा बजारको सामान गाउँ र गाउँमा उत्पादित वस्तु बजार पुर्‍याउने आतुरी देखिन्छ । नायगाडाबाट सिस्ने जोडने सडक निर्माण थालिएपछि वडा २ का जनता खुसी छन् । ‘वडा २ को नायगाड र हाम्रो वडा १ को सिस्नेलाई जोडेर नायगाड–सिस्ने सडक निर्माण सुरु भयो,’ दलजितले भने, ‘यसबाट हामी खुसी छौं, सुरु भइसकेको सडक ढिलो चाँडो कसरी गाउँ नपुग्ला र ?’ सानीभेरी नदीमा पुल नबनेका कारण सडक निर्माण सुरु होला भन्ने नसोचिएको भन्दै उनले नदीबाट डोजर तारेर सडक निर्माण थालिएपछि आशा पलाएको बताए ।


‘पुल बन्दै गर्ला, सडक बनेपछि हिउँदमा सानीभेरी तारेर भए पनि गाडी चल्छन् भन्ने लागेको छ,’ उनले थपे । नुन, चामलदेखि निर्माणका सामग्रीसमेत पिठ्युमा बोक्नुपर्ने बाध्यता ढिलोचाँडो अन्त्य हुने भएपछि स्थानीय आशावादी छन् । सिस्ने आलुका लागि प्रसिद्ध ठाउँ हो । यहाँको आलु बजार पुर्‍याउन माध्यम नहुँदा बर्सेनि कुहिने समस्या सडक बनेपछि हटने आशामा रहेको मनमती बताउँछिन् । फरक शीर्षकबाट बजेट विनियोजन भएको वडाध्यक्ष केसीले बताए । त्यसका साथै गाउँपालिका, प्रदेश सरकार तथा पूर्वाधार क्षेत्र विकास कोषबाट पनि बजेट आउने निश्चत भइसकेको उनको भनाइ छ । प्रतिनिधिसभा सदस्य कमला रोकाले जिल्लाका अन्य केही ठाउँसहित सिस्ने गाउँपालिका १ र २ वडालाई छिटै सडक सञ्जालसँग जोडिने बताइन् । पुथाउत्तरगंगा गाउँपालिकाका १ देखि ९ सम्मका वडा पनि क्रमशः सडक सञ्जालमा जोडिने र त्यसका लागि काम भइरहेको उनको भनाइ छ । भूमे गाउँपालिकाका अधिकांश वडामा सडक पुगिसकेको छ ।


सिस्ने गाउँपालिका १ र २ वडालाई गाउँपालिका केन्द्र तथा छिमेकी जिल्ला डोल्पासँग जोडन थालिएको सडक निर्माणले सर्वसाधारण उत्साही छन् । वडा २ को नायगाडबाट यस वर्षदेखि सडक निर्माण थालिएको हो । गाउँपालिका र पूर्वाधार क्षेत्र विकास कार्यक्रमको गरी ९० लाख रुपैयाँ बजेटबाट उक्त सडक निर्माण थालिएको छ । यस वर्ष ९० लाखले झन्डै ३ किमि सडक निर्माण भएको छ । वडा २ को पहलमा सानीभेरी तारेर डोजर सल्ली बिसाउन पुर्‍याइएको थियो । सानीभेरीमा पुल बनेपछि मात्रै सडक निर्माण गर्दा धेरै ढिला हुने देखिएकाले नदी तारेर डोजर ल्याई सडक निर्माण थालिएको वडा २ का वडाध्यक्ष जीवन केसीले बताए । ‘पुल बनेपछि बाटो खनौला भनेर पर्खेर बस्दा सडकको विकास हुने भएन,’ उनले भने ।

प्रकाशित : असार १८, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?