कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालगन्ज विमानस्थलको गुरुयोजना अलपत्र

मधु शाही

(बाँके) — नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले विमानस्थल स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको गुरुयोजना निर्माण गरेको छ । उक्त योजनाका काम विभिन्न चरणमा १२ अर्ब रुपैयाँ लगानीमा पूरा हुनेछन् । विमानस्थलले उक्त योजना सरोकारवाला निकायबीच प्रस्तुत गरिसकेको छ । 

विमानस्थलमा नियमित काम हुँदै आए पनि गुरुयोजनाका काम भने अलपत्र छन् । गुरुयोजना कार्यान्वयनका लागि प्राधिकरणले सरकारसित बजेटको माग गरिरहेको छ । सरकारले यसलाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन पहल गरिरहेको छ । विमानस्थलको भित्री मर्मत सुस्त छ । यहाँ क्यान्टिन र यात्रु प्रतीक्षालयको निर्माण पूरा हुन सकेको छैन । ६ महिनाभित्र सक्नुपर्ने काम एक वर्षसम्म पूरा नहुँदा पनि सरोकारवाला निकाय मौन छ । ठेकेदारको ढिलासुस्तीले निर्माण अलपत्र भएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए । ‘ठेकेदारको अत्तोपत्तो छैन, सम्पर्कमै आउँदैन,’ उनले भने, ‘काम अलपत्र छोडेको छ ।’ काठमाडौंस्थित एकेएच कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । यात्रु प्रतीक्षालयको निर्माणपछि दुर्गम जिल्लाबाट आउने यात्रुलाई सुविधा हुन्थ्यो । उनका अनुसार अहिले क्यान्टिन र प्रतीक्षालय व्यवस्थित नहुँदा यात्रु बिसौनीमा असहज तरिकाले बस्ने गरेका छन् । पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको काम पनि अधुरो छ । पम्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुन: लेयर लगाउने काम) पूरा गर्‍यो । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छोडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि टेरपुच्छर नलगाएको निर्देशक ठाकुरले बताए ।


प्राधिकरणले वार्षिक बजेटअन्तर्गत सुरु गरेको पार्किङ क्षेत्र निर्माण कार्यलाई पनि गुरुयोजनासँग जोडिएको छ । ६ वटा ठूला जहाज अटाउने पार्किङ वे निर्माणाधीन अवस्थामा छ । विमानस्थलमा २ वटा मात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ हुन्थ्यो । पार्किङ वेको निर्माणपछि नेपालगन्ज विमानस्थलमा ८ वटा ठूला जहाज अवतरण र पार्किङ गर्न सहज हुनेछ । अहिलेसम्म ६० प्रतिशत काम पूरा भइसकेको ठाकुरले दाबी गरे । ‘ठेकेदारकै ढिलासुस्तीले काम समयमा भइरहेको छैन,’ उनले भने । विमानस्थलको पार्किङ एरियामा मात्र साढे २८ करोड रुपैयाँ लगानी हुँदै छ । नेपालगन्ज विमानस्थलमा २ सय मिटर रनवे थियो । सरकारको गुरुयोजनाअनुरूप पश्चिमतर्फ थपेर १ हजार ५ सय पुर्‍याउने योजना छ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवा खोला नै अर्कोतर्फ मोडनुपर्ने अवस्था आउने ठाकुरले बताए । ‘यसका लागि स्थानीयसँग छलफल गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘पहिला विमानस्थलको भित्री भाग निर्माण पूरा गर्ने प्रयासमा छौं ।’ साथै केही जमिनसमेत अतिक्रमण गर्नुपर्ने उनले सुनाए । रनवेको उत्तरतर्फ खेतीयोग्य जमिन छ । विमानस्थलमा ठाउँ अभावकै कारण ठूला जहाज ल्यान्ड गर्न स्थान पुग्दैन । यसका लागि जमिनको क्षेत्रफल बढाउनु जरुरी छ । १२ अर्बभन्दा बढी अनुमानित बजेटमा विमानस्थल स्तरोन्नति गर्न लागिएको हो । तर, अहिलेसम्म कति जमिन कसरी लिने भनी स्थानीयसँग छलफल प्रक्रियासमेत अगाडि नबढेको उनले बताए ।

प्रकाशित : असार १९, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?